प्रणय दिवसको अर्थतन्त्रमा प्रभाव

जब भ्यालेन्टाइन डे नजिकिन्छ तब नेपाली बजारमा विभिन्न कार्ड र थरीथरीका उपहारको माग बढ्छ । यस अवसरमा रातो गुलाफको राम्रै व्यापार हुने गरेको पाइन्छ । नेपाली बजारमा विदेशबाट आयात गरिएका गुलाफको निकै माग हुने भएका कारण बर्सेनि लाखौँ मूल्यको फूल निर्यात हुने गरेको छ । सुरुसुरुमा भ्यालेन्टाइन डेमा कार्ड र उपहार हस्तनिर्मित हुन्थे, तर वर्तमानमा प्रविधिको विकास र प्रसारसँगै थुप्रै उपहार, गिफ्ट आइटमले बजारमा स्थान जमाएको देख्न सकिन्छ । भ्यालेन्टाइन कार्ड, विभिन्न उपहार तथा रातो गुलाफको फूल यस अवसरमा खुबै बिक्री हुने गर्छ । नेपाली बजारमा यस पर्वमा लाखौँ रुपैयाँको गुलाफ फूलको मात्र बिक्री हुने गरेको पाइन्छ, जुन फूल विदेशबाट आयात गरिन्छ । हिजोआज नेपाली माटोमा पनि फूल खेती हुन थालेपछि केही भए पनि स्वदेशी रुपैयाँ बिदेसिन पाएको छैन । त्यसैले यस प्रकारका पर्व मनाउँदा पनि यथेष्ट रुपैयाँ बिदेसिन पुग्छ । हामीले हाम्रा पर्व वा यस प्रकारका परम्परा मनाउँदा स्वदेशी रुपैयाँ बिदेसिनेभन्दा स्वदेशमै निर्मित वस्तु वा सामग्रीलाई जोड दिनु अत्यावश्यक देखिन्छ ।
प्रत्येक वर्ष १४ फेब्रुअरीमा मनाइने भ्यालेन्टाइन डे अर्थात् प्रेमदिवस पश्चिम मुलुकलगायत हाम्रो देशमा पनि मनाउन थालिएको छ । तर, प्रेम दिवस विश्वभरि उल्लासमय वातावरणमा मनाइन थालेको धेरै भएको छैन । दुई दशक अगाडिसम्म नेपाली समाजमा अत्तोपत्तो नभएको ‘भ्यालेन्टाइन डे’ केही वर्षयतादेखि सबैको आकर्षण बन्न पुगेको छ । प्रविधिको व्यापक प्रयोग र सञ्चार माध्यमका कारण यसले नेपाली युवायुवतीको मनमा एउटा पर्वका रूपमा जरा गाडिसकेको छ । यस अवसरमा नेपाली बजारमा विभिन्न उपहारको राम्रै व्यापार हुने गरेको पाइन्छ ।
प्रेम दिवस, भ्यालेन्टाइन डे, प्रणय दिवस, प्रेमोत्सव आदिका रूपमा यस पर्वलाई मनाइए पनि यस पर्वको सुरुवात तेस्रो शताब्दीको उत्तराद्र्धबाट भएको हो । यो दिवस ‘सेन्ट भ्यालेन्टाइन’ को सम्झनामा प्रेमका अनुयायीहरू उनीप्रति प्रेम र सम्मान प्रकट गरी मनाउँछन् । इ.सं. २६९ को फेब्रुअरी १४ का दिन भ्यालेन्टाइनलाई रोमन सम्राट् क्लाडियसले मृत्युदण्डको सजाय सुनाएका थिए । त्यतिबेला सैनिकलाई प्रेम र विवाह गर्न प्रतिबन्ध लगाइएको थियो । विवाहपश्चात् पुरुषको बल र विवेक हराएर जाने मान्यता राख्ने रोमन सम्राट् क्लाडियसले आफ्ना सैनिक र प्रहरीलाई विवाह गर्नमा रोक लगाएका थिए । उनले राजाको त्यस प्रकारको अभियानको विरुद्धमा सबैलाई पे्रम गर्न र विवाह गर्न तयार पारे र कैयन्लाई आफैँले जोडी पनि खोजिदिए । उनको यो कार्यले राजआज्ञा नै उलङ्घन गरेको ठहरियो । त्यतिबेला उनले राजआज्ञा उल्लङ्घन गरेकाले मृत्युदण्ड दिने निर्णय भयो । तर पनि पादरी सेन्ट उक्त निर्णयबाट विचलित भएनन् । उनले पे्रमप्रति उच्च सद्भाव र आस्था प्रकट गरेर पे्रमका लागि हाँसीहाँसी मृत्युदण्ड वरण गरे । सेन्टको उक्त साहसिक कदमले पे्रम गर्नेहरूलाई नवीन ऊर्जा र सम्मान एवम् आस्था जगायो । उनको पे्रमप्रतिको सहादत र उन्मुक्त भावका कारण मृत्युपश्चात् आज विश्वभरिका प्रेमप्रेमिकाले हृदयदेखि नै उनलाई सम्झन थालेका छन् ।
उनको मृत्युपश्चात् भ्यालेन्टाइनको सम्झनामा यो पर्व मनाउन थालियो । ‘भ्यालेन्टाइन डे’ लाई बेलायतमा अझै विवाह दिवसका रूपमा मनाइन्छ भने अमेरिका, बेलायत, फ्रान्स, रोम, चीन, भारत, नेपाल, अफ्रिकालगायतका देशमा हर्ष, उमङ्गसहित धूमधामसँग मनाइन्छ । अंग्रेजी साहित्यमा पनि भ्यालन्टाइन डेको चर्चा गरिएको पाइन्छ । पश्चिमी साहित्यकार चौसरले आफ्नो ‘पार्लियामेन्ट अफ फाउल्स’ मा ‘भ्यालेन्टाइन डे’ को चर्चा गरेका छन् भने महान् नाटककार शेक्सपियर र अलेक्जेन्डर पोपले आफ्ना रचनामा १४ फेब्रुअरीलाई प्रेमको महान् दिन वा शुभमुहूर्तका रूपमा उल्लेख गरेको पाइन्छ । नेपाली साहित्यकारहरूले पनि यस दिवसमा आधारित थुप्रै साहित्य सिर्जना गरेको पाइन्छ ।
भ्यालेन्टाइन पर्वमा प्रेमीहरू एकअर्कामा उपहार साटासाट गर्ने गर्छन् । नेपाली बजारमा स्वदेशीभन्दा विदेशी उपहारहरू बढी दिने चलन चलेको छ । स्वदेशी बजारमा पाइने र स्वदेशमा नै निर्माण भएका उपहार वा सामग्री आदानप्रदान वा खरिद गर्दा पक्कै पनि यसले सकारात्मक सन्देश जाने तथा स्वदेशी मुद्रा पनि बिदेसिन पाउँदैन । नवप्रेमीहरूले प्रेमिका रोज्ने र रोजिसकेकाहरूले आफ्नो प्रेम चिरस्थायी बनाउने महŒवपूर्ण दिनका रूपमा ‘भ्यालेन्टाइन डे’ लाई लिने भएका कारण उनीहरू आफ्नो प्रेमीको मन खिच्न महँगा उपहार पनि दिने गरेको पाइन्छ । नेपाली समाजमा पनि भ्यालेन्टाइन डेको लोकप्रियता बढ्दै गएको देखिन्छ । पाश्चात्य संस्कृति भएर पनि यसले पूर्वीय समाजमा एउटा संस्कारको रूप धारण गरिसकेको छ । एकापसमा मित्रता र मिलन गराउने भएकाले यसलाई सकारात्मक उत्सवका रूपमा लिन सकिन्छ । माया गर्नु, कसैलाई मायालु भावले हेर्नु, उपहार, शुभकामना आदानप्रदान गर्नु यस शुभदिनमा गरिने कार्य नै हुन् । त्यसैले प्रणय दिवसलाई प्रेमी–प्रेमिकाको बीचमा सीमित राखेर हेर्न मिल्दैन । यसलाई प्रेमको महान् उत्सवका रूपमा समेत लिन सकिन्छ भने आफ्नो क्षमता र रुचिअनुसारको उपहार स्वच्छ हृदयले आदानप्रदान पनि गर्न सकिन्छ ।