प्रदेश–१ को पूर्वाधार विकासमा लगानी गर्न प्राधिकरण र निफ्राबीच समझदारी «

प्रदेश–१ को पूर्वाधार विकासमा लगानी गर्न प्राधिकरण र निफ्राबीच समझदारी

विराटनगर-प्रदेश–१ को सार्वजनिक–निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) नेपाल पूर्वाधार विकास बैंकबीच विभिन्न परियोजना अघि बढाउन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्राधिकरण र निफ्राबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । मंगलबार प्रदेश–१ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश–१ को सरकारका तर्फबाट प्राधिकरणका निर्देशक डा. सरोज कोइराला र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरे ।
हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले ६० वटा परियोजनालाई प्राथमिकताका आधारमा सूचीकृत गरेको जानकारी दिए । “तत्कालका लागि ६० वटा परियोजना पहिचान गरेका छौं । यसलाई चाँडै नै मूर्त रूपमा दिन्छौं,” मुख्यमन्त्री राईले भने, “यी परियोजना पूरा गर्न निजी र बाह्य लगानी आवश्यक छ । आजको हस्ताक्षरले योजना कार्यान्वयनका लागि आधार तयार भएको छ ।” निजी र सरकारी लगानीमा केही परियोजनाहरू अगाडि बढिरहेको उनले जानकारी दिए ।
मुख्यमन्त्री राईले स्वदेशी र विदेशी लगानीकर्ताको आकर्षण प्रदेश–१ मा बढ्दै गएको प्रस्ट्याए । उनले भने, “प्रदेश–१ मा जलस्रोत, पर्यटन, कृषि र पूर्वाधारको प्रचुर सम्भावना छ । त्यही भएर पनि स्वदेशी र विदेशी लगानीकर्ता प्रदेश–१ मा लगानी गर्न आकर्षि भएका छन् ।”
कोभिडका कारण लगानी सम्मेलन गर्न नसकेको उनले बताए । कोभिडको असर कम हुँदै गएकाले अनुकूल समयमा लगानी सम्मेलन गर्ने मुख्यमन्त्री राईले जानकारी दिए । उनले प्रदेश सरकारले मात्रै विकास आयोजनाहरूलाई पर्याप्त लगानी जुटाउन नसक्ने भएकाले निजी क्षेत्रसँग पनि साझेदारी गरी लगानी जुटाउने प्रयास स्वरूप प्रदेश–१ सरकारले नेपाल पूर्वाधार विकास बैंकसँग समझदारी गरेको बताए । ‘स्वच्छ सुखी र सम्मुनत प्रदेश’ बनाउन निजी क्षेत्र र वैदेशिक लगानीको समेत आवश्यकता पर्ने उनको भनाइ छ ।
प्राधिकरण प्रदेश–१ का कार्यकारी निर्देशक डा. सरोज कोइरालाले प्रदेश सरकारले पहिचान गरेका परियोजनामा वित्तीय व्यवस्थापनमा समस्या नहोस् भन्ने उद्देश्यले नेपाल पूर्वाधार विकास बैंकसँग लगानी सम्झौता गरेको बताए । उनले पूर्वाधार विकास बैंकसँग सम्झौता भएसँगै प्रदेश–१ मा लगानीकर्ता आकर्षित हुने उनको दाबी छ । “प्रदेशको पूर्वाधार विकासमा यो समझदारी एउटा कोशेढुंगा सावित भएको छ,” उनले भने । निर्देशक डा. कोइरालाले प्रदेश–१ मा कोशी रिफ्रेसमेन्ट सेन्टर, बीमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशनलगायतका केही पूर्वाधारका परियोजनाहरूको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भइसकेको जानकारी दिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खतिवडाले निजी क्षेत्र लगानी गर्न इच्छुक हुने नहुने बुझेर मात्रै परियोजना अघि बढाइने बताए । खतिवडाले भने, “पूर्वाधार विकास बैंकले विभिन्न दृष्टिकोणबाट परियोजनाको अध्ययन गरेर मात्रै परियोजना अघि बढाउँछ ।” खतिवडाले पूर्वाधार विकास बैंक नयाँ भएको र यसले पहिलोपटक प्रदेश सरकारसँग पूर्वाधारमा लगानी गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी गराए ।
बैंकले स्वदेशको मात्रै नभई विदेशबाट समेत लगानी भित्र्याउने प्रक्रिया अघि बढाएको उनले बताए । उनले पूर्वाधार विकास बैंकले लण्डन स्टकएक्सचेञ्जमा सूचीकृत भई बण्ड जारी गर्ने तयारी गरेको जानकारी दिए । उनका अनुसार बैंकले १० अर्ब रूपैयाँको लगानी प्रतिबद्धता जनाइसकेको र थप १० अर्ब लगानीका लागि अध्ययन गरिरहेको छ ।
बैंकले संघीय, प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरी लगानी गर्ने योजना बनाएको खतिवडाको भनाइ थियो । सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित निफ्राले प्रदेश–१ सँग समझदारीपत्रमा हस्ताक्षर गरेसँगै अरू प्रदेश सरकार र पालिकासँग समेत सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्