बजार बढाउँदै एस्काभेटर «

बजार बढाउँदै एस्काभेटर

बजार बढाउँदै एस्काभेटरबजार बढाउँदै एस्काभेटरशिव बोहराकाठामाडौं । पूर्वाधारको विकासमा गैंती–बेल्चाबाट मेसिनरीको प्रयोग हुन थालेको पनि वर्षौं भइसक्यो । मेसिन वा भनौं हेवी इक्युपमेन्टको प्रयोग पनि समयको विकाससँगै काम तथा परियोजनाका आधारमा भिन्दाभिन्दै प्रकृतिको इक्युपमेन्ट विकास भएको छ । डोजर, लोडर, एस्काभेटर, कम्प्याक्टर, ग्रेडर लगायत विभिन्न हेवी इक्युपमेन्टको कामको प्रकृतिअनुसार आ–आफ्नै विषेशता रहेका छन् । परियोजनाहरूको विस्तार र विकास बढेसँगै नेपालमा धेरै प्रकारका इक्युपमेन्टको प्रयोग बढ्दै गइरहेको छ । यसमध्ये हिजोआज एस्काभेटरको माग बढ्दै गइरहेको छ ।

 पूर्वाधार विकासले तीव्रता पाएसँगै एस्काभेटरको आयातले विगतका वर्षको तुलनामा यो वर्ष ठूलो फड्को मारेको छ । आर्थिक वर्ष २०७३/०७४ मा एस्काभेटरको आयात अघिल्लो वर्षको तुलनामा एक सय २६ प्रतिशतले बढेको थियो । यो सकारात्मक बढोत्तरी चालू आर्थिक वर्षमा समेत देखिएको थियो । चालू आवको पहिलो त्रैमासिकमा मात्र एक हजार ४१ वटा एस्काभेटर नेपाल भित्रिइसकेका छन् । एस्काभेटर विशेषगरी निर्माण र उत्खनन् कार्यमा प्रयोग हुने हेवी इक्विपमेन्ट हो । यसलाई सडक, सिँचाइ, राजमार्ग, खानी, रियल स्टेट, सहरी विकासलगायतका क्षेत्रमा प्रयोग गर्न सकिन्छ । 

विभिन्न यन्त्रजडित एस्काभेटर खनन् कार्य, ड्रिलिङ र अनावश्यक संरचना भत्काउने लगायतका काममा प्रयोग भइरहेको छ । बुम, डिपर र बकेट एस्काभेटरका मुख्य अंश हुन्, जुन ट्रयाक वा ह्वीलको मद्दतले यताउता दौडने गर्छ । यसमा रहेका हाइड्रोलिक पम्प र सिलिन्डरले ‘एस्काभेसन’ गर्ने गर्छ । एस्काभेटर एउटा मेसिनबाट धेरै एट्याचमेन्ट जोडेर काम गर्न सकिने भएकाले पनि निर्माण कार्यमा लाग्नेहरूको रोजाइमा यो मेसिन परेको हो । आर्थिक वर्ष २०७३/०७४ को तुलनामा यो वर्ष एस्काभेटरको माग उल्लेखनीय रुपमा बढेको छ । विशेषगरी, भौतिक पूर्वाधार निर्माणमा आएको तीव्रता नै यसको कारण हो । सरकारले पूर्वाधारको विकासमा द्रुृतता दिने उद्देश्यले केही आयोजनाहरूलाई राष्ट्रिय गौरवका आयोजको रूपमा परिभाषित गरेको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजना, पोखरा, भैरहवा अन्तर्राष्ट्रिय विमास्थल, काठमाडौं–तराई द्रुतमार्ग, भेरी–बबई सिँचाइ आयोजनालगायत २१ वटा राष्ट्रिय गौरवका आयोजनाहरू छन् ।अधिकांश आयोजनाहरू निर्माण भइरहेका छन् । यस्ता आयोजनाहरूको निर्माणका लागि ठूलो संख्यामा हेवी इक्युपमेन्टको आवश्यकता पर्दछ । सडक तथा राजमार्गको निर्माणले पनि अर्थमुभिङ र निर्माण उपकरणको बजारलाई विस्तार गरेको छ । महत्वपूर्ण परियोजनाहरूको घोषणाले भविष्यमा पनि यसको माग बढ्ने अपेक्षा यो क्षेत्रका सरोकारवालाले गरेका छन् । इक्युपमेन्टसँगै ट्रक तथा साना सवारीको समेत माग बढ्दै जाने देखिन्छ । 

यस्तो छ तथ्यांक

भन्सारको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/०७२ बाट देखिएको हेवी इक्युपमेन्टको आयात वृद्धि २०७३÷०७४ को अन्तसम्म आइपुग्दा पाँच गुणाले बढेको छ । समग्र हेवी इक्युपमेन्टसँगै एस्काभेटरको आयात पनि निक्कै बढेको छ । आव २०७१/०७२ मा नेपालमा २ सय ५८ वटा एस्काभेटर आयात भएकोमा ०७३/०७४ मा बढेर १ हजार ६ सय ७१ पुगेको देखिन्छ । त्यसैगरी, चालू आर्थिक वर्षको मंसिरसम्मको तथ्यांकलाई हेर्ने हो भने १ हजार ४१ वटा एस्काभेटर नेपाल भित्रिइसकेका छन् । देशमा विकास निर्माणको कामले गति लिएसँगै निर्माणमा प्रयोग हुने उपकरणको माग बढ्दै गएको कामात्सु इक्युपमेन्टको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल प्रालि कोमात्सु डिभिजनका जीएम टंक भट्टले बताए ।

“सन् २०१५ देखि नेपाली बजारमा कन्सट्रक्सन इक्युपमेन्ट र त्यसमा पनि एस्काभेटरको माग वार्षिक औषतमा १ सय प्रतिशतभन्दा धेरैले बढेको छ,” उनले भने, “अझै २-४ वर्ष बढ्ने देखिन्छ ।” कोमात्सु ब्रान्डका इक्युपमेन्ट प्रिमियम भएको उनको भनाइ छ । ठूला परियोजना र गुणस्तरीय काममा जोड दिने निर्माणकर्ताहरूले प्रिमियम ब्रान्डका इक्युपमेन्ट नै रोज्ने गरेको भट्टको भनाइ छ । नेपाली बजारमा कोमात्सुका ७ देखि ४५ टनसम्मका विभिन्न ५ मोडलका एस्काभेटर उपलब्ध रहेका छन् । माग बढेसँगै बजारमा प्रतिस्पर्धा भने स्वभाविक रूपमा बढेको उनले बताए ।

“पछिल्ला वर्षहरूमा एस्काभेटरको माग उल्लेखनीय रुपमा बढिरहेको हामीले पाएका छौं । अन्य निर्माण उपकरण विशेषगरी ब्याकहो लोडरसँग तुलना गर्दा एस्काभेटरको माग निकै बढेको छ,” एमएडब्लू अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ हेड दिपकराज गिरीले भने, “आउँदो वर्ष यो अझै बढी प्रतिशतले वृद्धि हुने अपेक्षा हामीले गरेका छौं ।” जेसीबीसँग ३ टनदेखि ३८ टनसम्मको एस्काभेटरको कम्प्लिट रेन्ज उपलब्घ छ । पर्फर्मेन्स, सेफ्टी, इफिसिएन्सी र रिलायबिलिटी जेसीबीका मेसिनको विशेषता हुन् । अझ नेपालभरि फैलिएको सञ्जालले ग्राहकलाई झनै सजिलो बनाएको दाबी उनको छ ।नेपाली बजारमा १४–२२ टन क्लास मेसिनको माग सबैभन्दा बढी छ । मिनी एस्काभेटर सेग्मेन्टको बजार पनि विगतको तुलनामा निकै बढेको व्यवसायीहरूको भनाइ छ ।

तथ्यांक अनुसार आव ०७२/०७३ मा ७ सय ३९ वटा एस्काभेटर नेपाल भित्रिएका थिए, जुन ०७/०७४ मा बढेर १६ सय ७१ वटा पुगेको थियो । प्रतिशतका हिसाबले यो एक सय २६ प्रतिशत हो । नेपालमा सबैभन्दा बढी क्षमताको ३८० टनको एस्काभेटर उपलब्ध छ । 
बढ्दो मागको कारण नेपालमा एस्काभेटर माग बढ्नुमा पूर्वाधार विकासमा सरकारले लिएको प्रगतिशिल कदम नै हो । साथै, पारम्परिक हेभिइक्पिमेन्ट मेसिन ब्याकहो लोडरबाट निर्माण व्यवसायीको ध्यान अब एस्काभेटरमा तानिनु पनि अर्को कारण हो । यसको कारण आयोजनाको आकार ठूलो हुनु र एस्काभेटरबाट अझ धेरै उत्पादकत्व बढ्छ भन्ने बोध निर्माण व्यवसायीमा हुनु नै हो । जेसीबीका डिजिएम गिरी यसमा दुई वटा नयाँ ट्रेन्ड ख्याल गर्नुपर्ने बताउँछन् । पहिलो सरकारको महत्वकांक्षी पूर्वाधार योजना र दोस्रो नेपाली निर्माण व्यवसायीहरूको फेरिएको रोजाइ ।

“पहिले चलाउन सजिलो र छरितो भएका कारण ब्याकहो लोडरलाई रुचाइन्थ्यो । तर अहिले बजार परिपक्व हुन थालेको छ र परियोजनाहरू ठूला हुन थालेका छन् । जसका कारण ग्राहकहरू उत्पादकत्व र सहजतालाई ध्यानमा राखेर एस्काभेटर रुचाउन थालेका छन्,” उनले भने । उनका अनुसार जेसीबीले यो वर्ष मात्रै ४ सय १९ वटा एस्काभेटर बिक्री गरेको थियो, जसमध्ये दुई सय ५० भन्दा बढी २२ टनको जेसीबी एलसी एक्स्ट्रा रहेका छन् ।

नयाँ उत्पादनको ओइरो

पछिल्ला वर्षहरूमा मध्यम क्षमताका एस्काभेटरको माग बढी थियो नेपालमा र कम्पनीको ध्यान पनि यस्तै साना मेसिनमा मात्र थियो । तर अहिले प्रायः सबैजसो कम्पनीले साना र ठूला क्षमताका मेसिनहरू भित्र्याएका छन् । जेसीबीले भर्खरै मात्र ३ टन, ३० टन र ३८ टनका मेसिन भित्र्याएको थियो । “हामीसँग भर्खरैमात्र ग्राहकको मागलाई ध्यानमा राखेर केही मोडलहरू नेपाल ल्याएका छौं । अब हामीसँग ६, ८० देखि ३८० टनका मेसिनहरू छन् । यो कम्प्लिट रेन्ज हो,” गिरीले भने, “यी मेसिनहरूले समान खर्चमा उच्च उत्पादकत्व दिने कुरा भारतीय बजारमा प्रमाणित भइसकेको छ ।”नेपाली बजारमा दर्जनभन्दा बढी ब्रान्डका एस्काभेटर उपलब्ध रहेका छन् । पछिल्लो समय चिनियाँ ब्रान्डका निर्माण उपकरण नेपाली बजारमा भित्रिएका छन् । विभिन्न ब्रान्डका एस्काभेटर भित्रिने क्रम बढ्नुले यसको माग अत्यधिक रहेको देखाउँछ र यो कुरा तथ्यांकले समेत प्रमाणित गर्छ । नेपाली बजारमा कोबेल्को, कोमात्सु, हुन्डाई, क्याटरपिलर, जेसीबी, टाटा–हिटाची लगायत ब्रान्डका एस्काभेटर उपलब्ध रहेका छन् । अन्य ब्रान्डका एस्काभेटर समेत आउने क्रममा रहेको व्यवसायीहरूको भनाइ छ । 

ग्राहक केन्द्रित बजार 

जब परियोजना ठूलो हुन्छ, अन्य मेसिनभन्दा एस्काभेटर बढी उत्पादक सावत हुन्छ । मेसिन किन्दा निर्माण व्यवसायीहरू उत्पादकत्व, विश्वसनीयता, सुरक्षा, अपरेटरको सुविधा र ममर्त खर्च लगायतका पक्षको विश्लेषण गर्ने गिरी बताउँछन् । “जेसीबीका मेसिनहरूबाट अन्य ब्रान्डका मेसिनले भन्दा ७ प्रतिशत बढी उत्पादकत्व दिने र ८ प्रतिशत कम इन्धन खपत गर्छ । साथै हाम्रो सञ्जाल नेपालभर फैलिएको छ,” उनले भने । जेसीबीका मेसिनहरूमा टाढैबाट नियन्त्रण गर्न सकिने अत्याधुनिक टेलिम्याटिक सिस्टम लाइभलिंक जडान गरिएका गिरीले बताए । 

कोमात्सुका एस्काभेटरले अन्य मध्यम रेन्जका एस्काभेटरको तुलनामा राम्रो उत्पादकत्व दिने भएकाले धेरैको रोजाइमा पर्ने गरेको भट्टको भनाइ छ । “मेसिनमा केही बढी लगानी भए पनि कोमात्सुमा गरिएको लगानीले प्रतिफल धेरै दिन्छ,” उनले भने, “कोमात्सुका एस्काभेटरको उत्पादकत्व राम्रो भएको र यसको नेटवर्क तथा बिक्रीपछिको सेवा समेत उत्कृष्ट रहेको छ ।”

प्रतिक्रिया दिनुहोस्