२०१८ मा प्यासेन्जर भेइकल बजार ११ प्रतिशतले बढ्ने «

२०१८ मा प्यासेन्जर भेइकल बजार ११ प्रतिशतले बढ्ने

नयाँ दिल्ली । सन् २०१८ मा पनि भारतीय अटोमोबाइल बजारको वृद्धि उत्साहजनक हुने प्रक्षेपण गरिएको छ । ०१८ मा भारतको प्यासेन्जर सवारी बजार ९ देखि ११ प्रतिशतसम्मले बढ्ने अनुमान गरिएको छ ।
पछिल्लो समय भारतीय बजारमा युटिलिटी भेइकलको माग उल्लेख्य रुपमा बढेकाले प्यासेन्जर सवारीको वृद्धि उक्त अंकमा हुन सहयोग पुगेको हो । त्यस्तै दुईपांग्रे सवारीको बजारसमेत करिब ९ प्रतिशतले बढ्ने अनुमान गरिँदा मध्यम तथा ठूला सवारीको बजार पनि ८ देखि ९ प्रतिशतले बढ्ने अनुमान वर्षको सुरुमै गरिएको छ । सन् २०१७ मा भारतीय अटोमोबाइल बजार औसतमा ८ देखि ९ प्रतिशतको वृद्धि देखिएको छ ।
मध्यम तथा ठूला कमर्सियल सवारीको तुलनामा लाइट कमर्सियल सवारीको बिक्री राम्रो देखिएको आइसीआरए रेटिङ ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुब्रत रायको भनाइ छ । लाइट कमर्सियल सवारीको बजार हिस्सा बढ्नुको कारण मध्यमस्तरको ट्रान्सपोर्ट बढ्नु र देशको अर्थतन्त्रमा देखिएको सकारात्मकतालाई नै प्रमुख कारण मानिएको रायले बताए । विश्व बैंकले आर्थिक वर्ष २०१७/०१८ मा भारतको जीडीपी वृद्धि दर ७.२ प्रतिशत हुने प्रक्षेपण गरेको थियो जबकी ०१६/०१७ मा ६.८ प्रतिशतमात्र हुने भनेको थियो । चालू आवको दोस्रो त्रैमास (जुलाइ–सेप्टेम्बर ०१७) मा भारतको आर्थिक वृद्धि ६.३ प्रतिशत रहेको छ । यसले विश्व बैंकले गरेको प्रक्षेपण करिब पूरा हुने अवस्था देखाउँछ ।
विविध कारणका बीच भारतको सञ्चाल र यातायात क्षेत्र सकारात्मक देखिएको छ । यसका अलावा भारतको ग्रामीण क्षेत्रमा ट्रकको माग उल्लेख्य रूपमा बढेको छ । यसको कारण मनसुनमा आएको सकारात्मक परिवर्तनले उत्पादन बढ्दा सवारीको माग बढेको हो । यसले ठूला तथा मध्यम रेन्जका सवारीमात्र होइन, मोटरसाइकल, युटिलिटी भेइकल तथा तीनपांग्रे सवारीको समेत माग बढेको छ ।

प्रतिक्रिया दिनुहोस्