जलवायु क्षति न्यूनीकरणको उपाय खोजिने «

जलवायु क्षति न्यूनीकरणको उपाय खोजिने

काठमाडौं-वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण पछिल्लो समय मानिसको जनजीवनमा नकरात्मक असर पर्दै गइरहेको भन्दै त्यस्ता असरबाट बच्ने उपाय खोज्नुपर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित नेपालमा जलवायु परिवर्तनसम्बन्धी छलफल कार्यक्रममा मन्त्री बस्नेतले जलवायु परिवर्तनले मानवीय जीवनमा निम्त्याएका समस्याका धेरैभन्दा धेरै अध्ययन गरेर यससम्बन्धी देखिएको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।
उनले हिमाली जनजीवनमा मात्र होइन पहाड र तराईको जनजीवन, आर्थिक र सामाजिक परिवेशमा असर पारिरहेको भन्दै समाधानका उपाय खोजिनुपर्ने बताएका हुन् । उनले जलवायु परिवर्तन र वातावरणसँग जोडिएका समस्यालाई एकीकृत ढंगले सम्बोधन गर्न सरकार प्रयत्नशील रहेको बताए । जलवायु परिवर्तनका कारण हिमशृंखला, हिमताल पग्लने क्रम बढ्दो छ,” उनले भने, “यस्ता समस्या पनि कोपमा राख्ने छौ ।”
राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले पेरिस सम्झौतामा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सीयसभन्दा बढ्न नदिने उल्लेख भए पनि त्यसको कार्यान्वयनका लागि नेपालजस्ता मुलुकले घच्घच्याउनु पर्ने बताए । “विश्वमा कार्बन उत्सर्जन बढ्दो क्रममा छ, त्यसको मार अल्पविकसित देशले खेपिरहेको छ,” उनले भने, “जलवायु परिवर्तनका कारण हिमशृंखला पग्लिँदा बाढीपहिरो आउने क्रम बढेको र त्यसले कृषि, भौतिक पूर्वाधार र अर्थतन्त्रमा असर गरेको छ, अब समाधानको विकल्प खोज्नुपर्छ ।”

वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले नेपालले उत्पादन गरिरहेको कार्बन उत्सर्जन न्यून रहे पनि विकसित राष्ट्रहरूले अधिक रूपमा उत्सर्जन गर्दा त्यसको प्रत्यक्ष असर नेपालजस्ता अल्पविकसित एवं विकासोन्मुख राष्ट्रमा परेको बताए ।
जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले जलवायु परिर्वतन अनुकूलनका कार्यक्रम आजकोे आवश्यकता रहेको र यसका लागि सबै निकायको भूमिका महत्वपूर्ण रहेकाले समन्वय र सहकार्यको आवश्यकता पर्ने बताए । “जलवायु परिवर्तनले नेपाललगायत विकासोन्मुख मुलुकलाई असर गरिरहेको छ, जसले गर्दा हामीले प्राकृतिक प्रकोपबाट उत्पन्न हुने धनजनको क्षति बेहोर्नु परेको छ, भावी दिनमा अझै यसको समस्या बढ्न सक्छ,” उनले भने, “जलवायु परिर्वतन स्वास्थ्य, निजी क्षेत्र, सामुदायिक वन र अन्य धेरै क्षेत्रले मिलेर अघि बढ्नु पर्छ, भोलिको पुस्तालाई जलवायु परिवर्तनको कारणले गर्दा खतरा हुन नदिने जिम्मेवारी हो ।”
नेपालका लागि युरोपियन युनियनका (ईयू) राजदूत भेरोनिका कोडीले नेपालमा भौगोलिक विविधता भएकाले भूगोलअनुसार जलवायु परिवर्तनसम्बन्धी समस्याको पहिचान गरेर प्राथमिकता दिनुपर्ने बताइन् । युरोपियन इन्भेस्टमेन्ट बैंकका उपाध्यक्ष एन्ड्रयु म्याकडोवेलले जलवायु परिवर्तन न्यूनीकरणका लागि सहयोग पु¥याउनेमध्ये युरोपेयिन युनियन पनि भएको बताए । युरोपियन बैंक नेपालमा पनि जलवायु परिवर्तनको समस्या न्यूनीकरण र प्रभावलाई अनुकूलन हुने गरी कामका लागि सरकारलाई सहयोग गर्न इच्छुक रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्