Logo

सडक सञ्जालसँग जोडिएपछि महाकालीपारि आर्थिक गतिविधि बढ्यो

महेन्द्रनगर-कुनै बेला सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको सुदूर क्षेत्र भनेर चिनिने गरेको दोधरा चाँदनीनगरपालिका सडक सञ्जालसँग जोडिएको छ । स–सानो उपभोग्य सरसामानदेखि अस्पताल तथा रोजगारीसम्ममा भारतको मनोमानी चल्ने क्षेत्रका नागरिक सडक सञ्जालसँग जोडिन पाउँदा खुसी भएका छन् ।
जिल्लाको महाकाली नदीपारि रहेको दोधरा चाँदनी क्षेत्र विकासको दृष्टिकोणले निकै पछाडि छ । नगरपालिका क्षेत्रदेखि सदरमुकाम क्षेत्र आवातजावत गर्नका लागि मौसमी सडकसमेत नभएका यहाँका स्थानीयलाई महाकाली नदीमा चार लेनको पक्कीपुल बनेसँगै सहज भएको हो । नदीमा पुल बनेपछि दोधरा चाँदनीका स्थानीय पनि सोझै सदरमुकामसँग जोडिन पाएका छन् । विगत लामो समयदेखिको पर्खाइ बनेको यहाँका स्थानीयको महाकाली नदीमा पक्की पुलको सपना लगभग साकार हुन लागेको छ । महाकाली चारलेनको पुल निर्माणको ६० प्रतिशत निर्माण कार्य सकिएको छ । यस्तै स्थानीयलाई नव निर्माणाधीन पुलबाटै आवातजावत गर्न पनि सहज भएको छ । पुलबाट सजिलै आवातजावत गर्न पाउँदा दोधरा चाँदनीका स्थानीय बासिन्दालाई भने दसैं आएजस्तै भएको छ ।
“लामो सयमदेखि दोधरा चाँदनी क्षेत्रका स्थानीयबासीको सपना भनेको नै महाकाली नदीको पक्की पुल थियो,” दोधरा चाँदनीनगरपालिका–१ का स्थानीय तर्कराज भट्टले भने, “मानव बस्ती बसेको दुई दशकपछि पुल निर्माण भएको छ, पुल निर्माण हुँदा स्थानीयबासीको दुई दशकअघि देखिको सपना साकार भएको छ, हामीलाई त दसैंतिहार आएजस्तै भएको छ ।” उनले सानो घर किनारमै एउटा किराना पसल पनि थापेका छन् । किराना पसल थापेका उनलाई दैनिक सदरमुकाम आउन जान पनि पुल निर्माण हुँदा धेरै सहज भएको उनले बताए ।
महाकालीपारिको दोधरा चादँनी क्षेत्र भारतीय सीमा क्षेत्रसँग जोडिएको छ । भारतसँग जोडिएको भएकाले पनि विगतमा स्थानीयलाई स–साना सरसामान किन्नेदेखि लिएर बिरामी हुँदा अस्पताल जानसम्म भारतको भर पर्नुपर्ने बाध्यता थियो । भारतीय सहर जाँदा भारतीयले निकै हेप्ने र स्वदेश फर्केर आउँदा सीमा नाकामा भारतीय एसएसबीले दुःख दिने गरेको स्थानीय तर्कराज भट्टले बताए ।
पुल निर्माण भएपछि स्थानीयलाई भारतीयको ज्यादती खेप्नुपर्ने बाध्यता भने हटेको छ । यस्तै महाकाली नदीमा पक्की पुल निर्माणपछि सडक सञ्जालसँग जोडिएको दोधरा चाँदनी नगरपालिका क्षेत्रमा आर्थिक गतिविधि पनि बढ्दै गएको छ । नगरपालिका क्षेत्रका स्थानीय प्रत्यक्ष रूपमा सदरमुकाम तथा सडक सञ्जालसँग जोडिएपछि विभिन्न उद्योग तथा आर्थिक लगानीमा अग्रसर हुन थालेका छन् ।
“पक्कीपुुल निर्माणपछि धेरै सजिलो भएको छ, विगतको जस्तो सदरमुकाम क्षेत्र आवतजावत गर्नका लागि पनि भारतीय अनुमति लिएरमात्रै जान मिल्ने बाध्यता हटेको छ ।” दोधरा चाँदनी नगरपालिका–७ की कोमल उपाध्यायले भनिन्, “घर निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री पनि सजिलैसँग आउन थालेको छ, आर्थिक क्षेत्रमा पनि विभिन्न निर्माणका कार्य बढेको अवस्था छ ।” विगतमा सदरमुकाम जानका लागि महाकाली नदीमा निर्माण गरिएको झोलुंगे पुलमात्रै सहारा बनेको स्थानीयलाई पक्कीपुल निर्माण पछाडि भने चाहेको जुनसुकै बेलामा पनि आवतजावत गर्न सकिने भएको छ । महाकालीपारिको क्षेत्र भएकाले नेपाली नम्बर प्लेटका नेपाली मालबाहक गाडीको दृष्य पनि दुर्लभ हुने गरेकोमा अहिले भने दिनहुँ दोधरा चाँदनी क्षेत्रमा सामान बोकेर आउने गरेका छन् । यसले गर्दा महाकालीपारिको दुर्गम क्षेत्र सुगम बन्दै गएको स्थानीय उपाध्यायले बताइन् ।
आर्थिक गतिविधि बढेसँगै नदीपारिका नागरिकलाई उच्चशिक्षाका लागि सदरमुकाम क्षेत्रसँग जोडिनका लागि पनि सहज भएको छ । “विगतका दिनमा माध्यमिक शिक्षादेखि उच्चशिक्षा हासिल गर्नका लागि दोधरा चाँदी नगरपालिका क्षेत्रका विद्यार्थीहरूले सदरमुकाममा कोठा भाडामा लिएर बस्नु पर्ने बाध्यता थियो ।” उनले भनिन्, “पुल भएपछि साँझबिहानको समयमा सजिलै आवतजावत गर्न सकिने अवस्था सिर्जना भएको छ ।” यसले गर्दा विद्यार्थीलाई विश्वविद्यालय क्षेत्रसँग जोडिन पनि सजिलो भएको उनले बताइन् ।
यस्तै दोधरा चाँदनी क्षेत्रका अर्का स्थानीय राजेन्द्र मल्लले पनि भूगोलका कारण पछाडि परेको क्षेत्र पुल निर्माणका कारण अघि बढ्न लागेको बताए ।
“भूगोलका कारण पछाडि परेको क्षेत्र आर्थिक रूपमा एकदमै धरासायी भएको अवस्था थियो, स–सानो आर्थिक क्षेत्र स्थापना भएको भए पनि त्यति धेरै सबल भएको अवस्था थिएन ।” स्थानीय मल्लले भने, “उत्पादन क्षेत्रमा राम्रो क्षेत्र भएको यस क्षेत्रका लागि पुल निर्माणले गर्दा आर्थिक क्षेत्र पनि सबल बन्ने भएको छ, यसले गर्दा अहिलेबाटै नै आर्थिक कारोबार पनि बढेको अवस्था छ ।” पुल निर्माणको केही काम अझ बाँकी नै छ । पुल निर्माणको काम बाँकी भएको भए पनि पुुलपारिको क्षेत्रका लागि आर्थिक गतिविधि भने बढ्दै गएको मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्