असार दोस्रो सातादेखि आन्तरिक उडान

तयार हुँदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग असार दोस्रो साताबाट सञ्चालनमाआउने भएको छ । विमानस्थल आयोजनाका अनुसार पहिलो चरणमा आन्तरिकतर्फका सबै जहाजको उडान-अवतरण नयाँ रनवेबाट गरिने छ ।
विमानस्थलको धावनमार्गमा कालोपत्रे सम्पन्न भएपछि विमानस्थलको हालको धावनमार्गलाई ट्याक्सी वे बनाइने र नयाँ धावनमार्गबाट आन्तरिक उडानका जहाजहरूलाई उडान तथा अवतरण गराउने तयारी भएको हो । अन्तर्राष्ट्रिय उडानमा केही समय लाग्ने भएकोले नयाँ धावनमार्ग तयार हुनेवित्तिकै आन्तरिक उडान सुरु गर्नेगरी काम भइरहेको आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । “अहिले रनवे पिच गर्ने कार्य धमाधम भइरहेकोले सम्पन्न हुनेवित्तिकै आन्तरिकतर्फको उडान नयाँबाटै सुरु गर्न लागेका छौँ,” अधिकारीले भने । आयोजनाको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनलाई जुन २९ सम्मको समय अवधि दिइएको छ ।
चिनियाँ कम्पनीले यतिबेला टर्मिनल भवन, टावर तथा धावनमार्गको कालोपत्रे गर्ने काम सँगसँगै गरिरहेको छ । सरकारले तोकेको समयमा टर्मिनल भवन तयार भए पनि अन्य प्राविधिक जडानका धेरै काम हुने भएकोले सञ्चालनमा ल्याउन केही समय लाग्ने भए पनि धावनमार्ग भने तयार हुने आयोजना प्रमुख आधिकारीको दाबी छ । विमानस्थलको ३ हजार मिटर धावनमार्गमा अहिले पहिलो चरणको कालोपत्रे गर्ने कार्य भइरहेको छ । जसमा १ हजार मिटर सम्पन्न भइसकेको छ ।
पहिलो चरणको कालोपत्रे गर्न समय लाग्ने दोस्रो, तेस्रो र चौथो चरणमा गर्नका लागि भने दैनिक ३ सय मिटरसम्म ठेकेदार कम्पनीले गर्ने प्रतिबद्धता जनाएकोले समयमै सबै काम पूरा हुने दाबी आयोजनाको छ । विमानस्थलको धावनमार्ग ३ हजार मिटर लामो हुने छ भने चौडाई ४५ मिटर छ । हालको आन्तरिक उडान गरिरहेको धावनमार्ग भने १ हजार ५ सय मिटर लामो र २३ मिटर चौडाई रहेको छ । सोही पुरानो धावनमार्गलाई ट्याक्सी–वे को रूपमा प्रयोग गरिने आयोजना प्रमुख अधिकारीले जानकारी दिए । अहिले विमानस्थल निर्माणको भौतिक प्रगति ५७ प्रतिशत छ । उनले अहिले टर्मिनल र टावरको फिनिसिङ कार्य भइरहेको र धावनमार्गको कालोपत्रे पनि ९० प्रतिशत हुने जानकारी दिए । बाँकी १० प्रतिशत भने इक्युपमेन्ट जडान भएकोले अहिले टेन्डर भएको र कम्पनी छनोट गरेर काम सुरु गर्ने अधिकारीले बताए ।
शताब्दीपछि बल्ल विकल्प
मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भएको १०८ वर्षपछि मुलुकमा विकल्पको रूपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार हुने चरणमा पुगेको छ । त्रिभुवन विमानस्थल वि.सं. १९४९ मा निर्माण सुरु भएर १९५५ मा सञ्चालन भएको थियो । तर, १९६७ मा मात्रै व्यावसायिक उडान सुरु भएको विमानस्थलमा १९७२ मा पहिलोपटक अन्तर्राष्ट्रिय उडान भएको थियो । त्यसयता मुलुकमा ५६ वटा आन्तरिक उडानका लागि साना विमानस्थल निर्माण भए पनि अन्तर्राष्ट्रिय विमानस्थल भने तयार हुन सकेको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नहुँदा ठूला दुर्घटनामा विश्वसँग नेपालको सम्पर्क समेत टुट्दै आएको छ । गत फागुनमा यूएस बंगाल एयरलाइन्सको जहाज दुर्घटना हुँदासमेत विमानस्थल बन्द गर्नुपरेको थियो । तीन वर्षअघि टर्किस एयरको जहाज दुर्घटना हुँदा पनि चार दिन विमानस्थल बन्द गर्नुपरेको थियो ।
पहिलोपटक पीपीपी मोडलमा सञ्चालन
विश्वभर सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा विमानस्थल सञ्चालनको अभियाननै सुरु भए पनि नेपालमा भने हुन सकेको थिएन । सरकारले पहिलोपटक पीपीपी मोडलमा विमानस्थल सञ्चालनका लागि आशयपत्र माग्ने तयारी गरेको छ । केही दिनअघि अर्थ मन्त्रालयले विमानस्थल सञ्चालन गर्न पीपीपी मोडललाई स्वीकृत दिएको थियो । अर्थले स्वीकृत दिएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको संयुक्त टोलीले मन्त्रिपरिषद्मा लैजान प्रस्ताव तयारीमा जुटेका छन् । “केही हप्ताभित्रै मन्त्रिपरिषद्बाट अनुमोदन लगाएर आशयपत्र माग्नेछौँ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भने ।
२०१८ मा सञ्चालनमा ल्याउने बताउँदै निर्माणको ठेक्का पाएको चिनियाँ नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन र स्थानीय ठेकेदारबीचको झगडाका कारण ७ महिना निर्माण कार्य ठप्प समेत भएको थियो ।
आयोजनाको लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको थियो । तर, लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने अनुमान गरिएको छ भने मुआब्जाका लागि २३ अर्ब रुपैयाँ माग गरिएको छ । अहिलेसम्म ९ अर्ब वितरण गरिएको र अव बाँकी निकासा गर्र्दै जाने तयारी सरकारको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा यसलाई हेरिएको छ । विमानस्थलमा एयरबसको ए ३४० र बोइङ ७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिन्छ । यस विमानस्थलको स्तरोन्नतिसँगै २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्नेगरी गुरुयोजना निर्माण भएकोे छ ।