बागमतीमा अविश्वास प्रस्तावको छलफल अघि बढेन «

बागमतीमा अविश्वास प्रस्तावको छलफल अघि बढेन

प्रदेशसभा बैठक दोस्रो पटक स्थगित, प्रचण्ड–माधव समूहको विरोध
हेटौंडा-
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्तापक्षले प्रस्तावमाथि छलफल गर्न आलटाल गरेको छ । मुख्यमन्त्री पौडल पक्षमा रहेका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक दोस्रोपटक पनि स्थगित गरेपछि नेकपाको प्रचण्ड–माधव पक्षीय सांसदहरु रुष्ट बनेका छन् ।
बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभामुख सानकुमार श्रेष्ठले विशेष कारण देखाउँदै बिहान ६ः३५ बजे अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका हुन् । यसअघि माघ १९ गतेका लागि तय भएको बैठक पनि सभामुखले अघिल्लो राति सूचना टाँसेर फागुन ५ गतेसम्मको लागि स्थगित गरेका थिए । पौडेलविरुद्ध परेको अविश्वासको प्रस्तावको प्रक्रिया अघि बढ्ने भएपछि त्यसलाई तत्काल रोक्नको लागि सत्तापक्षीय सांसदहरुकै दबाबको कारण प्रदेशसभा अनिश्चित बनेको हो ।
मुख्यमन्त्री पौडेलविरुद्ध गत पुस १० गते प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा पेश भएको थियो । अविश्वासको प्रस्ताव पेश भएसँगै स्थगित गरिएको प्रदेशसभाको र्बैठक हालसम्म बस्न सकेको छैन । नेकपाभित्रको विवादपछि नेकपाका प्रचण्ड–माधव समूहका ४५ जना सांसदहरुले प्रधानमन्त्री ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभामा नेकपाको ८० जना सांसद रहेका छन्् । कुल एक सय १० सांसद रहेको प्रदेशसभामा अविश्ववासको प्रस्ताव पारित गराउन ५६ जना सांसद आवश्यक छ । प्रस्ताव पारित गराउने वा फेल गराउने भन्ने निर्णायक भूमिकामा रहेको कांग्रेस मौन रहेको छ । उसँग २२ मत र साना दलसँग ८ मत मात्र रहेका छन् ।

प्रचण्ड–माधव समूहको विरोध
अविश्वासको प्रस्तावमाथि छलफल गर्न आलटाल गर्ने उद्देश्यले प्रदेशसभाको बैठक पटकपटक सारिएपछि नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव पक्षका सांसदहरुले विरोध गरेका छन् । बिना कारण सूचना टाँसेर बैठक स्थगित गरिनु संघीयताको मर्मविपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । प्रचण्ड–माधव समूहले प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारको दबाबमासभामुखले प्रदेशसभाको बैठक पटकपटक स्थगति गर्नु आपत्तिजनक भएको बताएको हो ।
दाहाल नेपाल पक्षबाट संसदीय दलको नेता चयन भएकी अष्टलक्ष्मी शाक्यले वर्तमान प्रदेश सरकार अल्पमतमा रहेको भन्दै सरकारको संरक्षण नगर्न र तत्काल बैठक बोलाउन आग्रह गरिन् । लामो समयसम्म प्रदेशसभा सञ्चालन नहुँदा सांसदहरु विजनेशबिहीन हुनुपरेको उनले बताइन् । ‘हिजो (मंगलबार) सर्वदलीय बैठकपश्चात् सभामुखले प्रदेशसभा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो, सत्तापक्षको दबाबका कारण पुनः बैठक स्थगित गरिएको छ । यो गलत हो ।’ शाक्यले भनिन् ।
त्यसैगरी प्रचण्ड–माधव समूहका संसदीय दलका उपनेता शालिकराम जम्मकट्टेलले सर्वपक्षीय निर्णयको विरुद्धमा गएर सभामुख श्रेष्ठले प्रदेशसभालाई अनिर्णयको बन्दी बनाएको आरोप लगाए । एक्कासी सदन स्थगित गर्नु धोका भएको उनको टिप्पणी थियो । सभामुख श्रेष्ठले संवैधानिक व्यवस्था र प्रदेशसभा नियमावली उल्लंघन गरेको भन्दै जम्कट्टेलले सभामुखविरुद्ध कसरी जाने भन्नेबारे आफूहरु आन्तरिक छलफलमा जुटको बताए ।

प्रतिक्रिया दिनुहोस्