Logo

सुर्खेतमा भूमि समस्या समाधान आयोग

सुर्खेत-भूमि सम्वन्धी समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतको कार्यालय स्थापना गरिएको छ । वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच समितिको कार्यालय स्थापना गर्नुका साथै पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । समितिको कार्यालय जिल्ला समन्वय समितिमा स्थापना गरिएको छ ।
पदभार ग्रहणपछि बोल्दै जिल्ला समिति सुर्खेतका अध्यक्ष ऐनबहादुर चन्दले आयोगले निश्पक्ष रुपमा निश्कर्षमा पुग्नेगरी काम गर्ने प्रतिबद्धता जनाए । अहिलेको आयोग विगतको भन्दा भिन्नै प्रकृतीको भएको भन्दै स्थानीय सरकारले तदारुकताका साथ काम गरे मात्र सफलता प्राप्त गर्न सकिने अध्यक्ष शाहीले बताए ।
भूमिहिन दलित र सुकुम्वासीलाई जग्गा दिने, अव्यवस्थित बसोबासलाई व्यवस्थति गर्ने र विगतका आयोगहरुले गरेका अधुरा कामलाई पूरा गर्ने दायित्व आफूहरुलाई रहेको अध्यक्ष चन्दले जानकारी दिए ।
कार्यक्रममा पूर्व मन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यामलाल कंडेलले भूमिसम्बन्धी लामोसमयदेखिको समस्या समाधान गर्नका लागि तीन वटै तहका सरकारले आयोगलाई सहयोग गर्नुपर्ने बताए । तीन तहकै सरकार र नापी, वनलगायतका पदेन सदस्यका रुपमा रहेका कार्यालयहरुले आयोगको मात्रै काम हो भनेर पन्छिन खोजे समस्या समाधान हुन नसक्ने भन्दै सबै उत्तिकै जिम्मेवार हुनुपर्नेमा कंडेलले जोड दिए ।
यस्तै जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले भूमि सम्बन्धी लामो समयदेखि समस्या भोग्दै आएका परिवारको समस्या समाधानका लागि आयोगलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्