राजस्वको लक्ष्य भेटाउन मुस्किल

रुकुम पश्चिमका स्थानीय तहहरु आन्तरिक राजस्व संकलनमा कमजोर देखिएका छन् । स्थानीय तहहरु स्थापना भएदेखि चालु आर्थिक वर्षसम्मको राजस्व संकलनमा अधिकांस स्थानीय तहहरुले आफ्नो लक्ष्य भेटाउन सकेका छैनन् । प्रभावकारी कार्यक्रम विनाका राजस्व लक्ष्य हुँदा स्थानीय तहले लक्ष्य पूरा गर्न नसकेका हुन् ।
रुकुम पश्चिमको सदरमुकाम समेत रहेको मुसीकोट नगरपालिकाले बितेका तीन आर्थिक वर्षमा पनि आफ्नो राजस्व लक्ष्य भेटाउन सकेको छैन । आर्थिक वर्ष २०७४-०७५ मा मुसीकोट नगरपालिकाले १ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ५४ लाख मात्र संकलन गर्न सफल भयो । अर्को आर्थिक वर्ष २०७५-०७६ मा २ करोड २५ लाख लक्ष्य राखेकोमा १ करोड ६६ लाख संकलन ग-यो । आर्थिक वर्ष २०७६-०७७ मा पनि २ करोड २५ लाख लक्ष्य राखेकोमा अघिल्लो आर्थिक वर्षको भन्दा कम १ करोड १९ लाख मात्र राजस्व संकलन ग¥यो ।
चालु आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा आधा लक्ष्य घटाएर १ करोड ५० लाख राखेकोमा हालसम्म ५८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यी चार वटै आर्थिक वर्षमा मुसीकोट नगरपालिकाले राखेको राजस्व लक्ष्य कहिले पनि भटेको देखिँदैन । लक्ष्य अनुसारको राजस्व संकलन नहुनुको पहाडि धेरै कारणहरु रहेको जनप्रतिनिधि तथा कर्मचारीहरु बताउँछन् । जसमा स्थानीय, जनप्रतिनिधि र कर्मचारीलाई राजस्व दाखिला सम्बन्धी ज्ञान नभएको, राजस्वको बाँडफाँटमा कार्यरत कर्मचारीलाई तालिम तथा प्रोत्साहन नभएको र राजस्वको क्षेत्रहरु स्पष्ट रुपमा पहिचान नभएकोलगायतका समस्या रहेका छन् ।
मुसीकोट नगरपालिका राजस्व शाखा लेखापाल प्रेम खड्का अनुसार संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट रुपमा राजस्वको क्षेत्र बाँडफाट हुन नसक्नु, स्थानीय सरकारले सबै कदरदातालाई करको दायरामा ल्याउन नसक्नु र करदाताहरुमा करको महत्वबारे ज्ञान नभएको जस्ता कारण पनि लक्ष्य अनुसारको राजस्व संकलन हुन समस्या रहेको बताउँछन् ।
मुसीकोट नगरपालिकाले राजस्व संकलनका लागि आर्थिक ऐन र व्यवसाय दर्ता कार्यविधि जस्ता ऐन कानुनहरु बनाएको छ । त्यस्तै रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा ५० लाख लक्ष्य राखेकोमा ३२ लाख राजस्व उठायो । यस आर्थिक वर्षमा लक्ष्य भन्दा १८ लाख कम राजस्व संकलन भएपनि अर्को आर्थिक वर्षमा भने अघिल्लो आर्थिक वर्षकै लक्ष्यलाई निरन्तरता दिँदा ३ लाख बढी राजस्व संकलन भएको देखिन्छ ।
त्यस्तै आर्थिक वर्ष २०७६-०७७ मा सोही ५० लाख लक्ष्य राखेकोमा लक्ष्य भन्दा बढी ६७ लाख राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षमा ६० लाखको लक्ष्य राखेकोमा हालसम्म १७ लाख रुपैयाँ मात्र संकलन भएको गाउँपालिकामा सूचना अधिकारी धनीप्रसाद खड्काले जानकारी दिए । रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकाले पहिलो आर्थिक वर्षमा राजस्वको लक्ष्य भेटाउन नसकेपनि पछिल्ला आर्थिक वर्षहरुमा भने लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । तर अन्य स्थानीय तहहरुको भन्दा गाउँपालिकाले निकै कम लक्ष्य राखेकाले लक्ष्य पूरा गर्नमा सहयोग पुगेको देखिन्छ । अन्य स्थानीय तहहरुले कम्तिमा पनि १ करोड माथि नै लक्ष्य राखेका छन् ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आर्थिक वर्ष २०७४-०७५ मा ४० लाखको लक्ष्य राखेकोमा ६५ लाख राजस्व संकलन भएको छ । त्यस्तै आर्थिक वर्ष २०७५-०६६ मा १ करोड ५० लाखको लक्ष्य राखेकोमा ८८ लाख रुपैयाँ मात्र संकलन गरेको छ । त्यस्तै अर्को आर्थिक वर्षमा ४ करोड लक्ष्य राखेकोमा २ करोड १३ लाख रुपैयाँ मात्र संकलन भएको छ । चालु आर्थिक वर्षमा पनि ४ करोड लक्ष्य राखेकोमा हालसम्म १ करोड ३५ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।
आठविसकोट नगरपालिकाले भने प्रत्येक वर्ष नै आफ्नो लक्ष्य अनुसारको राजस्व संकलन गर्न सफल भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४-०७५ मा १ करोड लक्ष्य राखेकोमा १ करोड ६ लाख राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७५-०७६ मा १ करोड ५० लाख लक्ष्य राखेकोमा २ करोड १५ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै आर्थिक वर्ष २०७६-०७७ मा ३ करोड ५० लाख राजस्व लक्ष्य राखेकोमा लक्ष्य भन्दा बढी नै ३ करोड ६८ लाख राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षमा ३ करोड ५० लाख राजस्व लक्ष्य राखेकोमा हालसम्म १ करोड ६ लाख रुपैयाँ संकलन भएको नगरपालिकाका सूचना अधिकारी गणेश चन्दले जानकारी दिए ।
तीन आर्थिक वर्षमा ठूलो रकमको राजस्व लक्ष्य राख्ने र लक्ष्य भन्दा बढी नै राजस्व संकलन गर्ने रुकुम पश्चिमको आठबिसकोट नगरपालिका जिल्लाकै पहिलो स्थानीय तह हो । राजस्व लक्ष्य सफल बनाउन ऐन कार्यविधि अनुसार पूर्ण कार्यन्वयन गरिएका कारण लक्ष्य भन्दा बढी राजस्व संकलन भएको आठबिसकोट नगरपालिकाका उपप्रमुख गीता नेपालीले बताइन् ।
“लक्ष्य भन्दा बढी नै राजस्व संकलन हुनुका पछाडि जनप्रतिनिधि र कर्मचारी सबैको सक्रिय योगदान छ” उनले भनिन, “नगरपालिकाले उठ्ने सक्ने किटान गरेर नै राजस्व लक्ष्य राखेको छ र उक्त राजस्व सकलन गर्न नीति तथा कार्यक्रम कडाइका साथ लागु गरिएको छ ।” रुकुम पश्चिमका अन्य दुई स्थानीय तहहरु बाँफिकोट र सानीभेरी गाउँपालिकाले पनि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेका छैनन् ।