साउदी दूतावासका कारण युवा अलपत्र «

साउदी दूतावासका कारण युवा अलपत्र

खाडीका सबै नियोगले गरेको काम साउदी दूतावासले मानेन

साउदी अरबस्थित नेपाली दूतावासले रोजगारीका लागि जाने नेपाली युवाको प्रमाणित मागपत्र अनलाइन नगर्दा लगभग हजार नेपालीको श्रम स्वीकृति रोकिएको छ ।
वैदेशिक रोजगार विभागले प्रमाणीकरणका लागि तयार गरेको वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) मा प्रमाणित मागपत्र प्रविष्ट नगर्दा हजारौं नेपालीको पूर्वश्रम स्वीकृति रोकिएको हो । साउदी दूतावासले सञ्चालनमा ल्याएको अनलाइन प्रणाली विभागको फेमिससँंग सञ्जालीकृत भइ नसकेको जनाउँदै अनलाइन माग नपठाएको दूतावासको भनाइ छ ।
वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ बमोजिम म्यानपावर कम्पनीको नाममा जारी भएका श्रमिक मागपत्र फेमिसबाट मात्र प्रमाणीकरण गरी अनलाइनमार्पmत नै विभागमा पठाउनुपर्ने व्यवस्था रहेको छ । साउदी अरब दूतावासबाहेकका खाडीका अन्य दूतावासले भने अनलाइनमार्पmत नै मागपत्र पठाउँदै आएका छन् ।
फेमिस वैदेशिक रोजगारसँग सरोकार राख्ने एक दर्जन सरकारी तथा निजी संस्थालाई अनलाइन सञ्जालमा एकीकृत गर्ने प्रणाली हो । वैदेशिक रोजगारीका सबै प्रक्रिया अनलाइनमार्पmत भइरहेका बेला दूतावासले मागपत्र इमेलमार्फत पठाएका कारण पनि दुई महिनादेखि साउदी जाने नेपाली श्रमिकको पूर्वश्रम स्वीकृत हुन सकेको छैन ।
वैदेशिक रोजगार विभागका अनुसार हाल साउदी अरब दूतावासले अनलाइनमार्फत प्रमाणीकरण गरी पठाउनुपर्ने ४४ वटा म्यानपावर कम्पनीका ५ सयभन्दा बढी श्रमिकको माग इमेलमार्पmत पठाएको छ । विभागका एक अधिकारीले करोडौं खर्च गरेर बनाएको फेमिसमार्पmत मागपत्र प्रमाणीकरण सम्भव नहुने बताउँदै साउदी दूतावासका कारण सम्पूर्ण वैदेशिक रोजगार प्रणालीलाई रद्द गर्नुपर्ने अवस्था आएको बताए ।
“साउदी दूतावास फेमिस प्रणालीमा जान मानेको छैन,” विभागका एक अधिकारीले कारोबारसँग भने, “दर्जन निकाय जोडिएको फेमिस प्रणालीबाट कि पछि हट्नुपर्छ कि साउदी दूतावासले अनलाइनमार्फत नै पठाउनुपर्छ ।”
साउदी अरब दूतावासले भने हालसम्म करिब ३ सयभन्दा बढी मागपत्र सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको र तीमध्ये केहीको सूची इमेलमार्फत नेपाल पठाएको जनाएको छ । यसैगरी करिब ५ सयभन्दा बढी मागपत्र स्वीकृत भई पठाउन बाँकी रहेको जनाइएको छ ।
साउदी अरब दूतावासले माघ ११ देखि मागपत्र लिने र प्रमाणीकरण गर्ने कार्य अनलाइन प्रणालीमार्फत गर्न सुरुबात गरेको भए पनि पठाउने कार्य भने नगरेको जनाउँदै विभागलाई पत्राचार गरेको छ । राजदूतावासले विभागलाई पठाएको पत्रमा दूतावासले सञ्चालनमा ल्याएको अनलाइन प्रणाली विभागको फेमिसमा सञ्जालीकृत नभइसकेकाले यी दुई प्रणालीलाई जोड्न एउटा नयाँ सफ्टवेयर बनाउनपर्ने देखिएको जनाएको छ ।
खाडीका अन्य दूतावासले प्रमाणित मागपत्र अनलाइनमार्फत नै पठाइरहेको भए पनि साउदी दूतावासले भने विभिन्न कारण देखाउँदै मेलमार्फत मागपत्र पठाएको विभागले जनाएको छ ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले साउदी नियोगले मागपत्र अनलाइनमार्पmत नपठाउँदा साउदी अरबबाट आएका हजारौं माग गुम्ने अवस्थामा पुगेको बताए ।
साउदी अरब दूतावासले नेपाल सरकारले मागपत्र प्रमाणीकरणको कार्य दूतावासबाट नै गर्नुपर्ने निर्णय गरेपछि सीमित कर्मचारीहरूबाट कार्य सञ्चालन गर्दै आएका कारण नियोगमा कामको अत्यधिक चाप परेको समेत जनाएको छ ।
“यसै चापका बीच वैदेशिक रोजगार विभागबाट फेमिस प्रणाली प्रयोगमा ल्याएको हुँदा उपलब्ध कर्मचारीबाट प्रमाणीकरण भएका सम्पूर्ण मागपत्रको फेमिसमा प्रविष्ट असम्भव नै देखिन्छ,” दूतावासद्वारा विभागलाई पठाएको पत्रमा भनिएको छ ।
वैदेशिक रोजगार व्यवसायीले भने दूतावासबाट प्रमाणीकरण गरिएका मागपत्रलगायतका कागजपत्रहरू विभागको फेमिसमा अपलोड नभएको कारणबाट पूर्वस्वीकृतिका लागि आवेदन गर्न नसकिएको भनी विभागमा निवेदनसमेत दिएका छन् ।
तर, विभागले म्यानपावरले प्राप्त गरेका माग र सोसँग सम्बन्धित कागजपत्रहरू सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण गरी फेमिसमा अपलोड भएपछि मात्र पूर्वस्वीकृति दिने कार्य हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्