सामाजिक कार्यमा वित्तीय क्षेत्रको लगानी कम «

सामाजिक कार्यमा वित्तीय क्षेत्रको लगानी कम

जुम्ला-बैंक तथा वित्तीय क्षेत्रले नाफाबाट सामाजिक उत्तरदायित्वका लागि खर्चनु पर्ने प्रावधान छ । सामाजिक हितका लागि शिक्षा, स्वास्थ्य, रक्तदान, जनचेतना मुलक कार्यक्रम, सरसफाई, राहत विरतण जस्ता कार्यमा बैंक तथा वित्तीय क्षेत्रले लगानी अनिवार्य गर्नु पर्ने व्यवस्था छ । तर, जुम्लामा सञ्चालनमा रहेका अधिकांश बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानीनै नगरेको पाइएको छ ।
जुम्लामा करिब डेढ दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्था छन् । बैंकहरुले फाटफुट रुपमा केही कार्यक्रम गरेपनि वित्तीय संस्थाले आर्थिक क्रान्ति, महिला सशक्तिकरणका नाममा आफ्नो ऋण लगानी गर्ने ब्याज असुल्ले काम बाहेक सामाजिक हितका लागि लगानी गरेका छैनन् ।
राष्ट्रिय बाणिज्य बैंक शाखा जुम्लाले गत वर्ष तीनै सुरक्षा निकायलाई वित्तीय साक्षरता कार्यक्रम गरेको थियो । त्यसपछि अहिले कुनै कार्यक्रम गरेको छैन । “वर्षेनी सामाजिक हित हुने कार्यक्रम गर्नु पर्ने हो” बैंकका निमित्त प्रबन्धन हेमन्त न्यौपानले भने, “यस वर्ष कोभिडले काम गर्न पाएनौ, तर अन्य बैंक भन्दा देखिने खालको सामाजिक हितका काममा बढी नै रकम लगानी गर्ने तयारीमा छौं ।”
त्यस्तै सिद्धार्थ बैंक शाखा जुम्लाले चालु आर्थिक वर्षमा रत्नचुडेश्वर मावि र गत आवमा जनता मावि महतगाउँ, जुम्ला बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । त्यसपछि कुनै कार्यक्रम नभएको शाखा जनाएको छ ।
जुम्लाका डेढ दर्जन भन्दा बढी बैंकमध्ये राष्ट्रिय बाणिज्य बैंक र सिद्र्धाथ बैंकबाहेक अन्य सबै बैंकले सामाजिक उत्तरदायित्वका बारेमा थाहा पाएपनि लगानीनै गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्