कर्णालीमा पनि भित्रियो बर्डफ्लु «

कर्णालीमा पनि भित्रियो बर्डफ्लु

सुर्खेत-कर्णाली प्रदेशमा पनि बर्ड फ्लु भित्रिएको पुष्टि भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर १२ का दुईवटा फार्ममा पालिएका कुखुरा र परेवामा बर्डफ्लु देखिएको हो ।
वीरेन्द्रनगर–१२ नौलो टोलस्थित स्थानीयले पालेका बोइलर जातका कुखुरा र परेवा मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपंक्षी विकास शाखाले जनाएको छ । बर्डफ्लु भित्रिएको आशंकामा पशु सेवा विभागले नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो। निमित्त निर्देशक मोहन गिरीले जानकारी दिए । शुक्रबार राति दुईजनाको सानो–ठूलो गरेर ३ सय ८१ कुखुरा र २ सय ५ वटा परेवा नष्ट गरिएको गिरीले बताए ।
रोग फैलिन सक्ने सम्भावना देखिएपछि शुक्रबार रातिनै सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकले तत्काल बर्डफ्लु पुष्टि भएका स्थानीयका कुखुरा नष्ट गर्ने निर्णय गरेको थियो ।
बर्डफ्लु थप फैलिन नदिनका लागि भारतबाट आउने दाना तथा चल्ला, लुकिछिपी ल्याएका दाना वा कुखुरा, हाँस, र टर्कीबाट बर्डफ्लु रोग सार्न सक्ने भएकाले चेक जाँचमा कडाइ गर्न सुरक्षाकर्मीलाई निर्देशनसमेत दिइसकिएको बताइएको निमित्त निर्देशक गिरीले बताए ।
परेवाबाट बर्डफ्लु भित्रिएको हुन सक्ने अनुमान गरिएको गिरीले बताएका छन् । ‘त्यहाँ हेर्दा तीन साताका बोइलर कुखुरा छन् एक ठाउँमा स्थानीय जातका कुखुरा नै रहेछन् त्यस्तै ढाइ तीन सय जति परेवा रहेछन,’ गिरीले भने, ‘त्यहाँ हेर्दा परेवाबाट भित्रिएको हो कि भन्ने अनुमान हामीले गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्