Logo

प्रदेश सञ्चार प्रतिष्ठान स्थापना गर्न माग

पत्रकार महासंघ सुदूरपश्चिमको साधारण सभामा १२ जना पत्रकारसहित १४ सम्मानित
धनगढी-
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो साधारण सभाले सुदूरपश्चिमका पत्रकारहरूको पेशागत सुरक्षाका लागि प्रदेश सरकारले सञ्चार प्रतिष्ठान स्थापना गर्न माग गरेको छ, ।
कैलालीको गोदावरीमा शुक्रबार सम्पन्न साधारणसभाले सो माग सहित ६ बुँदे घोषणापत्र जारी गरेको हो । साधारणसभाले सुदूरपश्चिमको पत्रकारितालाई व्यावसायिक तथा मर्यादित पेशा बाउनतर्फ थप उन्मुख हुन सरोकारवाला सबैलाई अपिल समेत गरेको छ ।
साधारणसभाले पत्रकारहरूको पेशालाई संकुचन गर्ने खालका ऐन, नियम र कानुनहरू निर्माण नगर्न तीन वटै तहका सरकारहरूलाई अपिल पनि गरेको छ । कोभिड–१९ को संक्रमणका कारण बेरोजगार भएका पत्रकारहरूलाई तत्काल रोजगारी उपलब्ध गराउनुपर्ने र सेवाबाट हटाइएका पत्रकारहरूलाई तत्काल पुनस्र्थापना गर्न सम्बद्ध सञ्चार संस्था र नेपाल सरकारसँग मागसमेत गरिएको छ ।
प्रतिनिधिसभा विघटन र त्यसपछिका राजनितिक घटनाक्रमबाट संघीय लोकतान्त्रिक गणतन्त्र, मुलुकको संविधान, नागरिक अधिकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउने जोखिम बढेको साधारण सभाले हठर रहेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिनिधिसभा विघटन गरेपछि संविधानले परिकल्पना गरेको स्थायित्व पनि धरापमा परेको पनि साधारण सभाले ठहर गरेको छ ।
महासंघको साधारणसभाले कैलालीको गोदावरीलगायत सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवद्र्धन र विकासका लागि ठोस कार्य गर्न सरकारलाई अपिल गरेको छ ।
साधारणसभामा केन्द्रीय समितिको निर्णयअनुसार प्रदेश समितिका पदाधिकारी तथा सदस्य, जिल्ला शाखाका अध्यक्ष, उपाध्यक्ष, सचिव, महासंघका प्रदेशमा रहेका केन्द्रिय सदस्य, पूर्वकेन्द्रीय सदस्यहरूको सहभागिता थियो ।

१२ जना पत्रकारसहित १४ सम्मानित
महासंघको सुदूरपश्चिम प्रदेश समितिले साधारण सभाको अवसरमा १२ जना पत्रकारलाई नगदसहित, एक सञ्चार माध्यम र उत्कृष्ट जिल्ला शाखालाई सम्मानित गरेको छ ।
महासंघको दोस्रो साधारणसभाको अवसरमा साढे जनही १२ हजार नगदसहित अग्रज पत्रकारिता सम्मानद्वारा कञ्चनपुरका चित्रांग थापा र कैलालीका मनमोहन स्वाँरलाई सम्मानित गरेको छ । डडेल्धुराका डीआर पन्तलाई लीलानाथ ओझा स्मृति पत्रकारिता पुरस्कार, बझाङका वसन्तप्रताप सिंहलाई कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कार र बाजुराका प्रकाशबहादुर सिंहलाई जेपी जोशी स्मृति पत्रकारिता पुरस्कारद्वारा सम्मानित गरिएको छ । उनीहरूलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनही १२ हजार नगदसहित दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।
यसैगरी, महासंघको सुदुरपश्चिम प्रदेश समितले जनही ११ हजार नगद राशीको जयपृथ्वीबहादुर सिंह पत्रकारिता पुरस्कारद्वारा डोटीका खगेन्द्रबहादुर सिंह, कैलालीकी उन्नति चौधरी, दार्चुलाका मनोज बडू, जनही ११ हजार नगद राशिकै डा. केआइसिंह पत्रकारिता पुरस्कारद्वारा कञ्चनपुरकी दुर्गा उपाध्याय, बैतडीकी तृप्ती शाही र अछामकी गीता कुँवरलाई सम्मानित गरिएको छ ।
विगत लामो सामयदेखि थारू भाषामा प्रकाशन भइरहेको पहुरा दैनिकलाई पनि महासंघले सम्मानित गरेको छ । यसैगरी, पत्रकारहरूको पेशागत क्षमता विकास र सुरक्षा तथा कोभिड–१९ बाट पत्रकारलाई जोगाउन उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै महासंघले दार्चुला जिल्ला शाखालाई उत्कृष्ट जिल्ला शाखाको रुपमा सम्मानित गरेको छ ।
महासंघले कञ्चनपुरका रामबहादुर चन्दलाई सुदूरपश्चिम पत्रकारिताको तारा सम्मानद्वारा नगद १३ हजार सहित सम्मानित गर्ने घोषणा गरेको छ ।

जेपी जोशी स्मृति पत्रकारिता पुरस्कारबाट पाएको नगद जोशीकै परियारलाई सहयोग
आफूले प्राप्त गरेको पुरस्कार रकमबाट असहायलाई सहयोग गर्ने अभियान चलाएका बाजुराका पत्रकार प्रकाशबहादुर सिंहले महासंघबाट पाएको जेपी जोशी स्मृति पत्रकारिता पुरस्कारबाट पाएको नगद जोशीकै परिवारलाई सहयोग गरेका छन् । उनले शनिबार जोशीकै घरमा गएर पुरस्कारबाट पाएको १२ हजार रुपैयाँ जोशीकी श्रीमति बसन्ती जोशीलाई सहयोग गरेका हुन् । सो रकम हस्तान्तरण गर्न महासंघका पूर्वअध्यक्ष शिव गाउँले, सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह र पत्रकार सिंह घर पुगेका थिए ।
आर्थिक रुपमा निकै कमजोर रहेको स्वर्गीय जोशीका छोरीहरूको विद्यालय शुल्क दुई वर्षदेखि तिर्न सकेका छैनन् । रकम अभावमा छोरीले परीक्षासमेत दिन नपाउने भएको बसन्तीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्