मिस्त्रीखोला जलविद्युत् आयोजनाको ५० % काम पूरा

मिस्त्रीखोला जलविद्युत् आयोजनाको ५० % काम पूरा मिस्त्रीखोला जलविद्युत् आयोजनाको ५० % काम पूरा सन्तोष गौतमम्याग्दी, २४ पुस म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ र विद्युत्गृह निर्माणको काम आधाभन्दा बढी सकिएको छ । स्वदेशी लगानीमा बन्न लागेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला म्याग्दीमा हालसम्मको ठूलो जलविद्युत् आयोजना हो । सुरुङ ६३ र विद्युत्गृह निर्माणकार्य ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।
दुई हजार २८८ मिटर सुरुङमध्ये बाँधतर्फबाट ७९० र फोरवेतर्फ ६५० मिटर सुरुङ खन्ने काम सकिएको आयोजनाको परामर्शदाता हाइड्रो कन्सल्ट्यान्टका इन्जिनियर दिवाकर खड्काले जानकारी दिए ।
सन २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माणको काम सुरु भएको थियो । नेपाली सेनाको निगरानीमा विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ निर्माणको काम गरिएको हो । रोवस्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको आयोजनाको सिभिल निर्माणको ठेकेदार कम्पनी हाई हिमाल हाइड्रो कन्ट्रक्सन हो । उसले सुरुङसँगै विद्युत्गृह र बाँध निर्माणको कामलाई समेत तीव्र बनाएको छ । नारच्याङको बेंसीगाउँस्थित कालिगण्डकी नदीको बायाँ किनारमा विद्युत्गृह निर्माण भइरहेको छ । विद्युत्गृह (पावरहाउस)को सिभिल निर्माणको काम ५० प्रतिशत सकिएको इन्जिनियर खड्काले बताए । निलगिरी र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माणको काम सुरु भएको छ । बाँधको पहिलो ढलान सकिएको छ । पहाडभित्र १३५ मिटर सुरुङ खनेर पानीलाई डाइभर्सन गराएर बाँध निर्माणको कामअघि बढाइएको हो । मिस्त्रीखोलाको पानी थिग्राउने पोखरी (क्यानल) भूमिगत हो ।
पहाडभित्र ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको २ वटा बालुवा थिग्राउने भूमिगत पोखरी खन्ने काम ९६ प्रतिशत सकिएको छ । आउटलेटदेखि बाँधसम्म पेनस्टक पाइप जडानको काम सुरु गरिएको छ । एक हजार ५ सय मिटर दुई मिटर गोलाइको पेन स्टक पाइप जडान गर्न लागिएको हो ।
सन् २०१९ फेबु्रअरी १७ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । “साढे २१ म्हिनाको आयोजनाको हालसम्मको प्रगति कार्ययोजना अनुसार नै भएको छ,” इन्जिनियर खड्काले भने, “जनशक्ति, उपकरण थप्न लगाएर भए पनि समयमै आयोजना सम्पन्न गर्न खटेर लागेका छौं ।”
स्थानीय समुदायबाट आउने गुनासोको समयमै व्यवस्थापन गरिएकाले सामाजिक समस्या नभएको र सकारात्मक सहयोग पाएको आयोजनाले जनाएको छ । वातावरणीय समस्या न्यूनीकरणका लागि छुट्टै कार्यालय स्थापना गरिएको छ । सिभिल ठेकेदारका २ सय, पाइप फिटिङमा २५ र परामर्शदातातर्फ २५ जना जनशक्ति परिचालन भएका छन् ।
आयोजनाको बाँधसम्मनै सडक पु¥याइएको छ भने सुरुङको मकिङ ढुवानी गर्न ट्रिपर प्रयोग गरिएकाले छिटो काम भएको छ । नारच्याङ बेंसीगाउँदेखि बाँधसम्म पुग्ने ६ किमि सडक र तीनवटा बेलिब्रिज निर्माण गरेको छ । पाँच अर्ब ६४ करोड रुपैयाँको लागत अनुमान गरिएको आयोजना स्वदेशी लगानीमा निर्माण हुने प्रबन्ध निर्देशक डोलराज शर्माले बताए । प्रवद्र्धकबाहेक नेपाल इन्भेस्टमेन्ट बैंकले ७० करोड, जलविद्युत् विकास कम्पनीले एक अर्ब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्ने जनाइएको छ ।
यसैगरी नबिल बैंकले एक अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलप्मेन्ट बैंकले ३० करोड ऋण लगानी गर्ने प्रबन्ध निर्देशक शर्माले बताए । मिस्त्रीखोलाले वि.सं २०६४ मा निर्माणका लागि अनुमति पाएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालिगण्डकी करिडोर प्रसारणलाइन र दाना सबस्टेसन निर्माण सुरु गरेपछि नौ वर्षसम्म रोकिएको मिस्त्रीखोला निर्माणकार्यले तीव्रता पाएको हो । सबस्टेसन र प्रशारणलाइन समयमै सम्पन्न गर्न आयोजनाका प्रवद्र्धकहरूले विद्युत् प्राधिकरणसँग आग्रह गरेका छन् । मिस्त्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्य सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ भने ५ मेगावाटको घलेम्दीखोला निर्माणाधीन अवस्थामा छ । नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि हालै भारतीय ठेकेदार कम्पनी जेपी एसोसिएटसँग सम्झौता गरेको छ । नारच्याङको बेंसीगाउँमा मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माणाधीन विद्युत्गृह ।