Logo

छाडेर जागिर भैंसीपालन

सुर्खेतको वीरेन्द्रनगर–१४ गढीका एक दम्पत्तिले जागिर छाडेर भैंसीपालन व्यवसाय अंगालेका छन् । गढी राम्रीकाँडाका डिलबहादुर र गंगा खत्रीले व्यावसायिक रूपमा भैंसी पालन सुरु गरेका हुन् ।
डिलबहादुर गाउँकै खानेपानी आयोजनामा काम गर्थे । उनले जागिर छोडेर गएको भदौदेखि भैंसीपालन थालेका हुन् । खत्री दम्पत्तिले अहिले तीनवटा भैंसी र एउटा दुहुनो गाई पालेका छन् । दैनिक २७ लिटर दूध बिक्री गरिरहेको डिलबहादुरले बताए । व्यवसायमा एकजनालाई रोजगारी दिएका छन् भने श्रीमान–श्रीमती पनि यही व्यवसायमा व्यस्त छन् । एक जना कर्मचारीलाई पारिश्रमिक दिएर मासिक ३० देखि ३५ हजार रूपैयाँसम्म आम्दानी हुने गरेको गंगाले बताइन् । “व्यवसायले हामीलाई धेरै सहयोग पुगेको छ,” गंगाले भनिन्, ‘एक जनालाई रोजगारी दिएका छौं, हामी दुईजना पनि यसमै व्यस्त छौं ।”
खानेपानीको जागिर छोडेर भैंसीपालन अंगालेका डिलबहादुर व्यवसायबाट सन्तुष्ट छन् । जागिरभन्दा व्यवसाय नै उपयुक्त लागेको डिलबहादुरले बताए । “जागिर र व्यवसायमा धेरै फरक पाएँ,” डिलबहादुरले भने, “नोकरी गर्दा तलवमा सिमित हुनुपथ्र्यो, तर अहिले जे बेचे पनि फाइदै भएको छ, त्यो सबै आफैंलाई हो ।”
खत्री दम्पत्तिले एउटा भैंसीबाट व्यवसाय सुरु गरेका हुन् । गंगा गाउँमा किर्डाक नेपालले सञ्चालन गरेको फूलबारी स्वास्थ्य आमा समूहको सदस्य छिन् । व्यवसाय गर्न चाहने समूहका सदस्यलाई किर्डाकले गरेको व्यवसाय सञ्चालनसम्बन्धी तालिम दिएपछि गंगाले सो व्यवसाय शुरु गरेकी हुन् । समूहबाट १५ हजार रूपैयाँ ऋण लिएर व्यवसाय शुरु गरेका उनीहरूले अहिले त्यसैबाट लाखौं रूपैयाँ बराबरको व्यवसाय पु¥याएका छन् । खत्री दम्पत्ति थोरै पुँजीबाट पनि व्यवसाय सुरु गर्न सकिन्छ भन्ने उदारणसमेत बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्