बर्डफ्लु नियन्त्रणमा सक्रियता

हेटौंडा-काठमाडौंको तार्केश्वर नगरपालिकाको दुईवटा वडामा बर्डफ्लु रोग संक्रमण पुष्टि भएपछि अन्यत्र फैलन नदिन सम्बन्धित निकायले सक्रियता बढाएको छ । बागमती प्रदेशस्तरीय बर्डफ्लु रोग समन्वय समितिको बुधबार हेटौंडामा बसेको बैठकले विभिन्न निकायका मातहतका कार्यालयलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग समन्वय गरी आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिने निर्णय गरेको हो ।
तीन वटै सुरक्षा निकायका प्रदेशस्तरीय प्रतिनिधि, निर्देशनालय तथा पशु प्रयोगशालाका प्रमुख, मन्त्रालयका सचिव, सम्बन्धित महाशाखाका प्रमुख, कुखुरा व्यवसायी संघका प्रतिनिधिलगायतको सहभागितामा बसेको बैठकले ३ वटा निर्णय गरेको छ । प्रदेशको मातहतमा रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग समन्वय गरी रोग नियन्त्रणमा सहकार्य गर्न र आवश्यक सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिने, रोग नियन्त्रण तथा रोकथामका लागि विभिन्न सञ्चार माध्यमहरुद्वारा जनचेतनामुलक सूचना प्रकाशन प्रसारण गर्ने र सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग समन्वय र सहकार्यका लागि स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा. रामप्रकाश प्रधानले जानकारी दिए ।
गत माघ १६ गते तारकेश्वर नगरपालिका–७ स्थित साइँलाखोलामा कुखुरामा बर्ड फ्लु रोग संक्रमण देखिएको थियो । बर्डफ्लु पुष्टि भएपछि त्यस वरपरका २ हजार पाँचसय ४४ वटा पंक्षी, ५ सय ५२ वटा अण्डा र ७५ किलो दाना नष्ट गरिएको थियो । त्यसैगरी माघ २८ गते तारकेश्वर नगरपालिकाकै १ नम्बर वडामा पनि माघ २८ गते हाँस र लोकल कुखुरामा बर्डफ्लु पुष्टि भएपछि त्यस वरपरका एक हजार चार सय ६३ वटा पंक्षी नष्ट गरिएको निर्देशनालयका निमित्त निर्देशक प्रधानले बताए । १५ हप्तासम्म काठमाडौंका विभिन्न स्थानीय तहमा नमूना संकलन गरी परीक्षण जारी राखिनेछ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी सचिव मतिना जोशी वैद्यले प्रदेशका अन्य स्थानमा पनि जुनसुकै बेला बर्डफ्लु फैलनसक्ने भएकाले आवश्यक सचेतता अपनाउनुपर्नेमा जोड दिइन् । सरोकारवाला सबै निकायलाई उच्च सतर्कताका साथ काम गर्न अनुरोध गरिएको उनले बताइन् ।