हात्तीको आक्रमण रोक्न कोसीटप्पुमा विद्युतीय तारबार «

हात्तीको आक्रमण रोक्न कोसीटप्पुमा विद्युतीय तारबार

सुनसरीमा जंगली हात्तीको आक्रमण नियन्त्रणका लागि सरकारले पहल थालेको छ । कोसीटप्पु वन्यजन्तु आरक्षमा बस्दै आएका रैथाने जंगली हात्तीलाई मानव बस्तीमा पस्न नदिन सरकारले ५ करोड बजेट विनियोजन गरेको छ ।
सरकारले गाउँमा पस्दै आतंक मच्चाउने हात्तीलाई रोक्न सुनसरीतर्फ विद्युतीय घेराबेरा निर्माण गर्न लागेको हो । जंगली हात्तीले सप्तरी र उदयपुर जिल्लाका मानव बस्तीमा प्रवेश गरी आक्रमण गर्ने गरेको छ । तर सबैभन्दा बढी सुनसरी जिल्लामा हात्तीले बढि क्षति पुराउदै आएको छ । मंसिरको दोस्रो साताको पाँच दिनको अवधिमा मात्रै हात्तीको आक्रमणबाट कोसीटप्पु वन्यजन्तु आरक्ष आसपासका चार जनाको मृत्यु भएको थियो ।
सुनसरीको हरिपुरदेखि प्रकाशपुरसम्म दीर्घकालीन रूपमा विद्युतीय घेराबेरा गर्न बजेट छुट्याएको अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । कोसी क्षेत्रका मानव बस्तीमा हात्तीको आक्रमण बढ्दै गएको, अकालमै ज्यान गुमाउनु परेकाले समाधानको पहल सुरु गरेको अर्थमन्त्री कार्कीले बताए ।
यसअघि पनि प्रकाशपुरदेखि श्रीपुरसम्म १४.७ किमि विद्युतीय घेराबेरा गरिएको थियो । तर जंगली हात्तीले घेराबारा गरेको क्षेत्रका रुख लडाएर भत्काएको छ । त्यसपछि सोही भत्किएको क्षेत्रको बाटो प्रयोग गर्दै हात्ती मानवबस्ती प्रवेश गर्ने गरेका छन् ।
आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जनाबसोबास गर्दै आएका छन् । यस क्षेत्रका बासिन्दाहरू सँधै हात्तीको त्रासमा जीवन बिताउन बाध्य छन् । दिनहुँजसो हात्ती गाउँ बस्ने गरेको छ । खानेकुराको खोजी गर्दै गाउँ पसेका हात्तीले बस्तीका घर भत्काइदिने र मानिसलाई आक्रमण गर्ने गरेका छन् । पछिल्ला वर्षहरूमा हात्ती आक्रमणको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । आव ०७३/७४ मा ६ जनाको हात्तीकै आक्रमणबाट मृत्यु भएको थियो ।
भारतको पश्चिम बंगालबाट झापा बाहुनडाँगी हुँदै हात्तीको बथान चारकोसे झाडीको बाटो प्रयोग गर्दै सिराहासम्म पुग्ने गरेको आरक्ष प्रशासनको भनाइ छ । तर पछिल्लो समय हात्ती हिँड्ने सँधैको बाटो वन विनाशले मासिएका कारण हात्तीको आउजाउ गर्ने क्रम रोकिएको छ । नियमित हिँड्ने बाटो बन्द भएपछि केही हात्तीको बथान आरक्ष क्षेत्रमै रैथाने भएर बसेका छन् । जंगल मासिँदै गएको र खानेकुरा पनि नपाइने भएकाले खानेकुरा खोज्दै हात्ती मानव बस्तीमा प्रवेश गर्ने गरेको कोसीटप्पु वन्यजन्तु आरक्षका वार्डेन श्यामकुमार साहले बताए । हात्तीको संरक्षण गर्नुपर्ने दायित्वका कारण जसरी भाग्छ त्यसरी नै कर्मचारी लगाएर भगाउने गरेको वार्डेन साहले जानकारी दिए ।
हात्ती गाउँ पसेको बेला गाउँलेहरूले राँको बालेर खेदाउने गरेका छन् । आरक्ष प्रशासनले दिएको जानकारी अनुसार मध्यवर्ती क्षेत्रमा १५ वटा रैथाने हात्ती छन् । जसमध्ये मकाना नाम गरेको दाँत नभएको हात्तीले विध्वंश मच्चाउने गरेको छ । मुकानाले मात्रै हालसम्म ३ जनाको ज्यान लिइसकेको छ । मुकानाले आतंक मच्चाएपछि सेटलाइट रेडियो कलर लगाइएको छ । यो रेडियो कलरले हात्ती कहाँ के गर्दै छ त्यो इन्टरनेटको माध्यमबाट हेर्न सकिन्छ । मुकाना गाउँ पस्ने बित्तिकै रोक्ने प्रयास गरिएको आरक्ष प्रशासनले जनाएको छ । आरक्ष क्षेत्रमा विद्युतीय घेराबारा लगाए हात्तीको आक्रमण नियन्त्रण गर्न सहज हुने आरक्षका वार्डेन श्यामकुमार साहले बताए ।

प्रतिक्रिया दिनुहोस्