संविधान र व्यवस्थाको स्थायित्वका लागि संसद् पुनस्र्थापनाको विकल्प छैन : सिटौला «

संविधान र व्यवस्थाको स्थायित्वका लागि संसद् पुनस्र्थापनाको विकल्प छैन : सिटौला

विराटनगर-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले अहिलेको व्यवस्थाको स्थायित्वका लागि संसद् पुनस्र्थापनाको पक्षमा फैसला गर्ने दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन मोरङले आइतबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले अदालतले संविधानभित्रैबाट संसद् पुनस्र्थापनाको निर्णय गर्ने विश्वास व्यक्त गरे । “सर्वोच्च अदालतले संविधान र व्यवस्थाको स्थायित्व, मुलकमा शान्ति र जनताको समृद्धिको चाहनाअनुसार नै फैसला गर्छ भन्ने मलाई लाग्छ,” उनले थपे, “यदि संसद् पुनस्र्थापना भएन भने मुलुक द्वन्द्वमा फस्ने खतरा बढेर गएको छ ।” उनले २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गर्दा माओवादी द्वन्द्व सुरु भएको र २०५९ सालमा शेरबहादुर देउवाले विघटन गर्दा राजतन्त्र समाप्त हुनेसम्मको अवस्था आएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अधिकारमाथि थिचोमिचो गरेको आरोप लगाए । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री कुबाटोमा अगाडि बढेको सिटौलाको भनाइ थियो । “पार्टीभित्रको झगडालाई लिएर संसद् विघटन गर्नु भनेको घरझगडापछि सबैको आस्था र विश्वासको सार्वजनिक मन्दिरमा आगो लगाए जस्तै हो, संसद् पनि जनताको मन्दिर हो,” सिटौलाले भने । ओलीले जनताको अधिकारमाथि अतिक्रमण गरेकाले त्यसलाई सर्वोच्चले रोक्ने उनको दाबी थियो । संसद् पुनस्थापना गरेर अदालतमाथिको जनताको विश्वास र भरोसा जगाउन सर्वोच्चलाई सुनौलो अवसर भएको सिटौलाले टिप्पणी गरे । “शासकहरू कहिलेकाहीं पागल हुन्छन्, सन्की हुन्छन् । त्यसलाई रोक्ने काम अदालतको हो,” उनले भने, “प्रधानमन्त्री ओलीले अतिक्रमण गरेको जनताको अधिकार स्थापित गरेर विश्वलाई सन्देश दिन अदालतलाई महत्वपूर्ण अवसर आएको छ ।”
त्यस्तै सिटौलाले प्रदेश–१ संसद्मा टेबल भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् । “कांग्रेसले ओली नेतृत्वको सरकारले गरेको असंवैधानिक कदमको विरुद्धमा दशौं लाख कार्यकर्ता सडकमा उतारेको छ,” सिटौलाले भने, “अब ओलीकै नेतृत्वको कम्युनिष्ट पार्टीलाई सहयोग गरेर जाने कुरै हुँदैन । कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्नेछ ।” सत्तापक्षको विरोध र बहिष्कारकाबीच प्रदेश १ मा आइतबार मात्रै अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भएको छ ।

प्रतिक्रिया दिनुहोस्