उपत्यकाबासीमा पलायो आशा «

उपत्यकाबासीमा पलायो आशा

मेलम्ची खानेपानी आयोजनाको अस्थायी बाँध बनाएर सुरुङ मार्गमा पानी पठाउन थालिएको छ । सोमबार पुनः परीक्षणका लागि मेलम्चीको पानी सुरुङमा पठाइएको हो ।
सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको सुरुङ भर्न १५ देखि २० दिन लाग्ने खानेपानी मन्त्रालयले बताएको छ । उपभोक्ताको धारामा पानी आउन २ देखि ३ महिना लाग्ने मन्त्रालयको भनाइ छ । खानेपानीमन्त्री मणि थापाले सुरुङमा पानी भरिन करिब १६ दिन लाग्ने बताए । सुरूङमा पानी पठाउन सुरु गरेपछि मेलम्ची खोला, अडिट टनेल रहेको स्थान सिन्धु, ग्याल्थुमलगायत क्षेत्रमा कुनै पनि बेला पानीको बहाब बढ्न सक्ने भएकाले सतर्क रहन आयोजनाले सर्वसाधारणलाई आग्रहसमेत गरेको छ ।
सुरुङमा पानी पठाउन थालेसँगै उपत्यकाबासीमा मेलम्चीको पानी छिट्टै आउने आशा पलाउन थालेको छ । गत २९ असारमै सुरुङमा पानी पठाएर परीक्षण गर्ने क्रममा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुस्केर निर्माणकार्य लम्बिएको थियो ।
खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यका अनुसार अब २ देखि ३ महिनाभित्र मेलम्चीको पानी उपभोक्ताको धारामा आउने बताए । “प्राविधिक त्रुटिका कारण मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने समय लम्बिएको हो,” उनले भने, “अब प्राविधिक त्रुटि आउने छैन भन्ने विश्वास छ ।”
खानेपानी मन्त्रालयका अनुसार पानी सुन्दरीजलमा तयार रहेका २ वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाइने छ । ठेकेदार र आयोजनाले प्रधानमन्त्री कार्यालयमा बुझाएको कार्यतालिका अनुसार काम भएमा २०७८ वैशाख २ गते (१५ अप्रिल २०२१) सम्म मेलम्ची आयोजनाको काम सकिनेछ । गत जेठ १५ गतेको संघीय बजेट वक्तव्यमा अर्थमन्त्री डा. युवराज खतिवडाले पनि यही असार मसान्तभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिने र आगामी आर्थिक वर्षको सुरुवातमा काठमाडौं उपत्यकामा नै मेलम्ची पानी वितरण गरिने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्