वडालाई बलियो बनाउँदै रामग्राम «

वडालाई बलियो बनाउँदै रामग्राम

स्थानीय तहः रामग्राम नगरपालिका
प्रदेशः लुम्बिनी
जिल्लाः नवलपरासी बर्दघाट (सुस्ता पश्चिम)
प्रमुखः नरेन्द्रकुमार गुप्ता
उपप्रमुखः रम्भा कुँवर
प्रमुख कार्यकारी अधिकृतः राजेश पन्थी
क्षेत्रफलः १२८.३२ वर्ग किलोमिटर
वडा संख्याः १८

रामग्राम नगरपालिकाको स्थापना २०५३ सालमा भएको हो । ‘नगरवासीको सरोकारः स्वच्छ, पारदर्शी स्थानीय सरकार’ भन्ने नाराका साथ रामग्राम नगरपालिका अघि बढिरहेको छ । नगरको चालू आर्थिक वर्ष २०७७-७८ को लागि आर्थिक तथा सामाजिक विकासका माध्यमबाट गरिबी निवारणमा प्रत्यक्ष योगदान दिने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने विषयहरू जस्तैः कृषि, शिक्षा स्वास्थ्य, खानेपानी, सडक र सरसफाइको क्षेत्रमा गरिने विशेष लगानीलाई प्राथमिकता दिएको छ । यस्तै, जेष्ठ नागरिक, महिला, युवा, बालबालिका र फरक क्षमता भएका व्यक्तिहरूसँग सम्बन्धित विषयहरू, उद्यमशील जनशक्तिको विकासमा जोड दिदै रोजगारी सिर्जना गर्ने, सीपमूलक तालिम र युवालक्षित खेलकुद क्षेत्रसँग सम्बन्धित र सामािजक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पु¥याउने कार्यलाई प्राथमिकता राखेको छ ।
नगर क्षेत्रभित्र रहेका विपन्न परिवारको घरको खरको छनालाई जस्तापाताबाट प्रतिस्थापन गर्ने अभियान सञ्चालन गर्ने, सरकारी तथा सार्वजनकि जग्गाको संरक्षण र सम्बद्र्धन गर्दै लैजाने नीतिअन्तर्गत त्यस्ता जग्गाहरूमा नगरकै महत्व झल्कने पार्क, बालउद्यान, खेल मैदान, सभागृह लगायत सर्वाजनिक महत्वका संरचना निर्माण गर्ने योजना तथा कार्यक्रम दु्रत गतिमा अगाडि बढाइने कार्यक्रम राखेको छ । नगरको गौरवको आयोजना अन्तर्गतका नगर सभागृह निर्माणको थालनी गर्ने सपना पनि बुनेको छ । यस्तै नगरको केन्द्रसम्म सहज पहुँच र आवगमनको व्यवस्था गर्ने नीति लिइएको छ । जसअनुसार प्रत्येक वडाका सडक स्तारोन्ती गर्दै लैजाने अभियान समेत छ ।
नगर क्षेत्रका विकास र नगरवासीलाई प्रभावकारी सेवा उपलब्ध गराउनु नै मुख्य उद्देश्य रहेको प्रमुख नरेन्द्रकुमार गुप्ता बताउँछन् । नगरले भगवान गौतम बुद्धको अष्ट धातु रहेको रामग्राम स्तुप क्षेत्रको समग्र विकासको लागि अतिथि विश्राम गृहको निर्माण, पुरातात्विक संग्राहलय निर्माणको क्रम अगाडि बढाउँदै गुरुयोजना समेत निर्माणको लागि प्रयास गरिरहेको छ ।
नगरले कुनै पनि आयोजना सञ्चालनलाई व्यवस्थित, वैज्ञाानिक बनाउने नीतिअन्तर्गत ठूला योजनाहरू सडक, खानपानी , सिंचाइ एवम् अन्य पूर्वधार निर्माण गर्नुअघि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने लक्ष्य लिएको गुप्ता बताउँछन् । “खुद्रे र टुक्रे योजनाबाट मात्रै समृद्धि सम्भव छैन,” उनी भन्छन्, “पूर्वाधार लगानीलाई सकेसम्म केन्द्रीकृत गर्ने सोच छ ।”
नगरले राजस्व प्रशासनलाई व्यवस्थित बनाउने राजस्व संकलनलाई वडाबाट नै कम्प्युटर प्रणालीबाट सञ्चालन गरेको छ । राजस्वको दरभन्दा दायरामा ध्यान दिएको छ । कृषियोग्य भूमिको भूमि करमा ८० प्रतिशत छुट दिने नीति लिएको भने राजस्वमैत्री नगरको सपना देखेको पनि छ । चालू आवमा राजस्व संकलन ६ करोड रुपैयाँ संकलन हुने अनुमान रहेकोमा हालसम्म ३ करोड रुपैयाँ संकलन भइसकेको छ ।
सहरी विकास मन्त्रालयको सहयोगमा सदरमुकाममा २५ करोड रुपैयाँ लगानीमा बसपार्क बनाउँदैछ भने आफ्नै लगानीमा ८ करोड रुपैयाँ लागतमा रंगशाला बनाउँदैछ । यसैगरी २ करोड रुपैयाँ लगानीमा परासीबाजरमा पुल बनाएको छ जसले वडाहरूलाई जोडेको छ । यस्तै अन्तर स्थानीय तह जोड्ने सडक र पुलको योजना समेत बनाएको गुप्ता बताउँछन् । नगरले दुई वटा तरकारी बजार बनाएको छ भने परासीको मुख्य बजारलाई चारलेनको बनाएको । यसैगरी परासी बजारमा ७२ लाख रुपैयाँ लगानीमा घण्टाघर समेत बनेको छ ।
रामग्रामका पाँच वटा गाउँहरू उजैनी, जोकवार, लंकहवा, रानीपाकड र कुनोवारमा सडक बत्ती ढल, हरियाली सडकसमेतको सुविधामा स्मार्ट गाउँ बनाइएको छ । त्यहाँ पानीको सुविधा पु¥याउन चारवटा ओभरहेट ट्यांकी बनाइँदै छ । उनी वडाबाट सबै सेवा प्रवाह गरेको र वडालाई बलियो बनाएको बताउँछन् । “जिल्लाका सबैभन्दा धेरै कानुन बनाउने स्थानीय तह हौं, करिब २८–३० वटा कानुन बनायौं,” उनी भन्छन्, “कानुन नबनाइकन काम गर्न पाइँदैन, त्यसैले आवश्यकताअनुसार कानुन बनाउँदै काम गरिरहेका छौं ।”
सुशासन र पारदर्शीताको सवालमा नगर पारदर्शी रहेकाले अहिलेसम्म कुनै पनि प्रकारको मुद्दा नपरेकोमा गुप्ता बताउँछन् । नगरमा सामान्य बेरुजु रहेपनि कतिपय सन्दर्भमा महालेखा परीक्षणको बखत तल्ला निकायमा बेरुजु रकम धेरै निकाल्ने उद्देश्यले काम हुने गरेकोमा भने गुप्ता असन्तुष्ट छन् । उनी भन्छन्, “महालेखाले स्थानीय तहमा अलि टार्गेट मिट गर्ने गरी बेरुजु निकाल्न खोजेको देखिन्छ । सानोतिनो कुरा त भैहाल्छ, । कतैकतै बदमासी पनि भएको होला । यथार्थ बेरुजु उचित कारणसहित उल्लेख गरेर सुधार गर्ने मौका पनि दिनुपर्छ ।”
सार्वजनिक निजी साझेदारीमा १० मेघावाट सौर्य उर्जा निकाल्ने, करिबकरिब ५१ शैयाको अस्पताल बनाउन पहल समेत भैरहेको गुप्ताले बताए । कोभिडमा समयमा बजेट राम्रोसँग कसैले पनि चलाउन नसकेको भन्दै उनले त्यसभन्दा अघिल्लो आवमा भने ७० देखि ७५ प्रतिशत बजेट खर्च भएको बताए । “चालू आवमा करिब ९० प्रतिशत बजेट खर्च गर्ने लक्ष्यका साथ काम भैरहेको छ,” उनी भन्छन्, “सय प्रतिशत त सक्दैनौ, हामी पुँजीगत बजेट खर्चमा ध्यान दिएका छौं, चालूलाई सकेसम्म निरुत्साहित गर्छौं ।” तीस वर्षमा संघीय सरकारले गर्न नसकेको काम तीन वर्षमा काम गरेको भन्दै गुप्ता स्थानीय सरकार बलियो सरकार भएको उल्लेख गर्छन् ।

प्रतिक्रिया दिनुहोस्