Logo

राष्ट्रिय परिचयपत्र दर्ता फागुन अन्तिम साताबाट

ताप्लेजुङ-पाँचथरबाट सुरु भएको राष्ट्रिय परिचयपत्र दर्ता अभियान ताप्लेजुङमा पनि फागुन अन्तिम सातादेखि सुरु हुने भएको छ । यहाँका ९ वटै स्थानीय तहका ६१ वटै वडाबाट परिचयपत्र दर्ता अभियान सुरु गर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा विभागका महानिर्देशक जितेन्द्र बस्नेतले पहिलो पटक वडामै पुगेर अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । महानिर्देशक बस्नेतले भने, “यो सुविधा एक पटकमात्र हो । अभियान समयावधि सकिएपछि जिल्ला प्रशासन कार्यालयमा मात्र सेवा उपलब्ध हुन्छ ।” चालू आवमा राष्ट्रिय सूचना व्यवस्थापन प्रणालीमा १ करोड नागरिकको विवरण दर्ता गर्ने तयारी छ ।
जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको इकाई र अभियानबाट दर्ता लक्ष्य पूरा हुने विभागले अपेक्षा गरेको छ । प्रत्येक वडामा सेवाग्राहीलाई पायक पर्ने वडा कार्यालय, सामुदायिक विद्यालय वा सार्वजनिक भवनमा केन्द्र स्थापना गर्ने तयारी छ । सम्भव भएसम्म सम्बन्धित वडाका वडासचिवलाई रुजु गर्ने अधिकारीको जिम्मेवारी दिनुपर्ने प्रावधान छ । कारण बस वडासचिव उपलब्ध नभए कार्यरत शिक्षक वा पूर्वशिक्षकलाई जिम्मेवारी तोक्न सकिनेछ । संकलनका लागि १ जना रुजु अधिकारी, एक जना सहयोगी र अपरेटर परिचालन गरिने भएको छ । कार्यस्थलमा जानुअघि कर्मचारीलाई प्राविधिक तालिम प्रदान गरिने छ ।
विभागका निर्देशक विष्णुहरि उपाध्यायले राष्ट्रिय परिचयपत्र कार्यक्रम कार्यान्वयनको अवस्थाबारे जानकारीसहित महत्व र उद्देश्यबारे प्रकाश पारेका थिए । राष्ट्रिय परिचयपत्र दर्ता अभियान सम्पन्न गरेपश्चात आगामी आवको साउनदेखि वितरण सुरु हुने सम्भावना रहेको निर्देशक उपाध्यायले बताए । विभागले बनाएको योजनाअनुसार यहाँका ९ वटा स्थानीय तहको दर्ता गर्ने केन्द्रसमेत प्रशासनलाई उपलब्ध गराएको छ । विभागको योजनाअनुसार आठराई त्रिवेणी गाउँपालिकामा १५ दिन, फक्ताङलुङ गाउँपालिकामा ११ दिन, फुङलिङ नगरपालिकामा १५ दिन र मिक्वाखोला गाउँपालिकामा १८ दिनभित्र सम्पन्न गर्ने तयारी छ । यसैगरी मेरिङदेन गाउँपालिकामा १६ दिन, मैवाखोला गाउँपालिकामा १४ दिन, पाथीभरा याङवरक गाउँपालिकामा १५ दिन, सिदिङ्मा गाउँपालिकामा १३ दिन र सिरिजंघा गाउँपालिकामा १४ दिनभित्र सम्पन्न गर्ने गरी तालिका बनेको छ । एउटा केन्द्रमा १ दिनमा कम्तीमा ४० र बढीमा ६० जनाको दर्ता संकलन सम्भव हुन्छ ।
प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले राष्ट्रिय अभियान सार्थक बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताए । स्थानीय तहमा सुरक्षाकर्मी परिचालन तथा समन्वय साझा दायित्व भएको प्रजिअ चापागाईँले जोड दिए ।
जिल्ला समन्वय प्रमुख घनेन्द्र मादेनले परिचयपत्र राज्यका निकाय र सेवा सुविधासँग जोडिएको बताए । परिचय पत्रमार्फत सेवा सुविधा प्राप्त गर्नका लागि सहज हुनेगरी व्यवस्था भएकाले सम्भव भएसम्म कोही पनि नछुटुन् भनी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । फुङलिङ नगरपालिका नगरप्रमुख छत्रपति प्याकुरेलले वडामा परिचालन हुने कर्मचारीलाई सहयोग गर्न कुनै समस्या नहुने बताए । सिरिजंघा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङका अनुसार जेठ असारमा झरी सुरु हुने भएकाले वैसाख अगावै काम सम्पन्न हुनुपर्नेमा जोड दिए । पाँचथर, संखुवासभा, ओखलढुंगा, चितवन र कञ्चनपुरमा अभियान सम्पन्न भएको छ । ताप्लेजुङसहित इलाम, काभ्रेपलान्चोक र पाल्पामा अभियान प्रारम्भ हुँदैछ । तेह्रथुम र झापामा संकलनको काम अन्तिम चरणमा पुगेको छ । कार्यक्रममा ताप्लेजुङका स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्