दैजीछेला औद्योगिक क्षेत्र शिलान्यास «

दैजीछेला औद्योगिक क्षेत्र शिलान्यास

महेन्द्रनगर-कञ्चनपुरको बेदकोट नगरपालिकामा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास भएको छ । सोमबार प्रभानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्र स्थापना भएको २४ वर्षपछि त्यसको शिलान्यास गरेका हुन् ।
२०५३ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले दैजीछेला औद्योगिक क्षेत्र बनाउन बजेट विनियोजन गरेको थियो । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विगतका दिनमा सुदूरपूर्वबाट गरिएको विकासको ढोका अब सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको बताए । सरकारले विभिन्न विकास–निर्माणका काम प्राथमिकताका साथ अघि बढाउँदै लगेको उनले दाबी गरे । “सरकारले कुरामात्रै गरिरहेको छैन, काम पनि गर्दै लगेको छ,” उनले भने, “सुदूरपश्चिमका विकास गतिविधिलाई सरकारले विशेष प्राथमिकताका साथ अगाडि बढाएको छ ।”
०७५ असोजमा जिल्ला वन कार्यालय महेन्द्रनगरले दैजीछेला क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्न नसकिने भन्दै वन तथा वातावरण मन्त्रालयमा पत्र पेस गरेपछि औद्योगिक क्षेत्रको काम रोकिएको थियो । दैजीछेला औद्योगिक क्षेत्र स्थापना भएपछि साना, ठूला तथा मझौला उद्योग खुल्ने भएकोले सुदूरपश्चिम क्षेत्रका नागरिकले रोजगारी पाउने प्रधानमन्त्रीले बताए । लामो समयदेखि निर्माण हुन नसकेको पश्चिम सेती जलविद्युत् आयोजना पनि सरकारले नै निर्माण गर्ने प्रधानमन्त्रीको भनाइ छ । स्थापनाकालको लामो समयसम्म गति लिन नसकेको दैजीछेला औद्योगिक क्षेत्रमा चार किल्ला बनाउने निर्णय सरकारले गरेको छ । औद्योगिक क्षेत्रको डीपीआरको काम पनि सम्पन्न भएको छ । दुई दशकदेखि औद्योगिक क्षेत्र स्थापना हुने हल्ला चलेको भए पनि हाल आएर काम अगाडि बढेपछि स्थानीय खुसी भएका छन् ।
औद्योगिक क्षेत्रको शिलान्यासकै क्रममा प्रधानमन्त्रीसँग कञ्चनपुर पुगेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले स्थापना भएको लामो समयसम्म अगाडि बढ्न नसकेको दैजीछेला औद्योगिक क्षेत्रको निर्माण अगाडि बढेको भन्दै पश्चिम क्षेत्रमा पनि विकासको क्रम सुरु भएको बताए । मन्त्री भट्टले दैजीछेला औद्योगिक क्षेत्रले सुदूरपश्चिम क्षेत्रको काँचुली फेर्ने दाबी गरे । “देशैभर भूमिको समस्या छ । वर्तमान सरकारले भूमिसम्बन्धी सम्पूर्ण समस्या सामाधान गर्न लागेको छ । योसँगै सरकारले हलिया मुक्तहरुको समस्या समाधानको लागि पनि काम गरिरहेको छ,” मन्त्रीले भने, “सुदूरपश्चिमको विकासको मेरुदण्ड सुख्खा बन्दरगाह निर्माणको लागि पनि सरकार अगाडि बढेको छ ।”
सरकारले पूर्वदेखि पश्चिमसम्मै औद्योगिक क्षेत्रको विकास गरिरहेको उनले बताए । उद्योग स्थापना भएपछि रोजगारी बढ्ने र मुलुक समृद्धिको यात्रातर्फ अगाडि बढ्ने उनको भनाइ थियो ।
संघीयतापछि एक प्रदेश एक औद्योगिक क्षेत्र बनाउने निर्णयसँगै सरकारले सुदूरपश्चिम क्षेत्रमा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेको हो । झण्डै साढे ६ अर्बको औद्योगिक क्षेत्रको शिलान्यासपछि निर्माण कार्यले तिव्रता पाउने अपेक्षा लिइएको छ ।
सरकारले प्रस्ताव गरेअनुसार पूर्वतर्फ छेला मुक्तकमैया बस्ती तथा धेउडीथुम खोल्सा, पश्चिमतर्फ चुरे वन क्षेत्र, दक्षिणतर्फ चाँदनीफाँटा बस्तीको चार किल्लाभित्रको जनचेतना सामुदायिक वनको करिब २०० हेक्टर र बेतकोट सामुदायिक वनको करिब ४५० हेक्टर समेत गरेर ९०० बिघा जग्गा औद्योगिक क्षेत्रका लागि कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्