वृद्धावस्थामा मौरीपालन मोह

अर्घाखाँची-जसले मह काढ्छ, उसले हात चाट्छ भन्ने चर्चित नेपाली उखान हो । उखान जस्तै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढिकुराका कुलराज खनाल दैनिक मह काढ्नमा व्यस्त हुन्छन् ।
मौरीपालन सुरु गर्नुअघि उनलाई यो व्यवसायका बारेमा केही पनि जानकारी थिएन । तर व्यवसायमा लगनशीलता कायम राख्न सके सफल हुन सकिने उदाहरण आफू बनेको उनी बताउँछन् । २०४५ सालमा उनले व्यवसाय सुरु गरेका हुन् । तत्कालीन मन्त्री ढुण्डीराज शास्त्रीले उनको व्यवसायको उद्घाटन गरेका थिए । मौरीपालन व्यवसाय उद्घाटन गर्न मन्त्री नै आएपछि उनी यसबाट बढी प्रभावित भएको बताउँछन् ।
प्रत्येक वर्षको चैत, वैशाख, असोज, कात्तिक र मंसिरमा बढी मह उत्पादन हुने गरेको छ । अहिलेको सिजनमा एकहप्तामा एउटा आधुनिक घारबाट ५ किलो उत्पादन गर्ने गरेका छन् भने मुढे घारमा २ किलो मह उत्पादन गर्छन् । मौरीले मुढे घारमा भन्दा आधुनिकमा धेरै मह जम्मा गर्ने गरेको उनले बताए ।
उनीसँग अहिले ४२ आधुनिक घार र १० वटा मुढेघार छन । उनले वार्षिक २ क्विन्टल मह उत्पादन गर्ने लक्ष्य राखेका छन् । जिल्लामै आफूले पहिलो पटक मौरी पालन व्यवसाय गरेकाले अन्य स्थानबाट पनि सिक्न र अवलोकन गर्न आउने गरेको उनले बताए । उमेरले पाका भएका खनाल भन्छन्, “मौरीको महले काँडो निस्कने, रुघाखोकी सञ्चो हुने, शरीरलाई फाइदा गर्छ ।” उनले मौरीपालनका बारेमा सामान्य ज्ञान लिएर व्यवसाय गर्न उत्प्रेरित गर्ने गरेको बताए । उनको मौरीपालन व्यवसाय अवलोकन गर्न अमेरिका, जर्मनी, फ्रान्स, सुडान, नर्वेलगायतका देशबाट पनि मानिसहरू आएका छन् ।
उनको व्यवसायलाई छोरा शुप्रकाश खनालले पनि साथ दिएका छन् । उनले पशुपालन, तरकारी, फलफूल खेती, कफी खेतीसमेत गरेका छन् । खनालले कफी संकलन केन्द्र पनि स्थापना गरेका छन् । यसबाट राम्रो आम्दानी हुने गरेको र आफू सन्तुष्ट रहेको उनले बताए ।
जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत थिरलाल गैरेले अर्घाखाँचीमा वार्षिक ९ मेट्रिक टन मह उत्पादन हुने गरेको बताए । यसबाट किसानलाई ९० लाख रूपैयाँ आम्दानी हुने गरेको छ । जिल्लामा मह उत्पादन प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्लाभर चिउरी, सुन्तला, लिची, अम्बालगायत फूल फुल्ने रुख प्रशस्त भएकाले मौरीपालन व्यवसाय फस्टाउँदै गएको उनले बताए । ठाडा, ढिकुरा, धनचौर, नुवाकोट, अर्घातोष, सुवर्णखाल लगायतका साविकका १५ वटा गाविसलाई मौरी पकेट क्षेत्र घोषणा गरिएको छ ।