प्रधानमन्त्रीको कदमविरुद्ध संयुक्त आन्दोलन गरौं : पौडेल «

प्रधानमन्त्रीको कदमविरुद्ध संयुक्त आन्दोलन गरौं : पौडेल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन गर्नुपर्ने आवश्यककता औंल्याएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो आवश्यकता औंल्याएका हुन् । वर्तमान प्रधानमन्त्री ओलीलाई अहिले ‘काशी जाने, कुतीको बाटो’ भन्ने उखान चरितार्थ भएको पनि उनले टिप्पणी गरेका छन् ।
उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अहिले अदालतमा विचाराधिन रहेको बताए । ‘यो विषयमा बहस चलिरहेको छ । निर्वाचन आयोगलाई जबरजस्त चुनावमा जानको लागि सरकारले ताकेता गरेको सुनेका छौं,’ उनले भने, ‘यो कदम असंवैधानिक छ । निर्वाचन आयोगले आफैले कुन कुन दलले भाग लिने भनेर टुंगो लगाएको छैन । निर्वाचन हुनसक्ने सम्भावना छैन । निर्वाचन हुँदैन ।’
नेता पौडेलले प्रधानमन्त्री ओलीले निर्वाचन गर्नको लागि यो स्टेप नचालेको पनि दाबी गरे । उनले भने, ‘निर्वाचन गर्नको लागि यो स्टेप चालिएको होइन । मिति नतोकिकन प्रतिनिधिसभा भंग गर्न पाइँदैन । उहाँले सरकार लम्ब्याउने र निरंकुश प्रणाली लागू गर्नको लागि यो कदम चाल्नुभएको हो ।’
उनले चुनाव भयो भने कसले जित्छ वा कसले हार्छ भनेर अहिले हिसाबकिताब गर्न नहुने पनि सुनाए । उनले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको तीन वर्ष उपलब्धिविहीन भएको दाबी गरे । यद्यपि प्रधानमन्त्री ओलीले धेरै राम्रा काम भएको भनेर फेहरिस्त सुनाउने गरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्