Logo

निर्वाचन आचारसंहिताबारे दलहरूसँग छलफल

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७७ का सम्बन्धमा विभिन्न राजनीतिक दलहरुसंग छलफल गरेको छ ।
आइतबार आयोग परिसरमा आयोजित छलफलमा विभिन्न १४ वटा राजनीतिक दलका प्रतिनिधिहरु सहभागी थिए । राजनीतिक दलका अधिकांश प्रतिनिधिले निर्वाचन आयोगले आचारसंहिता जारी गरेपनि आचारसंहिता पालना भए नभएको अनुगमन चुस्त हुन नसकेको तथा आचारसंहिता उल्लघंन गर्नेमाथि कारवाही गर्ने नगरेको भन्दै त्यस तर्फ ध्यानाकर्षण गराएका थिए । उनीहरुले आचारसंहिता कडाईका साथ कार्यान्वयन गराउन र उलंघन गर्नेहरुमाथि विद्यमान व्यवस्था अनुसार कारवाही गर्न पनि माग गरे ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले भने निर्वाचन आचारसंहिता उलंघन गर्ने सरकारलाई कारवाही नगरेको आरोप लगाएको छ । उसले आयोगको कार्यशैलीप्रति आशंका समेत व्यक्त गरेको छ । छलफलमा सहभागीले निर्वाचन घोषणा गरेर आफै आचार संहिताको उलंघन गर्ने सरकार प्रति आयोग मौन बसेकाले उसको भूमिका प्रति शंका उब्जिएको प्रतिक्रिया दिए ।
छलफलमा नेकपा दाहाल–नेपाल समूहका नेता लिलामणि पोखरेलले ६४ प्रतिशत मत भएको राजनीतिक दलबारे टुंगो नलगाईकन निर्वाचन सम्भव नभएकाले विवाद हल नगरी निर्वाचन प्रक्रिया अगाडि बढ्न सक्तैन भनी आफूहरुले आयोगलाई भनेको बताए ।
दल दर्ता, विवाद समाधान र जनप्रतिनिधिलाई शासन सत्ता चलाउने आधिकारीता दिने प्रयोजनका निम्ति आयोगको गठन भएको भन्दै उनले दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार नेकपा भित्रको विवाद निरुपण गर्नुपर्ने धारणा राखे ।
नेपाली कांग्रेसका आनन्द ढुंगानाले आचारसंहितामाथिको छलफलको क्रममा विभिन्न सरकारी कार्यालय तथा आयोगमा नियुक्ति, बढुवा, सरुवा लगायत काम नियमित प्रक्रियाको बहानामा गर्न नहुने भएकाले त्यस तर्फ ध्यान दिन आयोगको ध्यानाकर्षण गराएको बताए । उनले सरकारले मिति तोकिसकेकाले निर्वाचनका लागि आयोगको तयारीलाई रोक्न नमिल्ने प्रतिक्रिया दिए ।
छलफलमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिले आचारसंहिताको पूर्ण परिपालन गर्न आयोगको ध्यानाकर्षण गराएको बताए ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले तयार पारेको आचारसंहिता माथि छलफल गरिएको र केही दलले लिखित सुझाव पनि दिएको बताए । उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने गरि आयोगले तयारी अघि बढाएको स्पष्ट पारे । नेकपा विवादका सम्बन्धमा संचारकर्मीको जिज्ञासामा उनले प्राप्त निवेदनको सम्बन्धमा आयोगले अध्ययन गरिरहेको र छिटै निर्णय गर्ने पनि जानकारी दिए ।
निर्वाचन आयोगले आईतबार निर्वाचन आचारसंहिता २०७७ माथि दलहरुसँग छलफल गरेको हो । आयोगले विगतको भन्दा विस्तृत रुपमा आचारसंहिता निर्माण गरिएको जनाएको छ । आचारसंहितामा निर्वाचन प्रचार सामाग्री र खर्च व्यवस्थापनलाई नियन्त्रित गरेपनि हेलिकप्टर चार्टर गरेर निर्वाचन प्रचारमा जान सक्ने व्यवस्था राखेको छ ।

प्रतिक्रिया दिनुहोस्