लोडसेडिङ घटे पनि इन्धन आयात झन् बढ्यो

मुलुकमा लोडसेडिङ कम हुँदै गए पनि इन्धनको आयात भने झनै बढेको छ । गत वर्षदेखि लोडसेडिङको समस्या कम हुँदै गए पनि इन्धनको आयात भने बढेको हो । विकास निर्माणको कामले गति लिएपछि इन्धनको आयात बढेको बताइएको छ ।नेपाल आयल निगमले गतवर्षदेखि लगातार इन्धनको आयातमा वृद्धि भइरहेको जनाएको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले लोडसेडिङ कम भए पनि इन्धनको आयात झनै बढ्दै गएको बताए । “काठमाडौं उपत्यकामा पूर्णरूपमा लोडसेडिङ अन्त्य भए पनि निगमले त्यसको अनुभूति गर्न पाएको छैन,” निमित्त कार्यकारी निर्देशक भट्टराईले भने, “स्थानीय तहमा विकास निर्माणको काम तिव्ररूपमा भइरहेकाले इन्धनको खपत बढ्दै गएको देखिन्छ ।”
लोडसेडिङ कम भएपछि खाना पकाउने एलपी ग्यास र डिजेलको खपत घट्नुपर्ने भए पनि आयात बढ्दै गएको निगमको भनाई छ । निगमका अनुसार सवारी साधनको प्रयोग बढ्दै गएकाले इन्धनको माग वर्षेनी १५ देखि २० प्रतिशतले बढ्दै गएको छ ।
निगमका अनुसार आर्थिक वर्ष २०७१-७२ मा १६ लाख २५ हजार १ सय ६७ किलोलिटर इन्धन आयात भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७२-७३ मा नाकाबन्दीका कारण १३ लाख ३१ हजार १ सय ५६ किलोलिटर इन्धन आयात भएको थियो । आर्थिक वर्ष २०७३-७४ मा २२ लाख १८ हजार ७ सय ४२ किलोलिटर इन्धन आयात भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा ९ लाख ५६ हजार चार सय ६९ किलोलिटर इन्धन आयात भएको निगमले जानकारी दिएको छ ।
निगमका अनुसार जुलाईमा १ लाख ९६ हजार ३ सय ५४ किलोलिटर इन्धन आयात भएको छ । यस्तै अगस्टमा १ लाख ५९ हजार ६ सय ७७ किलोलिटर, सेप्टेम्बरमा १ लाख ६८ हजार, अक्टोबरमा १ लाख ९३ हजार ७ सय ८९ किलोलिटर इन्धन आयात भएको छ । नोभेम्बरमा इन्धनको आयात बढेर २ लाख ३८ हजार ५ सय ६९ र डिसेम्बरमा २ लाख २७ हजार ५ सय २ किलोलिटर इन्धन आयात भएको छ । हालै सम्पन्न भएको संघ र प्रदेशको चुनावले गर्दा पनि इन्धनको आयात उलेख्य वृद्धि भएको निगमको भनाई छ । लोडसेडिङ घटे पनि प्रत्येक महिनामा इन्धनको आयात दर बढ्दै गएको छ । निगमका अनुसार हाल मासिक सरदर ७५ देखि ८० हजार किलोलिटर डिजेलको माग छ । त्यस्तै पेट्रोल मासिक २५ सयदेखि ३ हजार किलोलिटर, हवाई इन्धन १२ देखि १५ हजार किलोलिटर र ग्यास २५ देखि ३० हजार टन माग छ ।