कोरोना कोषबाट फेरि सवा ११ करोड निकासा «
Logo

कोरोना कोषबाट फेरि सवा ११ करोड निकासा

सरकारले कोभिड–१९ संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने पूर्वाधार निर्माण र अन्य अत्यावश्यकीय स्वास्थ्य सेवाका लागि ११ करोड ३९ लाख रुपैयाँँ निकासा गरेको छ । यसमध्ये कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका बिरामीहरूको शव व्यवस्थापन गर्नमात्र ३ करोड ६० लाख रुपैयाँ निकासा गरिएको छ । यो रकम संघीय, प्रादेशिक र जिल्लास्तरमा कोभिड १९ को उपचारमा काम गरिरहेका १८ अस्पताललाई प्रदान गरिएको हो ।
कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको पछिल्लो बैठकले शव व्यवस्थापनका लागि प्रतिअस्पताल २० लाख रुपैयाँँका दरले अनुदान वितरण गरेको छ । शव व्यवस्थापनका लागि अनुदान पाउनेमा कोशी अस्पताल विराटनगर, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, गजेन्द्रनारायण अस्पताल सप्तरी, शुक्रराज ट्रपिकल अस्पताल टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज रहेका छन् । यसैगरी नेपाली सेना अस्पताल छाउनी, नेपाल एपीएफ अस्पताल बलम्बु, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, भरतपुर अस्पताल, वीर अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल र डडेलधुरा अस्पताल रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रचलित कानुन एवम् स्वीकृत मापदण्डबमोजिम भुक्तानी गर्ने, लेखा राख्ने, लेखापरीक्षण गराउने र सोको प्रतिवेदन समेत गर्ने रकम निकासा गरिएको जानकारी दिए । कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका विरामीहरूको शव व्यवस्थापनका लागि उपयुक्त फ्रिजरसहितको पूर्वाधार विकासको व्यवस्थापन गर्ने प्रयोजनका लागि सो अस्पताललाई ३ करोड़ ६० लाख रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ । यसअघि कोषमार्पmत सरकारले १ अर्ब ४० करोडभन्दा बढी अनुदान वितरण गरिसकेको छ । यसबाहेक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङलाई अक्सिजन प्लान्ट निर्माण तथा जडानका लागि २ करोड ५० लाख उपलब्ध गराउने निर्णय भएको छ । निजामती अस्पतालमा सेभर केस मेनेजमेन्टको लागि आवश्यक पर्ने ६ बेडको भेन्टिलेटर सहितको आईसीयू स्थापना गर्नका लागि २ करोड २० लाख माग गरेकामा अस्पतालले सो कार्यका लागि बोलपत्र आह्वान गरी प्राप्त हुन आएका प्रस्ताव मूल्यांकनबाट २ करोड १५ लाख ९४ हजार ३ सय स्वीकृत भएकोले सोही अनुसारको स्वीकृत रकम अस्पताललाई उपलब्ध गराइएको छ ।
निकासा भएको बजेटबाट नेपाल एपीएफ अस्पताललाई मोलेकुलर ल्याबमा पीसीआर स्वाब सुरक्षित राख्ने प्रयोजनका लागि माइनस ७०÷८० डिग्री तापक्रम क्षमताका एयर कुल्ड तथा फ्रिजर जडान गर्नको २४ लाख ८६ हजार उपलब्ध गराइएको छ । यसरी नै सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशले अक्सिजनको उत्पादन तथा आपुर्ति प्लान्टको लागि माग गरेको ८५ लाख रकम उपलब्ध गराउने निर्णय भएको छ । यो रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको असारको निर्णयानुसार सुदूरपश्चिम प्रदेशलाई आइसोलेसन सेन्टर (वार्ड तथा बेडहरू) को स्थापना र निर्माण, मर्मत तथा सुधार गरी सञ्चालन र व्यवस्थापन गर्न प्रदान गरिएको ६ करोडबाट खर्च गर्ने गरी सहमति दिइएको हो ।
समितिको भदौको निर्णयानुसार लमजुङ अस्पताललाई १० बेडको ४ भेन्टिलेटरसहित आईसीयू थप गरी सञ्चालन गर्न २ करोड उपलब्ध गराइएकोमा सो अस्पताल गैरसरकारी संस्था मार्फत् सञ्चालित सामुदायिक अस्पताल भएको हुँदा कोषबाट प्रदान गरिएको रकम निकासा रोक्का राखिएको थियो । तर, गण्डकी प्रदेश मन्त्रिपरिषद्को कात्तिकको निर्णयबाट उक्त अस्पताल प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेकोले समितिको सोही मितिको निर्णयवाट प्रदान गरिएको रकम स्वास्थ्य कार्यालय, लमजुडमार्फत सोही प्रयोजनमा खर्च गर्न स्वीकृति दिने निर्णय समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्