Logo

अझै एक साता बढी चिसो

अझै एक सातासम्म बढी चिसो रहने मौसम पूर्वानुमान माहाशाखाले जानकारी दिएको छ । आइतबारदेखि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सिियसमा झरेपछि उपत्यकामा चिसो बढ्दै गएको छ । अझै उपत्यकामा एक सातासम्म तामक्रम ० डिग्री सेल्सियसकै आसपासमा रहने भन्दै मौसमविद्हरूले उपत्यकालगायत देशका विभिन्न भू–भागहरूमा चिसो बढ्ने बताएका छन् । मौसमविद्का अनुसार अझै केही दिन न्यूनतम तापक्रम शून्य डिग्री आसपास रहनेछ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने तापक्रम माइनसबाट पनि तल झरेको छ । तराईका जिल्लाहरू त झण्डै एक हप्तादेखि घाम नलाग्दा सर्वसाधरणहरूको जनजीवन कष्टकर बन्दै गएको छ ।
मौसमविद् सुवास रिमाल आइतबारदेखि उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्री सेििल्सयस रहेको र यो क्रम एक सातासमम नै चल्ने जानकारी गराएका छन् । “काठमाडौं उपत्यकामा सोमबार पनि तापक्रम शून्य डिग्रीमा झरेको छ, यो क्रम एक सातासम्म चल्ने छ,” उनले भने, “यो समयमा चिसो बढ्नुको प्रमुख कारण हो– उत्तर पश्चिमी वायु र पश्चिमी वायु ।”
रिमालले डिसेम्बर अन्तिमदेखि जनवरी अन्तिम हप्तासम्म शीतलहर हुने समय भएकाले अझै केही दिन बाक्लो हुस्सु लाग्ने बताए । तराईमा पनि चिसो बढेसँगै बाक्लो हुस्सु लागेका कारण शितलहर पर्न सक्ने उनको भनाइ छ । तराईका अधिकांश जिल्लाहरूमा बिहान १० देखि ११ बजेसम्म बाक्लो हुस्सु लागिरहेको भन्दै रिमालले पश्चिम तराईमा केही क्षेत्रमा हुस्सु फाट्न समय लाग्ने बताएका छन् । 
तराईमा लागिरहेको बाक्लो हुस्सु र शीतलहर हट्न अझै केही दिन लाग्ने भएकाले शितलहरको समस्याबाट बच्न मौसम पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ । केही दिनअघिको तुलनामा बाक्लो हुस्सु लाग्ने क्रम कम हुँदै गए पनि पूर्ण रूपमा हट्न समय लाग्ने बताइएको छ ।
अहिलेको हुस्सु हट्न कि पानी पर्नुपर्ने कि बेगले हावा चल्नुपर्ने भए पनि हप्तादिनको बीचमा हावा चल्ने वा पानी पर्ने कुनै सम्भावना नरहेको महाशाखाले बताएको छ । बिहानको समयमा बाक्लो हुस्सु लागेपनि दिउँसोपख खुल्ने जाने तर चिसो भने नहट्ने मौसमविद्ले अनुमान गरेका छन् ।

रौतहटमा पाँचको मृत्यु
दिनप्रतिदिन बढ्दो शीतलहरका कारण रौतहटमा जाडोले कठ्यांग्रिएर पाँच जनाको मृत्यु भएको छ ।
आइतबार मात्रै परोहा नगरपालिका–२ का ४५ वर्षीय शेख समिम र वडा नं ९ का ६५ वर्षीय मरसियादेवी कुर्मीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि शनिबार गडीमाई नगरपालिका–४ का ५५ वर्षीय महर्जन ठाकुर हजाम, राजदेवी नगरपालिका–७ मुडवलवाका ७५ वर्षीय अयोधी राय यादव र गढीमाई नगरपालिका–१ स्थित चिमनी भट्टामा काम गर्न आएका सर्लाहीका नेकमहम्मद अलीको मृत्यु भएको थियो ।
मृत्यु हुने सबै विपन्न र रोजगारीका लागि रौतहट आएका मजदूर हुन् । विगत एक हप्तादेखि बाक्लो कुहिरोसँगै शीतलहर बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।
चिसो हावासँगै शीतको वर्षा हुने गरेका कारणले चिसो अत्यधिक मात्रामा बढेको हो । जिल्लामा शीतलहर बढेपछि जिल्ला वन कार्यालयले अहिलेसम्म नौ स्थानमा दाउरा वितरण गरेको जनाएको छ । शीतलहरले जनजीवन प्रभावित भएपछि आपूर्ति समितिबाट सुलभ मूल्यमा दाउरा उपलब्ध गराइएको वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए ।
यसैबीच शीतलहर बढेपछि जिल्ला शिक्षा कार्यालयले फेरि थप चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शीतलहर कारण विद्यार्थीलाई विद्यालय आउन कठिन भएपछि आइतबारदेखि पुनः चार दिन बिदा थप गरेको जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले जानकारी दिए ।
यसअघि गत पुस १७ गते सोमबारदेखि २१ गते शुक्रबारसम्म सबै सामुदायिक विद्यालय बन्द निर्णय भएको थियो । रौतहटमा ४२ निजी विद्यालय र ३५१ सामुदायिक विद्यालय सञ्चालित छन् । यसैबीच निजी विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले बिदा नदिएको र केही निजी विद्यालयले भने थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । विद्यार्थी विद्यालय आउने अवस्था नभएपछि थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको मुनलाइट एकेडेमी चन्द्रनिगाहपुरका प्राचार्य श्यामकिशोर चौधरीले बताए ।

 

शीतलहर प्रभावित जिल्लामा राहत घोषणा
 सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधारणलाई दुई करोड २२ लाख बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सोमबार गृह मन्त्रालयले उक्त निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृह मन्त्रालयले तराईका २२ जिल्लामा प्रत्येक जिल्लामा १० लाख बराबरको कम्बल, दाउरालगायत न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले सोमबार नै सरकारको मौज्दातमा रहेका कम्बललगायत सामग्री पनि तत्काल उक्त जिल्लामा पठाउने तयारी गरेको छ । “प्रधानमन्त्रीको निर्देशनमा शीतलहर प्रभावित जिल्लामा तत्काल उक्त राहत वितरण गर्ने निर्णय भएको छ,” गृहसचिव मोहनकृष्ण सापकोटाले भने, “राहत वितरणको कार्य आजैदेखि शुरु हुन्छ, केन्द्रबाट कम्बललगायत सामग्री जाने क्रम शुरु भइसकेको छ ।”
मन्त्रालयले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिशमा उक्त राहत वितरण गर्न निर्देशनसमेत दिएको छ । मन्त्रालयले तत्काल केन्द्रीय दैवीप्रकोप उद्धार कोषबाट उक्त रकम वितरण गर्ने भएको हो ।
मन्त्रालयले काठमाडौँस्थित मानवीय सहायता कक्ष र सशस्त्र प्रहरी बलको मौज्दातमा रहेका न्यानो कपडा वितरण पनि शुरु भएको जनाएको छ । मन्त्रालयले तराईमा विद्यालयललगायत सार्वजनिक भवनमा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानोमा राख्न अस्थायी सेल्टर पनि खडा गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्