प्रदेश सरकारद्वारा तीन वर्षमा साढे ३६ अर्ब खर्च «

प्रदेश सरकारद्वारा तीन वर्षमा साढे ३६ अर्ब खर्च

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा साढे ३६ अर्ब भन्दा बढी खर्च गरेको छ । प्रदेश सरकारले चार आर्थिक वर्षमा साढे ८७ अर्ब भन्दा बढी बजेट गरेपनि विनियोजित बजेटको करिब ४२ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको हो । प्रदेश सरकारको चालु खर्च भन्दा पुँजीगत खर्च निकै कमजोर देखिएको छ ।
७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार प्रदेश सरकारले सार्वजनिक गरेको प्रदेश सरकारका प्रमुख उपलब्धी सम्बन्धी पुस्तिकामा तीन वर्षमा ३६ अर्ब ५३ करोड ८९ लाख ९० हजार रुपैयाँ खर्च भएको उल्लेख छ । जसमा १८ अर्ब ७४ करोड ६३ लाख ७४ हजार पुँजीगत र १७ अर्ब ७९ करोड २६ लाख १६ हजार चालु खर्च भएको छ ।
सो अवधिमा (आर्थिक वर्ष २०७४-०७५ देखि २०७७-०७८ सम्म) प्रदेश सरकारले चालुतर्फ ४५ अर्ब ७१ करोड ३१ लाख १६ हजार र पुँजीगततर्फ ४१ अर्ब ९१ करोड ६३ लाख ९१ हजार गरी जम्मा ८७ अर्ब ६२ करोड ९५ लाख सात हजार रुपैयाँ विनियोजन गरेको छ । यस अवधिमा प्रदेश सरकारले पुँजीगत बजेट भन्दा चालु बजेटमा बढी रकम विनियोजन गरेको छ भने चालु खर्चको तुलनामा पुँजीगत खर्च पनि कमजोर छ ।
पुँजीगत खर्च कमजोर रहेको र प्रदेश सरकारका कार्यक्रमको उपलब्धी पनि कमजोर रहेकै कारणले प्रजातन्त्र दिवस मनाउन आयोजित समारोहमा उपलब्धी विवरण सार्वजनिक गरिसकेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले तीन वर्षमा थुप्रै कामको थालनी गरेको भएपनि त्यसको परीणाम आउन समय लाग्ने चर्चा गरे ।
प्रदेश सरकार सबै भन्दा बढी बजेट रहेको पूर्वाधार विकासतर्फ पनि कमजोर उपलब्धी देखिएका छन् । जलविद्युत् आयोजना निर्माणका लागि तीन वर्षदेखि वातावरण प्रभाव मूल्यांकन र सम्भाव्यता अध्ययनमै सीमित छ । सिँचाइतर्फ १८० किलोमिटर पक्की र एक सय किलोमिटर कच्ची कुलो बनाएर नौ हजार ८९० हेक्टर जमिनमा सिँचाइ सुविधा पु-याएको पुस्तिमा उल्लेख छ । खानेपानीका एक सय ९६ आयोजना सम्पन्न गरी चार हजार जनालाई खानेपानीको सुविधा पु-याइएको पुस्तिकामा उल्लेख छ ।
सडक पूर्वाधारतर्फ तीन वर्षमा एक सय २८ किलोमिटर पक्की, तीन सय २२ किलोमिटर ग्राभेल र सात सय आठ किलोमिटर कच्ची सडक निर्माण गरेको प्रदेश सरकारले जनाएको छ । सो अबधिमा १० वटा सडक पुल र १८ वटा झोलुंगे पुल निर्माण गरेको पुस्तिकामा उल्लेख छ ।
पुस्तिकामा यसै आर्थिक वर्षमा थप दुई सय आठ किलोमिटर पक्की सडक, ५९ किलोमिटर ग्राभेल र दुई सय १५ किलोमिटर कच्ची सडक बनिसक्ने पनि पुस्तिकामा उल्लेख छ । आर्थिक वर्ष २०७८÷०७९ मा सम्पन्न हुने गरी पक्की सडक एक सय ६०, ग्राभेल साढे ४८ र कच्ची सडक दुई सय २८ किलोमिटर क्रमागत योजनाको रुपमा अगाडि बढाएको पनि प्रदेश सरकारले जनाएको छ ।
यसैगरी, जनता आवास कार्यक्रमअन्र्तगत एक हजार ७४६ निजी, ५७ सामुदायिक तथा सरकारी भवन निर्माण भएको पुस्तिकामा जनाइएको छ । यसै आर्थिक वर्षमा थप एक हजार र आउँदो वर्ष एक हजार २५४ निजी आवास निर्माण भई समुदायमा हस्तान्तरण हुने छ । यो अवधिमा ८० वटा सरकारी तथा सामुदायिक भवन समेत निर्माण हुने पुस्तिकामा उल्लेख छ ।
यसैगरी, मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमअन्र्तगत कृषि तथा पशुपन्छी विकासका एक सय १३ वटा नमूना गाउँ अगाडि बढाइएको प्रदेश सरकारले जनाएको छ । जसमा २६ वटा तरकारी खेती, ४१ वटा बाख्रापालन, १३ वटा फलफूल खेती, ६ वटा गहुँ खेती, ८ वटा धान खेती, माछापान, मकै र मसला खेतीका १-१, ४ वटा उखु, २ वटा मौरीपालन, भैंसी र भेडापालनका ३÷३ वटा तथा ४ वटा कुखुरापालनको नमूना गाउँ बनाइएको छ ।
प्रदेश सरकारले पर्यटनतर्फ तीन सय ८ वटा मन्दिर, १० वटा गुम्बा, ६ वटा चर्च, ४० वटा पदमार्ग, १२ वटा धर्मशाला तथा यात्री गृह र २९ वटा भ्युटवर, पार्किङ स्थल तथा संग्रहालय निर्माण गरेको पुस्तिकामा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख सर्मिला पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अर्जुनबहादुर थापाले संयुक्त रुपमा प्रदेश सरकारको प्रगति विवरण समेटिएको पुस्तिका लोकार्पण गरेका थिए ।
सुदूरपश्चिम प्रदेश सरकार गठनको तीन वर्ष, प्रमुख उपलब्धीहरु नाम दिइएको सो पुिस्तकामा प्रदेश सरकारका सात वटै मन्त्रालयहरुले तीन वर्षमा गरेका कामहरुको विवरण समावेश गरिएको छ । साथै प्रदेश सरकारले तीन वर्षमा ल्याएका बजेट र त्यसको कार्यान्वयनको स्थिति पनि उल्लेख गरिएको छ ।
सो अवसरमा मुख्यमन्त्री भट्टले देशमा ढिलासुस्ती गर्ने प्रवृत्ति पहिलेदेखि नै रहेको हुनाले प्रदेश सरकारलाई त्यसलाई चिर्दै अगाडि बढ्न निकै कठिन भएको बताए । उनले प्रदेश सरकार हरेक तरिकाले प्रदेशवासीलाई छिटो सुविधा पु-याउन चाहेको बताए । उनले प्रदेश सरकारले कर्मचारी अभाव, कानुनको अभाव, कार्यान्वयन गर्ने निकायलगायतका विभिन्न समस्याका बाबजुद पनि पुँजीगत खर्च बढाउने प्रयत्न गरेको बताए । उनले कानुन र संरचना बनाउँदै विकास र प्रदेशवासीलाई सेवा सुविधा पु-याउन प्रदेश सरकारले प्रयास जारी राखेको बताउँदै परीणाम आउन केही समय लाग्ने बताए । उनले प्रदेश सरकारका संरचना र केही कानुन बनिसकेको कुनै पनि बहानामा विकास गर्नबाट पछि हट्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्