राक्सिराङमा स्थानीय पाठ्यपुस्तक «

राक्सिराङमा स्थानीय पाठ्यपुस्तक

हेटौंडा-नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै मकवानपुरको विकट राक्सिराङ गाउँपलिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ । करिब १० महिनाको समय लगाएर कक्षा १ देखि ५ कक्षासम्मको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिएको हो ।
‘मेरो राक्सिराङ’ नाम दिइएको स्थानीय पाठ्यपुस्तकमा स्थानीय रहनसहन, संस्कृति, रीतिरिवाज, भौगोलिक अवस्थितिलगायतका विषय समेटिएको छ । गाउँपालिकाभरका ४ वटा विद्यालयमा नमुना कार्यक्रमको रूपमा यसै शैक्षिक सत्रदेखि कक्षा–१ देखि ५ कक्षासम्म नै स्थानीय पाठ्यपुस्तक पठनपाठन सुरु भइसकेको छ । आगामी शैक्षिक सत्रदेखि गाउँपालिकाको सबै ५२ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म ऐच्छिक अंग्रेजी विषयलाई हटाएर स्थानीय पाठ्यपुस्तकको पढाइ सुरु हुने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
स्थानीय पाठ्यक्रममा गाउँका पर्यटकीयस्थल, गाउँपालिकाको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक अवस्थिति, ऐतिहासिक स्थलबारे जानकारी, हावापानी, कृषि तथा त्यसको सम्भावनालगायतको बारेका ज्ञान समेटिएको छ । सीमान्तकृत चेपाङ जातिको बाहुल्य रहेको गाउँपालिकामा चेपाङ समुदायको बारेमा करिब ३५ प्रतिशतभन्दा बढी ज्ञानवद्र्धक सामग्री राखिएको अध्यक्ष मल्लले बताए ।
स्थानीय पाठ्यपुस्तकमा गाउँपालिकाको सार्वजनिक महत्वको क्षेत्र, चट्याङ, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपको सम्भाव्य क्षेत्र र त्यसको कारण, चेपाङ जातिले मनाउने चाडपर्व, उनीहरूका रहनसहन, भेषभुषा, भाषा, संस्कृति, गाउँपालिकाभित्र रहेका खोला नालालगायतको बारेमा उल्लेख गरिएको छ ।
स्थानीय पाठ्यक्रमको पूर्णांक एक सयको हुनेछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज (४) मा मातृ भाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने उल्लेख छ । त्यस्तै दफा ११ (ज) १८ मा स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरणको कुरा उल्लेख गरिएको छ ।
सोही ऐनलाई टेकेर गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरी लागू गर्न लागिएको गाउँपालिकाका शिक्षा शाखाका अधिकृत प्रदिप पराजुलीले जानकारी दिए । उनका अनुसार खैराङको कालिका मावि, सिलिङ्गेको राष्ट्रिय मावि, सरिखेतको सूर्योदय मावि र चैनपुरको प्रजा कल्याण आधारभूत विद्यालयमा यसै शैक्षिक सत्रदेखि नै स्थानीय पाठ्यक्रम सुरु गरिसकेको छ ।
स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणका लागि गत जेठमा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण समिति गठन गरी काम थालेको थियो । सुरुको चरणमा पाठ्यपुस्तकमा के कस्ता सामग्री राख्ने भन्नेबारे गाउँपालिकाको चैनपुर, सरिखेत, सिलिङे र खैराङमा छुट्टाछुट्टै कार्यशलाको आयोजना गरेको थियो । उक्त कार्यशालामा वडाध्यक्ष, सदस्य, शिक्षक, विद्यार्थी, अभिभावmक, बाल क्लबका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
दोस्रो चरणमा स्थानीय पाठ्यक्रम विकास तथा पाठ्यपुस्तक लेखन कार्यशालाको आयोजना गरिएको थियो । ५ दिनसम्म चलेको कार्यशालामा स्थानीय पाठ्यक्रमको तहगत तथा क्षेत्रगत उद्देश्य निर्धारण गरिनुका साथै परीक्षा प्रणाली, पूर्णाङ्कलगायतको विषय टुंग्याइएको थियो । पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा जापानको शान्ति भोलेन्टियर्स एसोसिएसन र समुन्नत नेपाल दातृ संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो ।
पाठ्यपुस्तक निर्माण भएसँगै सबै विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई तालिमसमेत दिइएको छ । गत माघ १ गतेदेखि चितवनको सौराहामा विभिन्न चरणमा गरिएको तालिम शुक्रबार सकिएको हो । सामुदायिक विद्यालयका ५२ जना प्रधानाध्यापक र करिब ९५ जना विषयगत शिक्षक शिक्षिकाहरूले तालिम दिइएको शिक्षा शाखाका अधिकृत पराजुलीले बताए । गाउँपालिकामा हाल करिब ५ हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्