सेयर बजार उकालो लाग्दै «

सेयर बजार उकालो लाग्दै


सेयर बजारमा उछाल आउने क्रमले साताको अन्तिम दिन पनि निरन्तरता पाएको छ । लगातारको वृद्धिसँगै २६ सय अंकमाथि उक्लिएको सेयर बजार मापन गर्ने नेप्से परिसूचक बिहीबार पनि दोहोरो अंकको वृद्धिसँगै उकालो लागेको हो । बिहीबार नेप्से परिसूचक २५.२३ अंकले बढेर २६३६.६८ अंक उक्लिएको हो । बजारमा उछाल आउने क्रमले निरन्तरता पाएको दिन लगानीकर्ताहरू बैकिङ समूहको परिसूचकमा झुम्मिएका छन् ।
अघिल्लो दिन जस्तै बिहीबार पनि समग्र परिसूचक नै वाणिज्य बैंक र विकास बैंक समूहको परिसूचकले उचालेको छ । विकास बैंक समूहको परिसूचक २.४५ प्रतिशतले बढ्दा वाणिज्य बैंक समूहको परिसूचक १.२२ प्रतिशतले बढेको छ । बिहीबार बिमा, लघुवित्त र निर्जिवन बिमा समूहको परिसूचक भने घटेको छ । बाँकी सबै समूहको परिसूचक बढेको छ ।
कारोबार रकमको आधारमा एनआइसी एसिया बैंकको सबैभन्दा धेरै ५६ करोड एक लाख बराबरको सेयर किनबेच भएको छ । यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पनि ५० करोड ८२ लाख बराबरमा ९ लाख ३२ हजार ५ सय ३४ कित्ता सेयर सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य लगातार १० प्रतिशतले वृद्धि हुँदै आएको छ । बिहीबार कुल २ सय ६ कम्पनीको १ करोड ९६ कित्ता सेयर ८ अर्ब ७६ लाख २१ हजार रुपैयाँ बराबरमा कारोबार भएको छ । अघिल्लो दिन ८ खर्ब ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस दिन नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले १० प्रतिशतले कमाउदा इन्फ्रास्ट्रक्चर बैंकसहित ७ वटा कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्