Logo

कोरोना खोपबारे श्वेतपत्र जारी गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको खोप लगाउन स्पष्ट खाकासहितको श्वेतपत्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
कोभिड–१९ विरुद्धको खोप लगाउने विषयमा सरकार गम्भिर नभएको भन्दै कांग्रेसले सबै जनतालाई खोप सुनिश्चित गरी कार्ययोजनासहितको श्वेतपत्र सार्वजनिक गर्न माग गरेको हो । कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले स्पष्ट खाकासहितको विस्तृत कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गरे । खोप खरिद गर्नुपर्ने खण्डमा खरिद प्रक्रिया पारदर्शी हुनुपर्ने र त्यसको विश्वसनियताको विषयमा जनतालाई सुनिश्चित गर्न जरुरी रहेको पनि उनले बताए ।
खोप लगाउने विषयमा सरकार गम्भिर नभएको पनि सहमहामन्त्री महतले बताए । भारतले १० लाख खोप निःशुल्क दिएको र सो खोप दिन थालिए पनि पारदर्शी कार्ययोजना आउन नसकेको महतको भनाइ छ ।
सबैभन्दा पहिला अग्रपंक्तिमा काम गर्नेलाई प्राथमिकतामा राखेर खोप दिने कुरा ठिक भए पनि ज्येष्ठ नागरिकलाई कसरी खोप दिने भन्ने कुराको कार्ययोजना ल्याउन नसकेको उनले बताए । निःशुल्क खोप कहाँबाट आउँदैछ र रकम तिरेर ल्याउने कार्ययोजना के छ भन्ने विषयलाई सरकारले स्पष्ट पार्नुपर्ने पनि सहमहामन्त्री महतले बताए ।

प्रतिक्रिया दिनुहोस्