अशिक्षा र अज्ञानता नै आपराधिक घटनाको कारक «

अशिक्षा र अज्ञानता नै आपराधिक घटनाको कारक

सुदूरपश्चिममा पछिल्लो समय बलात्कार तथा अपराधका घटना बढिरहेको छ । अपराधका घटना बढ्दै जाँदा सुदूरपश्चिममा त्यसले विभिन्न क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । सुदूरपश्चिम क्षेत्रको हिमाली भेगदेखि तराईसम्म यस्ता अपराधका घटनाले जरो गाडेको छ । दिनहुँ घट्ने यस्ता अपराधमध्ये सुदूरपश्चिममा बलात्कारका घटनाले पनि जरो गाडेको छ । सुदूरपश्चिमको बाजुरा जिल्लाकी सम्झना विक, बैतडी जिल्लाकी भागरथी भट्ट, यस्तै कञ्चनपुर जिल्लाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएका घटना बाहिर आएका छन् । यसमध्ये पनि निर्मला पन्तको हत्यारा अझै पत्तो लागेको अवस्था छैन । यस्तै सुदूरपश्चिममा हुने बलात्कार तथा हत्याका घटनालाई लिएर सुदूरपश्चिम प्रदेशका विभिन्न गाउँपालिका तथा नगरपालिकाका उपप्रमुखलाई बलात्कारका घटना किन बढ्छन् र के–कति कारणले यस्ता घटना घट्छन् भनी कञ्चनपुरस्थित कारोबारकर्मी चन्द्रकान्त जोशीले गरेको कुराकानीको सार :

महिला तथा बालबालिका क्षेत्रमा सरकारबाटै आवश्यक नीतिनियम बनाउनु पर्छ
जमुना बोहरा
उपप्रमुख, जोरायल गाउँपालिका, डोटी

बलात्कारका घटना वृद्धिको कुरा गर्दा यो अति नै भयावह छ । यस्तो अवस्थामा बलात्कारका घटना बढ्नु भनेको प्रमुख रूपमा शैक्षिक कमीले पनि हो । यसैगरी सुदूर समाजमा अशिक्षा, अज्ञानता तथा बेरोजगारीको अवस्था पनि एकदमै डरलाग्दो छ । मानसिक रूपमा चेतनाको कमीले पनि सुदूरपश्चिममा अपराधलगायत बलात्कारका घटना बढ्दै गएका हुन् । यसो भन्दै जाँदा सुदूरपूर्वमा यस्ता घटना नभएको अवस्था छैन । जुनसुकै क्षेत्रमा पनि यस्ता घटनाको बिगबिगी छ । समुदायस्तरमा घटेको घटना समुदायस्तरमा नै मिलोमतो गराउने समाजको जुन नराम्रो प्रचलन छ, यसले गर्दा पनि यस्ता खालका घटना भइरहेका हुन्छन् ।
समाजलाई कानुनी रूपमा पूर्णतया कसेरमात्रै यस्ता घटनामा केही कमी आउने देखिन्छ । समाजलाई कानुनी रूपमा कस्नु भनेको नियम–कानुन पनि बलियो हुनु हो । मुख्य रूपमा यस्ता खाले घटना हुन नदिन सरकारले मृत्युदण्डको सजाय ल्याउनुपर्ने आवश्यकता देखिएको छ । सामान्य रूपमा छोरीहरूले खुला रूपमा आवतजावत गर्न पनि गाह्रो हुने अवस्था आएको छ । यसले गर्दा समाजमा नराम्रो प्रभाव परेको छ । समाजमा घट्ने घटना विभिन्न प्रकृतिका हुने गर्छन् । ती समाजमा घटेका घटनालाई समाजमै बसेर राजनीतीकरण गर्नु पनि सरासर गलत हो । यसले गर्दा यसको प्रभाव नरारात्मक मात्र नभई घटना तथा अपराध गर्ने मानिसको मानसिकतामा पनि सकारात्मक थप ऊर्जा मिल्ने गर्छ । सामाजिक रूपमा गल्ती गरेको भए गल्ती गरेको भन्न लगाउन नसक्नु पनि हाम्रो समाजको कमजोरी हो । घटना घटिसकेपछि पनि अनुसन्धान गर्न दिनुको साटो आन्दोलन गर्ने यो नराम्रो परिपाटी जुन आएको छ, यसले गर्दा पनि घटनाको सत्यतथ्य अनुसन्धान हुन सक्दैन । जस्तो कञ्चनपुरको निर्मला पन्तको कुरा गर्ने हो भने पनि अनुसन्धान गर्ने पाटो एकतर्फी रूपमा भए पनि विभिन्न खाले आन्दोलन भए । हैन, आन्दोलन नगर्ने भन्ने हुँदैन, आन्दोलन गरे पनि प्रहरीलाई निष्पक्ष रूपमा अनुसन्धान गर्न दिएर फरक ठाउँमा आन्दोलन गरे पनि हुन्छ नि । यस्ता खाले आन्दोलनमा राजनीतिको पनि विभिन्न खालको स्वार्थ रहेको हुन्छ । अपराधीलाई समात्नभन्दा पनि संरक्षण राजनीति बढी भएको हुन्छ । यसले गर्दा यी यस्ता समाजमा घट्ने जुनसुकै प्रकृतिका घटनालाई राजनीतिक हस्तक्षेपबाट टाढा राखे पनि मलाई लाग्छ, जस्तोसुकै जुनसुकै घटनाको पनि सहजै अपराधी पत्ता लाग्ने सम्भावन देख्ने गर्छु । यस्तै कानुनी रूपमा पनि घटना घटाउने व्यक्तिलाई हदैसम्मको कारबाहीभन्दा पनि मृत्युदण्डको सजाय दिनुपर्छ । किनभने नेपालको कानुन भनेको निश्चित समयका लागि केही वर्ष जेल राख्ने हो । किनभने अपराध गर्ने व्यक्तिलाई पनि केही वर्ष जेल बसेर फर्किहाल्छुु भन्ने घमण्ड भएको हुन्छ । यसका लागि पनि अपराध गर्नेलाई डराउनका लागि पनि मृत्युदण्डको सजाय उपयुक्त हुन्छ । योसँगै स्थानीय तहको गठन भएको पनि लामो समय भएको छ । स्थानीयस्तरमा घट्ने घटनामा स्थानीय सरकारको मात्रै दोष भन्ने हुँदैन । स्थानीय सरकार भनेको स्थानीय क्षेत्रको सरकार भए पनि आवश्यक नीति, नियम तथा बजेट विनियोजनमा केन्द्र सरकारको अधीनमा बसेको एउटा क्षेत्र हो । यी यस्ता घटनामा न्यूनीकरण गर्नमा केन्द्र सरकारदेखि नै उल्लेख्य बजेट विनियोजन गर्नुपर्छ । स्थानीय सरकारमा ठोस बजेट बढी आएको देखिए पनि विकास खर्चतर्फ बढी राख्दा चाहेर पनि स्थानीय सरकारले केही गर्न सक्दैन । त्यसकारण विभिन्न जनचेतनाका कार्याक्रमसँगै विशेषगरी महिला तथा बालबालिका क्षेत्रमा केन्द्र सरकारबाटै आवश्यक नीतिनियम तर्जुमा गरेर यस क्षेत्रको विकास गरेपछि भने केही चुनौती भने केही कम हुँदै जान्छ ।

अपराधीलाई कानुनले तोकेको सजाय नै कम भयो
पार्वती ऐरी
उपाध्यक्ष, दोगडाकेदार गाउँपालिका, बैतडी

बलात्कारका घटना सुदूर पश्चिममा बढ्नुको कारण प्रमुखतया शिक्षाको कमजोरी हो । जनेतनामा पनि कमी भएको अवस्था छ । यस्तै जनचेतनात्मक कार्यक्रम पनि त्यति प्रभावित भएको अवस्था छैन । दोगडाकेदार गाउँपालिकाकै कुरा गरौं, भागरथीको बलात्कारपछि हत्या भएको भन्ने जुन कुरो आयो, उक्त घटना पनि जनचेतनाको अभावले भएको भन्न नसकिएला, तथापि अपराध गरेपछिको सजायको विषयमा अज्ञानता भएर पनि भागरथीको घटना घटेको हुन सक्छ । यस्तै सुदूरपश्चिममा घटना घटिसकेपश्चात् पनि अपराधी पत्ता लागेका केसहरू निकै कम मात्रामा देखिने, सुनिने गर्छन् । यस्ता घटनालाई बढावा दिने समाजले पनि हो । जुन समाजमा हुर्किएको मानिस भए पनि प्रत्यक्ष रूपमा अपराध गरे पनि केही वर्षमात्रै त जेल बस्नुपर्ने हो, त्यसपछि म खुला रूपले हिँडडुल गर्न पाउँछु भन्ने मानसिकता बोकेर नै सानो उमेरदेखि बालबालिका तहदेखि यी यस्ता घटना बढावा भएको पाइन्छ । हाम्रो यस दोगडाकेदार गाउँपालिका बैतडीकै सन्दर्भमा कुरा गर्ने हो पनि गाउँहरू धेरै दुर्गम छन् । आवतजावत गर्न जंगलको बाटो भएर हिँड्नुपर्ने अवस्था छ । समाजमा गहिरिएर हेर्ने हो भने एकदमै त्रासपूर्ण वातावरण सिर्जना भइसकेको अवस्था छ । यसरी भन्नुपर्दा महिला तथा किशोरी सुरक्षित छैनन् भन्ने बुझाउँछ । आफ्नै घरबाट पीडित भएको घटना पनि कति सुनिन्छन् कति ! यस्तोसम्म कि बलात्कार गर्ने मानिस पनि आफ्नै घर, छरछिमेकको हुने गरेको छ, यसले गर्दा अपराध गर्ने मानिसको मनमा सरकारले तोकेको सजाय कम भएको महसुस भएका कारण पनि यस्ता घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन् ।
जस्तो पछिल्लो समयमा बलात्कार गर्ने मानिसलाई फाँसी तथा मृत्युदण्डको सजाय दिनुपर्ने आवाज पनि उठिरहेको अवस्था छ । यस्तो प्रकारको सजाय ल्याउने हो भने यस्तो खाने घटनाहरू एकदमै न्यूनीकरण हुने अवस्था पनि आउन सक्छ । किनभने घटना नहुन दिन घटना गर्न खोज्ने वा गराउने व्यक्ति जुनसुकैको मनमा पनि डर सिर्जना गर्नु आवश्यक छ । डर सिर्जना भयो भने, मैले कसैलाई बलात्कार ग¥यो भने मृत्युदण्ड हुन्छ है भन्ने एउटा मानसिक रूपमा डर सिर्जना भएर पनि अपराधीको मन परिवर्तन भएर अपराध नगर्ने सम्भावना पनि रहने गर्छ । यस कारणले प्रमुखतया बलात्कारको सन्दर्भमा कुरा गर्ने हो भने मृत्युदण्डको सजाय लागू गर्नुपर्ने आवश्यकता भएको अवस्था छ । अब यस्तै मृत्युदण्डको सजाय लागू गर्दाखेरि मानव अधिकारले मानवले जस्तोसुकै अपराध गरे पनि मृत्युदण्ड गर्नु हुँदैन भन्ने गरेको हुन्छ । मानव अधिकारको कुरा नसुनेर अपराधलाई न्यूनीकरण गर्ने हो भने कठोर कानुन ल्याएर कार्यान्वयन गर्नुपर्ने आवशयकता पनि रहेको छ ।
अझै अहिलेको कुरा गर्ने हो भने मुलुकमा तीनवटा सरकार गठन भएको अवस्था छ । घटना घट्ने भनेको स्थानीय क्षेत्रमा हो । स्थानीय क्षेत्रमा घटेको घटनालाई लिएर स्थानीय तहलाई बढी दोष दिने गरिन्छ । घटना घटाउनु या बढाउनु स्थानीय तहको काम हुँदैन । बरु यसमा न्यूनीकरण गर्न भने स्थानीय सरकारको केही भूमिका हुने गर्छ । अहिले प्रदेश गठन भइसकेपछि प्रदेश–प्रदेशमा विभिन्न कानुन मन्त्री पनि बनेको अवस्था छ । कानुनको कमजोरी एकातिर रहे पनि कानुन कार्यान्वय गर्ने पक्ष राजनीतिक भएकाले पनि भएको कानुन पनि कार्यान्वयन हुन पाउँदैन । कानुनअनुसार त घटना घटिसकेको अवस्थामा प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न दिनुपर्छ भन्ने हो नि बाहिर, तर यहाँ विभिन्न आन्दोलनको नाममा राजनीतीकरण हुन्छ । यसले गर्दा कानुनको सही प्रकारको सदुपयोग पनि हुन सकेको छैन । सुदूरपश्चिम क्षेत्रमा योसँगै क्षेत्रीयताको बढी महत्व छ । घटना घटाउने र लुकाउने खेल पनि बढीजस्तो क्षेत्रीयताको भावनाले पनि हुने गरेको छ । यसले गर्दा क्षेत्रीयतालगायत विभिन्न समस्यालाईलाई पनि न्यूनीकरण गर्नु आवश्यक रहेको मेरा भनाइ छ । सरकारले पनि विशेष गरी किशोरी, बालबालिका तथा महिलाहरूका लागि बजेट निर्माणमा होस् कि संवद्र्धनमा महिला क्षेत्रलाई विशेषगरी समेट्नुपर्ने आवश्यकता पनि रहँदै आएको छ । स्थानीय तहले चाहेर पनि बजेट अभावका कारण सचेतनालगायतका विभिन्न कार्यक्रम गर्न पाएको अवस्था छैन । बेरोजगारीलगायतका समस्याले पछाडि परेको समुदायमा गएर विभिन्न जनचेतनामूलक कार्यक्रम गरेपछि भने निश्चित रूपमा अवस्था केही सहज हुनसक्छ ।

घरआँगन सुरक्षित भए आपराधिक घटनामा कमी हुन्छ
तारा खाती (थापा)
उपप्रमुख, बूढीगंगा नगरपालिका, बाजुरा

सर्वप्रथम के भन्छु भने मानिस अहिलेको अवस्थामा अशिक्षित पनि छैन । लगभग सबै शिक्षित भएको अवस्था पनि छ । हामीले साक्षरता घोषणा गरेको पनि धेरै समय भएको छ । यसले गर्दा समाजमा घट्ने बलात्कार तथा अपाराधका घटनाहरू अशिक्षितका कारणले भएका हुन् भन्ने मलाई लाग्दैन । घटना घटाउने मानिसहरूको मानसिकता त्यस्तै प्रकारको भएकाले यस्ता खाले घटना घट्ने गरेका हुन्छन् । घटना घटाउँछु भनेर मानिसले कहिले पनि सोच्दैन, सोचेर घटाएको घटनाको सन्दर्भमा भन्ने हो भने उसले नियतवश घटाएको हुन्छ । नियत उस्तै प्रकारको दिमागमा बसिसकेको हुन्छ । अब सबै मानिस बलात्कारी हुन सक्छन् भन्ने पनि हुँदैन । अहिले सूचना प्रविधिको पनि अत्यधिक विकास भएको अवस्था छ । यसले गर्दा पनि समाज धेरै फेरिएको छ । सरकारको नजरमा पनि घटना नहुन दिन विभिन्न कार्यायोजना तथा कार्यक्रमअघि सारेको अवस्था छ । यसले गर्दा केही कम हुनु अवस्थामा बढेको अवस्था छ । यो किन हुन्छ र कसरी हुन्छ भन्ने कुरामा मुख्य रूपमा नियतवश नै यस्ता घटना हुने गर्छन् । कानुन न्यायका लागि अदालत तथा विभिन्न संरचना बनेको अवस्थामा हामी रहेका छौ । संरचना भएको अवस्था भए पनि महिला क्षेत्र भनेको एक किसिमले पछाडि परेको क्षेत्र हो । यसले गर्दा पनि पछाडि परेको क्षेत्रलाई समाजले पनि अपहेलित गर्ने गरेको छ, जसका कारण महिला तथा किशोरी जुनसुकै वर्गले पनि थिचोमिचो सहनुपर्ने बाध्यता रहँदै आएको अवस्था छ । यस्तै अब अपराधी पत्ता नलाग्ने कुरा जुन छ, त्यसमा भने प्रहरीलाई दबाबरहित ढंगले अनुसन्धान गर्न दिनुपर्छ । समाजमा यस्तो परिपाटीको विकास भएको छ, जसले समाजलाई दिनप्रतिदिन अपराधको बाटोमा हिँड्न प्रेरित गरिरहेको छ । यस्तै, समाजमा विभिन्न बालबालिका सानो उमेरबाटै कुलतमा लाग्ने गर्छन् । बरु यो क्षेत्रलाई कुलतबाट बच्न केही कार्य गर्न सक्यो भने पनि अपराध न्यूनीकरणमा धेरै सहज हुन्छ भन्ने मलाई लाग्छ । यो क्षेत्रसँगै अन्य क्षेत्रलाई पनि विशेष गरेर सचेतना तथा जनचेतनालगायतको कार्यमा संलग्न गराउनुपर्छ । यस्तै महिला तथा किशोरीको पाटोमा कुरा गर्ने हो भने आत्मरक्षा तथा आत्मसुरक्षाजस्ता कुराहरूलाई प्राथमिकता दिएर अगाडि जानुपर्छ । किनभने महिला तथा किशोरी भनेको कमजोर पक्ष भनेर बुझिँदैन तथा समाजका कारण कमजोर भएर बस्नुपर्ने बाध्यता हुँदै आएको छ । महिला क्षेत्रलाई स्वरोजगारलगायतका कुराहरूमा पुरुषभन्दा बढी अधिकार दिने हो भने महिला स्वतःस्फूर्त रूपमा अगाडि बढ्न सक्छ । यसले गर्दा समाजमा हुने ढाकछेप तथा उचनीचका सबै खाले घटनाको गहिराइसम्म गएर अपराध न्यूनीकरण हुन सक्छ । मलाई के लाग्छ भने बलात्कार हुने क्षेत्र भनेको घरआँगनकै क्षेत्र हो । यसले गर्दा सर्वप्रथम घरआँगन सुरक्षित हुनु जरुरी छ । यो सँगसँगै सामाजिक अपराध गर्ने मानिसलाई कानुनी रूपमा कडाइ पनि गरिनुपर्छ । समाजमा हिंसा फौलाउन प्रेरित गर्ने तथा अपराध गर्न संलग्न हुने जोकोहीलाई पनि ठूलो सजायँ दिनुपर्ने प्रावधान अगाडि ल्याउनुपर्छ । सजायँ कम भएजस्तो लाग्छ मलाई । किनभने कुनै जस्तोसुकै अपराध गरे पनि निश्चित वर्षसम्म मात्रै सजाय हुने गरेको छ । सजाय हुँदाखेरि पछि सजाय भोगेर आएपछि पनि अपराध गर्ने प्रयासमा फेरि अभिप्रेरित हुने भएकाले सजायको क्षेत्र निकै फराकिलो गर्नुपर्ने आवश्यकता छ ।

अपराधीलाई हदैसम्मको कारबाही हुने व्यवस्था गरिनुपर्छ
सुशीला सिंह
उपप्रमुख, बेदकोट नगरपालिका, कञ्चनपुर

बलात्कारचाहिँ विशेष गरेर आफ्ना आफन्तबाट हुने गरेको छ भनेर अध्ययनले देखाउने गरेको छ । बढीजस्तो घटनाहरू जस्तोसुकै केसको कुरा गर्ने हो भने पनि धेरै नजिकको आफन्तबाट यस्ता खाले अपराधका घटना हुने गर्छन् । अनि अर्काे कुरा भन्ने हो भने केही समयको अन्तरालमा नै विश्वासमा लिएर पछि बलात्कृत भएका घटनाहरू पनि बाहिर आउने गरेका छन् । विश्वासमा लिएको व्यक्तिबाट केही पनि हुँदैन, म सुरक्षित छु भन्ने भावना कहिले पनि लिनु हुन्न । यसले गर्दा पनि बलात्कृत हुने सम्भावना हुने गरेको हुन्छ । केही घटना घट्दा या घटाउँदा जानी–जानी पनि घटाइएका हुन्छन् भने केही अन्जानमा पनि भएका हुन्छन् । अब घटना तथा अपराध गर्ने व्यक्तिमा पनि कानुनको अवज्ञा गरेर पनि हुने गरेको छ । जस्तोसुकै घटनामा पनि मलाई जेल मात्रै हुन्छ, त्योभन्दा हरू केही हुँदैन । त्यो पनि केही समयका लागि भनेर आपराधिक मानसिकता बोकेको मानिसले सहज रूपमा अपराध गर्ने सम्भावना पनि उच्च हुने गर्छ । अब यस्तै, कानुनी प्रक्रिया पनि अलि फितलो देखिन्छ । किनभने अपराध गर्ने अपराधीलाई सजाय दिनेभन्दा संरक्षण गर्ने प्रवृत्ति हावी हुँदै गएको छ । यस्ता विभिन्न कारण छन्, जसले गर्दा समाजमा महिलाले अपहेलित भएर बाँच्नुपरेको अवस्था छ । अपराधीले सजाय पाइहाले पनि विभिन्न कोणबाट अपराधीलाई छुट्कारा दिने प्रचलन बढी भएकाले यसमा प्रत्यक्ष रूपमा सरकारी तहतप्काबाट नै यसको समाधान तथा अपराधीलाई हदैसम्मको कारबाही हुने गरी व्यवस्था गरिनुपर्छ । मृत्युदण्ड दिनुपर्छ बलात्कार गर्ने व्यक्तिलाई भन्ने कुरा पनि बेलाबेला उठ्ने गरेको छ । यसले पनि के प्रस्ट गर्छ भने अपराध गर्ने आफ्नो होस् कि पराय, कसैलाई छोड्नु हुन्न भन्ने हो । यसले गर्दा अपराध न्यूनीकरणमा मृत्युदण्ड नै उपयुक्त हो भन्ने मलाई लाग्दैन, किनभने जुनसुकै व्यक्तिले अपराधपछाडि सजिलै उन्मुक्ति पाउनु हुँदैन, मृत्युदण्डले सजायको अनुभूति पनि गर्न पाउँदैन । त्यसकारण अपराध गर्ने तथा आपराधिक मनसाय बोकेको व्यक्तिलाई आजीवन जेल सजाय हुनु जरुरी छ । आजीवन जेल सजाय भोग्नु भनेको जिन्दगीभरि जेलमा बस्नु हो, तथापि जेलमा बसेर आफूले गरेको अपराधको सजाय भोग्दै जीवन गुजार्ने भएकाले पनि मृत्युदण्डभन्दा आजीवन तथा जीवनभर जेल सजाय दिनु नै उत्तम हुन्छ ।
अब सुदूरपश्चिममा मात्रै यस्ता खाले घटनाहरू बढेका छैनन्, सुदूरसँगै अन्य क्षेत्रमा पनि घटनाहरू दिनप्रतिदिन घटिरहेका छन् । घट्ना बढ्दै जानु भनेको सुस्त कानुनी कारबाही हुनु हो । कानुनी रूपमा बलियो सजायको व्यवस्था नभएकै कारण दिनहुँ यस्ता खाले विभिन्न घटनाहरू घटिरहेका छन् । यसैगरी घटनाको सत्यतथ्य पत्ता नलाग्ने अवस्था पनि छ । किन लाग्दैन त भन्दा अनुसन्धान गर्ने प्रहरीलाई अनुसन्धान गर्न नदिनु एउटा प्रमुख कारण हो । घटना घटेको हुँदैन, आन्दोलन सुरु भएको अवस्था हुन्छ । आन्दोलन गर्न पाउनु पनि नागरिकको अधिकारको विषय भएकाले प्रहरीको पनि अनुसन्धान गर्न पाउने अधिकारको विषय हुने गर्छ । अनुसन्धानमा विभिन्न अवरोध गर्नु भनेको कानुनको प्रयोग नहुनु हो । यसले गर्दा अपराधी पनि आन्दोलनसँगै बाँच्ने भएकाले आन्दोलनले गर्दा अपराधी बाँच्ने सम्भावना एकदमै बढी हुन्छ । कञ्चनपुरकी निर्मला पन्तको घटना भएको लामो समय भएको अवस्था छ, तर अपराधी पत्ता लागेको छैन । यसले गर्दा मैले उक्त घटनाक्रमका बारेमा बुझ्दाखेरि अनुसन्धानमा नागरिक आन्दोलनले प्रभाव पारेको अवस्था हो भन्ने बुझेको थिएँ । यस्तै दिनप्रतिदिन विभिन्न अपराधका घटनाहरू बढिरहेका हुन्छन् । अपराध बढ्नुको विभिन्न कारण भए पनि अपराध नियन्त्रणमा भने ध्यान दिनुपर्छ । अहिलेको अवस्थामा संघीयता आएको छ । संघीयता आए पनि तीन तहका सरकार गठन भएका छन् । हो, यस्तै गठन भएका सरकारले मिलेर लाग्ने हो भने अवश्य नै बलात्कार तथा अपराधका घटनामा कमी आउने देखिन्छ । यसमा स्थानीय तहदेखि पनि विभिन्न महिलामुखी तथा किशोरीमुखी सकारात्मक कार्यक्रमको विकास गर्नु पनि आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्