धान उत्पादनमा वृद्धि र चामल आयात «

धान उत्पादनमा वृद्धि र चामल आयात

चालू आवमा कोरोना कहरका कारण देशको आर्थिक वृद्धिदर धेरै घटिरहेका बेला धान उत्पादन वृद्धिले केही राहत हुने अनुमान गरिएको छ ।

विश्वभर करिब ९० प्रतिशतभन्दा बढी धान उत्पादन तथा खपत एसियाली देशमा हुने गरेको छ । यसरी संसारभरमा ६० करोड मेट्रिक टनको हाराहारीमा धान उत्पादन हुने अनुमान छ । अर्कातिर हेर्दा संसारभर ९० प्रतिशतभन्दा बढी धान उत्पादन तथा खपत एसियाली देशमा हुने गरेको छ । त्यसकारण एसियालीहरूलाई एकैसाथ ल्याउन सेतुको कामसमेत गरेको छ धान खेतीले । हाम्रो देशको कुरा गर्ने हो भने ६० मिटर उचाइको झापाको कचनकवलदेखि ३ हजार ५० मिटर उचाइको जुम्लाको छुमचौरसम्म धान खेती गरिन्छ । देशमा खेती गरिएको कुल जमिनको ३० लाख ९१ हजार हेक्टर अर्थात् २१ प्रतिशत रहेको छ ।
त्यसमध्ये नेपालभरि गत वर्ष १४ लाख ५८ हजार ९ सय १५ हेक्टरमा धान खेती भएकोमा यस पटक वृद्धि भई १४ लाख ७३ हजार ४ सय ७५ हेक्टर अर्थात् गत सालभन्दा १ प्रतिशतले बढ्न पुगेको हो । यसरी देशमा गत वर्ष ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिक टन धान उत्पादन भएको थियो । यस चालू आर्थिक वर्षमा भने ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन धान उत्पादन हुने अनुमान छ । जुन गत वर्षको दाँजोमा १.२८ प्रतिशत हो । जुन गत वर्षभन्दा चैते धान र वर्षे धान दुवै गरी ७० हजार ८ सय ३२ टन धेरै फलेको छ । यो वर्ष फलेको धान अहिलेसम्मकै उच्च हो । तर, यो वर्ष धान उत्पादन बढे पनि आत्मनिर्भर हुन अझै १० लाख टन अपुग रहेको देखिएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार यसपालि उत्पादकत्व हालसम्मकै सबैभन्दा बढी ३.८२ प्रतिशत पुगेको छ, जुन गत वर्षभन्दा ०.२८ प्रतिशतले बढी हो । यसरी क्षेत्रफलमा वृद्धि भएका कारण धान उत्पादनमा पनि वृद्धि भएको हो । मूलतः कृषिले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब २७ प्रतिशत योगदान गरेको छ । त्यसमा करिब ७ प्रतिशत धानको योगदान छ ।
चालू आर्थिक वर्षमा कोरोना कहरका कारण देशको आर्थिक वृद्धिदर धेरै घटिरहेका बेला धान उत्पादन वृद्धिले केही राहत हुने अनुमान गरिएको छ । यसरी धानको उत्पादन बढेसँगै चालू आर्थिक वर्षको पाँच महिनामा १८ अर्ब रुपैयाँबराबरको चामल आयात भएको भन्सार विभागको तथ्यांक छ । मुलुकमा गत चैत ९ गतेदेखि केही समयसम्म लकडाउनको अवस्था थियो । सोही समयमा पनि कामदारहरूको सहज उपलब्धता, प्रदेशगत कृषि कार्यालयहरूले बीउबिजन उपलव्धता सहजीकरण गरेको र बढी क्षेत्रफलमा धान रोपाइँ भएकाले पनि उत्पादन बढ्न गएको मन्त्रालयको भनाइ छ । त्यसका साथसाथै समयमा वर्षात हुनुका साथै उन्नत, हाइब्रिड बीउबिजनको उपलब्धताले पनि उत्पादन बढाउन मद्दत पुगेको हो भन्ने सम्बन्धित निकायको भनाइ रहेको छ । पर्याप्त सिँचाइको व्यवस्था नहुँदा विभिन्न ठाउँमा आकाशे पानीको भरमा धान रोप्नुपर्ने बाध्यता छ ।
देशको प्रदेशगत रूपमा गत आर्थिक वर्ष २०७६÷७७ मा क्षेत्रफल तथा उत्पादनलाई अवलोकन गर्ने हो भने प्रदेश १ मा ३ लाख २४ हजार ७ सय ४० हेक्टरमा खेती भएको थियो । जसमा १२ लाख ५४ हजार ९ सय ४५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
त्यसरी नै प्रदेश २ को ३ लाख ७७ हजार ६ सय ११ हेक्टरमा १४ लाख २० हजार ४ सय ३६, बागमती प्रदेशको १ लाख ३१ हजार ३० हेक्टरमा ५ लाख १० हजार २ सय १, गण्डकी प्रदेशको १ लाख ८ हजार ६ सय ९७ हेक्टरमा ४ लाख ८ हजार ७ सय ३७, लुम्बिनी प्रदेशको ३ लाख २ हजार ७ सय ४३ हेक्टरमा ११ लाख ८५ हजार ४ सय ९३, कर्णाली प्रदेशको ३८ हजार ८ सय ८६ हेक्टरमा १ लाख ३४ हजार ४ सय ७ र सुदूरपश्चिम प्रदेशको १ लाख ७५ हजार २ सय ८ हेक्टरमा ६ लाख ३६ हजार ६ सय ५९ मेट्रिक टन धान उत्पादन भएको थियो । यसरी मुलुकभरि गत वर्ष १४ लाख ५८ हजार ९ सय १५ हेक्टरमा खेती भएको थियो भने यसमा उत्पादन भने ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिक टन उत्पादन भएको थियो । यसै सिलसिलामा चालू आर्थिक वर्ष २०७७-०७८ मा क्षेत्रफल तथा उत्पादनलाई समग्र रूपमा हेर्दा सबैभन्दा बढी उत्पादन प्रदेश २ मा भएको छ । प्रदेश २ मा ३ लाख ८२ हजार २ सय ७५ हेक्टरमा खेती भएको थियो ।
जसमा १४ लाख ३२ हजार ८ सय १९ मेट्रिक टन धान उत्पादन भएको छ । त्यसपछि दोस्रो स्थानमा प्रदेश १ को ३ लाख ३० हजार ४ सय ३८ हेक्टरमा १२ लाख ७५ हजार ५ सय ५४, बागमती प्रदेशको १ लाख ३२ हजार ८ सय १३ हेक्टरमा ५ लाख ९ हजार ५ सय ९०, गण्डकी प्रदेशको १ लाख ६ हजार ५ सय ४१ हेक्टरमा ३ लाख ९७ हजार ९४, लुम्बिनी प्रदेशको ३ लाख ७ हजार १ सय ४९ हेक्टरमा १२ लाख २४ हजार ४ सय ९७, कर्णाली प्रदेशको ३९ हजार ४१ हेक्टरमा १ लाख ३७ हजार १ सय ६५ र सुदूरपश्चिम प्रदेशको १ लाख ७५ हजार २ सय १८ हेक्टरमा ६ लाख ४४ हजार ९ सय ९१ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । यसरी प्रदेशगत रूपमा आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ को क्षेत्रफल तथा उत्पादन र उत्पादन गत आर्थिक वर्षको घटीबढी तलको तालिकामा विस्तृत रूपमा दिइएको छ ।

समष्टिगत रूपमा विश्लेषण गर्ने हो भने विगतका पाँच वर्षमा राष्ट्रमा भएको धान उत्पादनको तथ्यांकलाई अवलोकन गर्दा आर्थिक वर्ष २०७३-७४ का तुलनामा यस वर्षको उत्पादन ७.४८ प्रतिशतले वृद्धि भएको अनुमान छ । कुल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशत क्षेत्रफलमा धान खेती हुन्छ । यो वर्ष धानको उत्पादकत्व पनि ३.८२ टन प्रतिहेक्टर पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो । गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ३.८० टन थियो ।
गत सालको तुलनामा यस वर्ष धानको उत्पादकत्व ०.५३ प्रतिशतले बढ्न गएको छ । जुन धानको उत्पादन विगत आर्थिक वर्ष २०७४-७५ मा ५१ लाख ५१ हजार ९ सय २५, २०७५-०७६ मा ५६ लाख १० हजार ११ र २०७६-७७ मा ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष सबैभन्दा धेरै प्रदेश नम्बर २ मा झन्डै १४ लाख ३३ हजार टन धान फलेको थियो । त्यसपछि प्रदेश नम्बर १ मा लगभग १२ लाख ७६ हजार टन धान फलेको थियो । सबैभन्दा थोरै कर्णाली प्रदेशमा १ लाख ३७ हजार टन धान फलेको थियो ।
यस वर्ष धानको उत्पादन वृद्धि हुनाका कारणहरूमा खेतीयोग्य जमिन बढेकाल,े उन्नत बीउले ९५ प्रतिशतभन्दा बढी क्षेत्र ढाकेकोले पनि उत्पादन बढ्न गएको, रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारतलगायत अन्य मुलुकबाट घर फर्केका मानिसहरू थिए । जुन कोरोनाको महामारीको कारण पनि थियो । घर फर्केका खेती गर्ने जनशक्ति विदेश पलायनको कारणले गर्दा जग्गाजमिन बाँझो रहने, धानबालीको सिजनमा गत सालभन्दा न्यून युरिया आपूर्ति हुँदा पनि तराई–मधेसका किसानले सीमापारिबाट अनौपचारिक रूपमा रासायनिक मल ल्याएर असहजता पूर्ति गरिएको थियो ।
त्यसैगरी प्रदेशगत कृषि कार्यालयहरूबाट समयमा बीउबिजन, मल, औजारको उपलब्धता, गत वर्षको तुलनामा यसपालि ३१ प्रतिशतभन्दा बढीले वर्षा भएको र कोरोना महामारीका कारण सहरका मान्छे गाउँ पुगेका कारणले गर्दा पनि धान खेतीको क्षेत्रफलमा वृद्धिका साथै उत्पादन पनि वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्