कुखुराको खोर बनाउन पनि पाउँदैनन् मुक्तकमैया «

कुखुराको खोर बनाउन पनि पाउँदैनन् मुक्तकमैया

?

धनगढी-गोदावरी नगरपालिका–५ मा बनिरहेको गेटा मेडिकल कलेज छेउमा बसेका मुक्तकमैया परिवारले कुखुराको खोरसमेत बनाउन पाउँदैनन् ।
विगत २० वर्षदेखि आश्रयका लागि त्यहाँ बसोबास गरिरहेका उनीहरूलाई स्थानीय र सरोकारवाला निकायले सरकारी जमनि भन्दै जीविकोपार्जनका लागि कुखुराको खोर, बंगुरको खोर, चर्पी, नल्का र बस्नका लागि टहरालगायतका अस्थायी संरचनासमेत बनाउन नदिएका हुन् । मुक्तकमैया बस्तीका भलमन्सा पतिराम चौधरीले आफूहरूले चाहेको व्यवसाय गर्नसमेत नपाइरहेको गुनासो गरे । उनले मजदुरी गर्नका लागि नजिकमा श्रम बजार नरहेको सो ठाउँमा कुखुरापालन, तरकारी खेती, बंगुरपालनलगायतका व्यवसाय गर्न सकिने भए पनि आफूले त्यसो गर्न नपाएको बताए । मुक्तकमैया बस्तीमा ३७ परिवार मुक्तकमैया २० वर्षदेखि बसोबास गर्दै आएका छन् ।
सो बस्तीका महेन्द्र डगौराले आफूहरूले बस्तीमा कुनै किसिमको संरचना बनाउन थाल्ने बित्तिकै कुनै न कुनै निकायबाट अवरोध हुने गरेको बताए । “यसरी त हाम्रो गुजारा कसरी चल्छ ?” उनले प्रश्न गर्छन्, “हामीले अझै कति वर्षसम्म आफ्नो व्यवसाय गर्न नपाउने ? कति वर्ष आफ्नो सुरक्षित बासमा बस्न पाउने ? बस्नका लागि पाल तान्न थाले पनि हामीलाई सरकारकै निकायबाट रोकिन्छ । हामीले आफू बस्नका लागि पनि टहरा बनाउन पाएका छैनौं ।”
सोही बस्तीकी रतरानीदेवी चौधरीले राजनीतिक दलका नेताले आफ्ना हरेक जुलुसलगायतका संघर्षको कार्यक्रममा प्रयोग गर्ने गरेको र भोट माग्न जाँदा चुनावपछि तुरुन्तै समस्या समाधान गर्ने आश्वासन दिए पनि २० वर्षदेखि समस्या जस्ताको त्यस्तै रहेको बताइन् । उनले राजनीतिक दलहरूले आफूहरूलाई दुःखमात्रै दिने गरेको गुनासो गरिन् ।
उनले आफैले कमाएर दुई छाक खाने व्यवस्था गर्न, बस्नका लागि सामान्य टहरा, बालबालिकालाई बढाउनका लागि स्कुल, व्यवयाय गर्नका लागि अस्थायी संरचना, उज्यालोका लागि बिजुली र पिउनका लागि पानीको व्यवस्था गरिदिन माग गरिन् । अहिले पनि सो बस्तीमा चर्पी र खानेपानीको नल्का पर्याप्त नरहेको रतरानीले बताइन् । उनले पाँच÷छ परिवारले मिलेर एउटै धारा र चर्पी प्रयोग गर्न बाध्य भएको बताइन् । उनले विद्युत् नहुँदा आफूहरूले अँध्यारोमा रात काट्नु परेको, बालबालिकाले पढ्न नपाएको, सिँंचाइका लागि मोटर जोड्न नपाएको, मोबाइल र अटोचार्ज गर्न नपाएको समेत गुनासो गरिन् । सरकारी काम र राजनीतिक दलको संघर्षका कार्यक्रममा आफूहरूको श्रमदान हुने गरेको भए पनि सरकार र राजनीतिक दलले आफ्नो दुःख कहिल्यै नदेखेको उनको गुनासो छ ।
२० वर्षदेखि मुक्तकमैया बस्ती पुनःस्थापना हुनसकेको छैन । उनीहरूलाई सरकारले विभिन्न ठाउँ देखाए पनि स्थानीय बासिन्दाको अवरोध, नदी कटानको जोखिमलगायतका कारण त्यहाँबाट स्थायी बस्तीमा सर्न सकेका छैनन् । रतरानीले सबैका लागि आवश्यक पर्ने मेडिकल कलेजको जमिनमा बसिरहन आफूहरूको समेत चाहना नरहेको बताइन् । उनले आफूहरूका लागि सुरक्षित बासको व्यवस्था भएमा तुरुन्तै त्यहाँबाट बस्ती सार्न तयार रहेको बताइन् ।
भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष दीपकप्रसाद देवकोटाले सो बस्तीको समस्या पनि यो आयोगले समाधान गर्ने बताए । उनले आयोगले कानुनी रूपमै सबै किसिमको भूमिसम्बन्धी समस्या समाधान गर्ने अधिकार पाएको हुनाले मुक्तकमैयाको भूमिसम्बन्धी समस्या पनि आयोगले टुंग्याउने बताए ।
गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउदले सो बस्तीका मुक्तकमैयाको समस्या समाधानका लागि पहल गर्ने बताए । उनले मुक्तकमैयाको आयआर्जनका लागि नगरपालिकामा विभिन्न कार्यक्रम रहेको बताउँदै आयआर्जन गर्न सहयोग पुग्ने कार्यक्रम दिने बताए । उनले बिजुलीका लागि नगरपालिकाले विद्युत् कार्यालयलाई सिफारिस गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्