बंगुरपालनमा रमाउँदै युवा «

बंगुरपालनमा रमाउँदै युवा

६० हजारमा फार्म भाडामा लिएर बंगुरपालन गरिरहेका युवाहरूले अब जमिन नै भाडामा लिएर व्यवसाय गर्ने सोच बनाइरहेका छन् ।

सिन्धुली-सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित धुराफाँटका युवाले सामूहिक बंगुरपालन सुरु गरेका छन् । गत जेठबाट व्यवसाय सुरु गरेका युवाले अहिले ३९ वटा बंगुर पालेका छन् । ।
दुधौली नगरपालिका–३ डकाहाका ऋतिक लामा व्यवसाय सुरु गरेपछि दैनिकी नै फेरिएको बताउँछन् । उमेरले भरखर १८ लागेका ऋतिक बिहानदेखि बेलुकासम्म बंगुरको हेरचाहमा नै व्यस्त हु्न्छन् । “पहिले पढ्न गयो, बस्यो नभए डुल्नुबाहेक केही काम हुँदैन थियो,” उनले भने, “अहिले त भ्याइनभ्याई छ, बंगुरलाई दाना पानी दियो, सफा ग-यो दिन ढल्किहाल्छ ।”
उमेर सानै भए पनि केही त गर्नुपर्छ भन्ने सोच भएका ऋतिकलाई व्यवसाय गर्न उनका सँगै पढेका साथी अस्वीन र अस्वीनका साथी प्रेमले साथ दिएका छन् । ३ जनाको संयुक्त लगानीमा सुरु गरेको व्यवसायमा तिनै जना पालैपालो फार्ममा काम गर्छन् ।
तीनपाटन गाउँपालिका–२ बेलगारीका अस्वीन र सर्लाहीका प्रेम तीनैजना ३९ वटा बंगुरलाई आहारा हाल्ने, खोर सफा गर्ने, रोग लागे औषधि खुवाउनेलगायतका काम मिलेर गर्ने गरेको रितिक बताउँछन् । “अस्वीन र प्रेमले पनि बंगुरपालन गर्ने योजना बनाएका रहेछन्, उनीहरूले मलाई पनि बंगुरपालन गरौं भनेर सल्लाह गरे,” ऋतिकले भने, “म पनि १२ को परीक्षा दिएपछि केही गरौँ भन्ने सोचमा थिएँ । तीन जनाको कुरा मिल्यो । त्यसपछि व्यवसाय सुरु ग¥यौं ।”
३९ वटा बंगुरका पाठा किन्न तीन जनाले एक–एक लाख रूपैयाँ लगानी गरेका छन् । “परिवारको सहयोग मै व्यवसाय सुरु गरेका हौं, अरुले त हामीलाई कसले पत्याउनु रु,” ऋतिकले भने, “फार्म वर्षको ६० हजार रूपैयाँ तिर्ने गरी भाडामा लिएका छौं, आम्दानी नभएसम्म त परिवारको साथ विना कसरी चल्नु रु”
६० हजारमा फार्म भाडामा लिएर बंगुरपालन गरिरहेका युवाहरूले अब जमिन नै भाडामा लिएर व्यवसाय गर्ने सोच बनाइरहेका छन् । “भविष्य देखेरै बंगुरमा लगानी गरेका हौं,” उनीहरू भन्छन्, “अपेक्षाअनुसार आम्दानी भयो भने त अरु युवालाई पनि रोजगारी दिने गरी व्यवसाय गर्छौं, कति आम्दानी हुन्छ यो लटको बंगुर बेचेपछि मात्र थाहा हुन्छ ।”
पढाइसँगै व्यवसायलाई पनि अगाडि बढाउने उनीहरूको सोच छ । पढेका मान्छेले जागिर नै खानुपर्छ भन्ने विचार चिर्नका लागि पनि बंगुरपालन गरेको उनीहरूको भनाइ छ ।
उनीहरू जस्तै जिल्लाका अन्य युवामा पनि पछिल्लो समय आफ्नै ठाउँमा बंगुरपालन गर्दै स्वरोजगार बन्ने क्रम बढ्दो छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सिन्धुलीको तथ्यांकअनुसार जिल्लामा ८२ वटा व्यावसायिक बंगुर फार्म दर्ता छन् ।
कमलामाई नगरपालिका, दूधौली नगरपालिका, मरिण गाउँपालिकालगायतका क्षेत्रका किसान तथा युवा बढी मात्रामा बंगुरपालनमा संलग्न रहेको तथ्यांकले देखाएको छ । ग्रामीण सडकहरू निर्माणसँगै उत्पादन भएका बंगुर बजारसम्म लैजान सहज भएकाले पनि बंगुरपालनमा आकर्षण बढेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सिन्धुलीका वरिष्ठ पशु विकास अधिकृत पशु चिकित्सक कल्याण श्रेष्ठले बताए ।

कृञ्जला पुलामी

प्रतिक्रिया दिनुहोस्