नेपाल इन्स्टिच्युट अफ कम्पनी सेक्रेटरिजमा नयाँ सञ्चालक समिति

कम्पनी सचिवहरुको संस्था नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिज (एनआईसीएस)को १५औं वार्षिक साधारणसभाले सात सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ ।
सभाबाट रमेश घिमिरे, माधव रेग्मी, टीका भट्टराई, रामचन्द्र खनाल, गुरुप्रसाद अधिकारी, चुडामणि पराजुली, भीष्म न्यौपाने निर्विरोध चयन भएका हुन् । घिमिरे, रेग्मी, भट्टराई र खनाल यसअघि पनि सञ्चालक थिए । नयाँ सञ्चालक समितिले अध्यक्ष, उपाध्यक्ष र प्रबन्ध सञ्चालक छान्नेछ ।
संस्थामा साधारण सदस्य ६५, आजीवन संस्थागत सदस्य नौ र आजीवन व्यक्तिगत सदस्य १३ जना रहेका छन् । सबैलाई भोटिङको अधिकार रहेको छ । चार्टर्ड एकाउन्टेन्टहरुको जस्तै कम्पनी सचिवहरुको पेशालाई व्यवस्थित र नियमित गर्न लागिपरेको यस इन्ष्टिच्युटले सो सम्वन्धी विधेयकको मस्यौदा तयार पार्न सरकारलाई सहयोग गर्ने निर्णय पनि गरेको छ । हाल कार्यदल गठन भई कम्पनी सचिवसम्वन्धी विधेयकको मस्यौता तयार गर्ने काम भइरहेको छ । चार्टर्ड एकाउन्टेन्टहरुलाई अहिले आईक्यानले नियमन गर्दै आएको छ ।
कानुन आएपछि छुट्टै निकाय गठन भई सो निकायले लिने परीक्षामा पास भई प्रमाणपत्र पाएपछि मात्रै कम्पनी सचिव पेशा अपनाउन पाइने छ । हाल कार्यरत सचिवहरुले पनि प्रमाणपत्र लिनुपर्ने भएकाले उनीहरुले सहजै प्रमाणपत्र पाउन भन्नका लागि कन्भर्जन कोर्ष तयार गर्ने काम भइरहेको सभामा जानकारी दिइयो । उक्त कोर्ष तयार गर्ने काम भइरहेको छ । कन्भर्जन कोर्ष लिइसकेपछि लामो समयदेखि कार्यरत कम्पनी सचिवहरुले परीक्षा लिइरहनुपर्ने छैन ।
नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिजले भारतको इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिज (आईएसआई)सँग सहकार्य गरी प्राविधिक सहयोग आदानप्रदान गर्दै आएको छ । अहिले नेपालमा सोसम्वन्धी कानुन निर्माणमा पनि उसले सहयोग गर्दै आएको छ ।