पर्यटन व्यवसायीहरुले पुर्नकर्जा सुविधा पाउन सकेनन् «

पर्यटन व्यवसायीहरुले पुर्नकर्जा सुविधा पाउन सकेनन्


नेपाल पर्यटन बोर्डले कोभिड–१९ बाट प्रभावित अधिकांश पर्यटन व्यवसायीहरुले पुर्नकर्जा सुविधा पाउन नसकेको स्वीकार गरेको छ । बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित अन्तरक्रिया कार्यक्रममा सानो लगानीमा पर्यटन व्यवसाय गरिरहेका व्यवसायीहरुले पुर्नकर्जा सुविधा पाउन नसकेको गुनासो गरेपछि बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले यस्तो स्वीकार गरेका हुन् ।
उनले पुर्नकर्जा कार्यविधि निर्माण गर्दा गरिएको परिकल्पना नै गलत भएकाले अधिकांश पर्यटन व्यवसायीले पुर्नकर्जा उपभोग गर्न नपाएको बताए । पुर्नकर्जा सम्बन्धी कार्यविधि निर्माण गर्दा पर्यटनसँग आवद्ध मजदूर र घर भाडामा लिएर व्यवसाय गरिरहेका व्यवसायीहरुलाई सम्बोधन गर्ने खालको नगरिएकाले समस्या आएको उनले बताए ।
सरकारले पर्यटन विज्ञहरुको रायसुझाव लिएर निर्णय गरेको भए कुनै समस्या नहुने स्थिति निर्माण हुने पनि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए । सरकारले पुर्नकर्जाका लागि छुट्याएको बजेटको ८० प्रतिशत रकम उपभोग भइसकेको भएपनि अहिलेसम्म ८० प्रतिशत व्यवसायीहरुले कर्जा उपभोग गर्न नपाएको उनको भनाइ छ ।
कार्यक्रममा पर्यटन व्यवसायीहरुले कोभिडबाट सबैभन्दा धेरै पर्यटन क्षेत्र प्रभावित भएको तर सरकारले दिएको राहत पाउन नसकेको गुनासो गरेका थिए । यस्तै पर्यटन व्यवसायलाई चलायमान बनाउन सरकारले उपयुक्त मापदण्ड बनाउन नसकेको गुनासो समेत पर्यटन व्यवसायीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्