सात महिनामा ७० अर्बको वस्तु निर्यात «

सात महिनामा ७० अर्बको वस्तु निर्यात

मुुलुकबाट मासिक १० अर्ब रुपैयाँ बराबको सामान निर्यात हुने गरेको तथ्यांकले देखाएको छ । कोभिड–१९का कारणले आयात घट्दै गए पनि निर्यात भने बढ्दै गएको अवस्था छ ।
अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको माग बढ्न थालेपछि निर्यातमा सुधार हुँदैे गएको हो । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षका सात महिना अर्थात साउनदेखि माघसम्म निर्यात ७.६१ प्रतिशतले बढेर ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सो अवधिमा ६४ अर्ब ९७ करोड १२ लाख २७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको थियो । नेपालबाट छिमेकी मुलुक भारतमा धेरै वस्तु निर्यात हुने गर्छ ।
तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्याकेजिङ तथा प्रशोधन भई भारत निर्यात गरेकै आधारमा केही वस्तुका कारण निर्यात बढ्दै गएको तथ्यांकले देखाएको छ । विभागका अनुसार पुस महिनामा ६० अर्ब ७९ करोड ९२ लाख १४ हजार रुपैयाँको निर्यात भएको थियो । यस्तै, मंसिर महिनामा ५० अर्ब, ५५ करोड ६० लाख ८ हजार रुपैयाँको निर्यात भएको थियो ।
कात्तिक महिनामा ४० अर्ब ४९ करोड १७ लाख ८ हजार,असोजमा ३१ अर्ब ४ करोड ६० लाख ९३ हजार रुपैयाँको निर्यात भएको थियो । भदौ महिनामा २० अर्ब, ४४ करोड ३० लाख २२ हजार रुपैयाँ र साउन महिनामा ८ अर्ब ६२ करोड ४९ हजार रुपैयाँको निर्यात भएको थियो ।
नेपालबाट भटमासको तेल, कार्पेट, धागो, चिया, अलैंची, फेल्टका उत्पादन, जुस, अदुवा, मेडिकल हब्र्स, पस्मिना, चाउचाउ, आइरन स्टील, मसुराको दाल, टेक्सटाइल, हस्तकलाका सामग्री, ज्वेलरी लगायतका अन्य उत्पादनहरू निर्यात हुने गर्छ ।
व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका कार्यकारी निर्देशक शरणविक्रम राणाले अन्तराष्ट्रिय बजारमा स्वदेशी वस्तुको माग बढ्दै गएकाले निर्यात पनि बढ्दै गएको बताए । कोभिडमा पनि निर्यात लगातार बढ्दै गएको उल्लेख गर्दै उनले भने, “आयातको तुलनामा नभएपनि निर्यातमा क्रमिकरुपमा सुधार हुँदै गएको छ ।”
तथ्यांक अनुसार ७ महिनाको अवधिमा नेपालले भारतबाट ५ खर्ब ३१ अर्ब ९५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस अवधिमा निर्यात भने ४९ अर्ब ९२ करोड बराबरको वस्तु निर्यात भएको छ । यसले भारतसँग व्यापार घाटा ४ खर्ब ८२ अर्ब १ करोड देखिएको छ । यस अवधिमा चीनतर्फ मात्र ५५ करोडको सामान निर्यात हुँदा १ खर्ब १६ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चीनसँग १ खर्ब १५ अर्ब ५६ करोड रुपैयाँ बराबरको व्यापार घाटा देखिएको छ । अमेरिकामा ७ अर्बको सामान निर्यात हुँदा ९ अर्ब ४५ करोड रुपैयाँको मात्र आयात भएको छ ।
चालू आर्थिक वर्षको माघ मसान्तसम्म कूल ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको यसै अवधिमा ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएको थियो । नेपालले विदेशबाट १ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । ७ महिनामा नेपालबाट ६९ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको छ । माघ महिनामा ६ अर्ब हाराहारीको मात्र वस्तु निर्यात भएको छ । तथ्यांकअनुसार ७ महिनाको अवधिमा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब पुगेको छ । यो गत आवको तुलनामा मात्र ०.६६ प्रतिशत कम हो । गत आवमा ७ खर्ब ३७ अर्बको व्यापार घाटा थियो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत पुगेको छ । निर्यातको हिस्सा मात्र ८ प्रतिशत छ ।
सात महिनामा १ खर्ब ४७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा निर्माण क्षेत्रमा प्रयोग हुने फलाम तथा स्टीलको आयात ८० अर्ब २४ करोड हाराहारीको भएको छ । ५३ अर्ब २५ करोड रुपैयाँ बराबरको सवारी साधन समेत यसै अवधिमा आयात भएको छ । यस्तै, ४८ अर्ब ८७ करोड ५९ लाख ५२ हजार रुपेैयाँको खाद्यान्न आयात भएको छ । यो अवधिमा ६३ अर्ब २१ करोड रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामानको आयात भएको छ । यसमा मोबाइलको हिस्सा अधिक छ । यो अवधिमा नेपालले तरकारी मात्र २२ अर्ब ३९ करोड रुपैयाँ बराबरको आयात गरेको छ । नेपालले यो अवधिमा १ सय ४८ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्