पर्यटन प्रर्वद्धनका लागि सोलुको पत्ताले र सुकेपोखरी छनौट

सोलुखुम्बु-पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले सोलुखुम्बुका दुई वटा गन्तव्यस्थल छनौट भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोलुखुम्बुको पर्यटकीय स्थल पत्तालेमा पार्क निर्माण र सुकेपोखरी क्षेत्रलाई गन्तव्य सूचीमा समावेश गरेको हो ।-
सोलुदूधकुण्ड नगरपालिकाको सिफारीसमा मन्त्रालयको ४ करोड ५५ लाख र नगरपालिकाको २ करोड ४५ लाखको लागत साझेदारीमा पर्यटकीय पार्क निर्माण हुने मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटकको बढवाका लागि पार्क निर्माण गर्ने उद्देश्यले नगरपालिकाले सिफारिस गरेको थियो । पार्कमा वृक्षरोपण, बगैचा शैचालयलगायतका संरचना निर्माण हुने मेयर शेर्पाले बताए ।
सगरमाथालगायतका दर्जनौ हिमश्रृंखला अवलोकन गर्ने स्थानका रुपमा रहेको पत्तालेमा आवश्यक भौतिक पूर्वाधारको विकास गरी पर्यटनलाई नगरपालिकाले बढवा दिन लागेको हो । ओझेलमा परेको तल्लो सोलुखुम्बुको पर्यटनलाई चलायमान बनाउनका लागि यसले मद्दत गर्ने छ ।
त्यस्तै, सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकास्थित सुकेपोखरी क्षेत्रको पनि पर्यटन प्रवद्र्धधन गर्नका लागि छनौट गरिएको छ । सुकेपोखरीको समग्र विकासका लागि पर्यटन मन्त्रालयले २ करोड ८० लाख र गाउँपालिकाले १ करोड २० लाख बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।