आइएमई र अल अहलिया एक्स्चेन्जबीच सम्झौता «

आइएमई र अल अहलिया एक्स्चेन्जबीच सम्झौता

संयुक्त अरब एमिरेट्स (युएइ) स्थित अल अहलिया एक्स्चेन्ज र आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ । समझदारीपछि आइएमईमार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यो सम्झौतापछि अल अहलिया एक्स्चेन्ज यूएइबाट नेपालको आइएमई पेमा सिधैं पैसा पठाउने पहिलो एक्सचेन्ज हुने कम्पनीको दावी छ ।
यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि अर्को महत्वपूर्ण फड्को भएको भन्दै कम्पनीले यसबाट युएइमा रहेका आफ्ना सेवाग्राहीलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको जनाएको छ । यस अवसरले सेवाग्राहीहरूलाई अल अहलिया एक्स्चेन्ज युएइबाट पठाएको रेमिट्यान्स नेपालस्थित आइएमई पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको कम्पनीको भनाइ छ ।
रोजगारीका वा व्यापार व्यवसायका लागि युएइमा रहेका लाखौं नेपाली नागरिकहरूले अल अहलिया एक्स्चेन्जबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा खुशी लागेको अल अहलिया एक्स्चेन्जका निमित्त महाप्रबन्धक कमल सुब्बाले बताए । आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने निमित्त महाप्रबन्धक सुब्बाले बताए ।
आइएमई पे ब्राण्डको प्रवद्र्धित संस्था आइएमई डिजिटल सोलुसनका अध्यक्ष हेमराज ढकालले कोरोना महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्वपूर्ण भएको बताए । युएइ नेपाल भित्रिने रेमिट्यान्सको मुख्य श्रोत भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सेवाको विस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा यूएइको योगदान बढ्दै जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्