वीरगन्जमा भोजपुरी प्रतिष्ठानको भवन शिलान्यास «

वीरगन्जमा भोजपुरी प्रतिष्ठानको भवन शिलान्यास

वीरगन्ज महानगरपालिकाले स्थापना गरेको भोजपुरी प्रतिष्ठानको भवन निर्माणको शिलान्यास गरिएको छ । वीरगन्ज महानगपालिकाको वडा नम्बर ८ रेलवे रोडस्थित रात्री मावि भवन नजिकै निर्माण गर्न लागिएको प्रतिष्ठान भवनको आइतबार प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत र महानगर प्रमुख विजयकुमार सरावगीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचन अघि महानगर प्रमुखको उम्मेदवार बनेका विजय कुमार सरावगीले घोषणापत्रमा आफु निर्वाचित भए भोजपुरी भाषालगायत सबै राष्ट्रभाषाहरूको संरक्षण, विकास र सम्वद्र्धनका लागि प्रतिष्ठान गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सोहीअनुसार भोजपुरी प्रतिष्ठानको गठन गरी भवन निर्माणको लागि शिलान्यास भएको हो । भोजपुरी भाषीहरूको बाहुल्यता रहेको पर्साको वीरगन्ज महानगरपालिका प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका हो । शिलान्यासपछि बोल्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले महानगरपालिका प्रमुख सरावगीले भोजपुरी प्रतिष्ठान स्थापना गरेर भोजपुरीभाषीहरूको भावनाको उच्च सम्मान गरेको भन्दै प्रशंसा गरे । उनले भने, “हाम्रो भाषा संस्कृतिको संरक्षण हामीले नगरे कसले गर्ने ? मातृभाषा आमाको दूध समान हो ।” राज्यको प्राथमिकतामा नपर्दा भोजपुरी भाषाको विकास हुन नसेकेको भन्दै मुख्यमन्त्री राउतले नेपालमा बोलिने भोजपुरी, मैथिली, अवधीलगायत अन्य समुदायले बोल्ने भाषाको विकास र सम्वद्र्धनका लागि राज्य उदासिन देखिएको आरोप लगाए । उनले प्रदेशका भोजपुरी, मैथिली र अवध भाषा लगायत सबै भाषाको संरक्षण र सम्वद्र्धनका लागि छिट्टै नीति ल्याएर त्यसका लागि संरचना समेत निर्माण गर्ने बताए ।
उनले आपूmले निर्वाचनको समयमा भोट माग्दा पनि जनतालाई वाचा मात्रै पूरा गर्ने नभई प्रतिष्ठान गठन र भवन निर्माणको शिलान्यास गरेर भोजपुरी संस्कृतिको सम्मान गरेको बताए । महानगरपालिकाले ५० लाखको लागतमा प्रतिष्ठानको भवन निर्माण गर्न लागेको हो । त्यसको लागि विस्तृत अध्ययन प्रतिवेदन बनाईरहेको महानगरपालिकाका प्रशासन प्रमुख विकास मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्