घरेलु कार्यालयबाट फर्म रजिष्ट्रेसन सुरु

बागमती प्रदेशमा नयाँ फर्म रजिष्ट्रेसन (दर्ता) जिल्लास्थित घरेलु कार्यालयबाटै गर्न सुरु भएको छ । केन्द्रबाट हुँदै आएको फर्म दर्ता बागमती प्रदेशका घरेलु कार्यलयमार्फत सुरु भएको हो । नेपालमा संघीय कानुन आएको साढे पाँच वर्षपछि बागमती प्रदेशले आफूले पाएको अधिकार प्रयोग कानुन निर्माण गरी आइतबारदेखि प्रदेशअन्तर्गतका जिल्ला घरेलु कार्यालयहरूबाट दर्ता सुरु गरेको हो । जिल्लास्थित घरेलु कार्यालयहरूबाट फर्म दर्ता सुरु गर्ने बागमती पहिलो प्रदेश बनेको छ । औपचारिक कार्यक्रम गरेर केन्द्रबाट हुँदै आएको कामको जिम्मेवारी बागमती प्रदेशका घरेलु कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
वाणिज्य प्रशासनसम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण अवधारणा पत्र तथा कार्ययोजना अनुरूप वाणिज्य, आपूर्ति तथा उभोक्ता हित संरक्षण विभागमा दर्ता हुँदै आएकोमा अब नयाँ फर्म बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगतका जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यलयबाट दर्ता हुनेछन् । निकासी पैठारी व्यापार बाहेकका नयाँ प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनकोे काम घरेलु कार्यालयहरूमार्फत सुरु गरिएको विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता शिवराज सेढाईले निकासी पैठारी बाहेकका नयाँ फर्म दर्ता आइतबारदेखि बागमती प्रदेशको घरेलु कार्यलयमार्फत दर्ता सुरु गरिएको जानकारी दिए । स्थानीय व्यापार गर्नका लागि स्थानीय तहबाटै दर्ता हुँदा केन्द्रमा आउनुपर्ने झन्झट हट्ने उनको भनाइ छ । यसको लागि लुम्बिनी प्रदेशले पनि कानुन बनाएकाले दर्ताको जिम्मेवारी हस्तान्तरण गरिने उनले जानकारी दिए । क्रमिकरूपमा अन्य प्रदेशमा पनि विस्तार गर्दै जाने विभागले जानकारी दिएको छ ।
स्थानीय व्यापार गर्न इच्छुक व्यक्तिहरूले व्यवसाय दर्ताको लागि सम्बन्धित जिल्लाको घरेलु तथा साना उद्योग कार्यलयमा दर्ता गर्न पाउने छन् । बागमती प्रदेशका जिल्लामा रहेका घरेलु कार्यलयमार्फत फर्मको दर्ता हुने छ । वाणिज्य विभागमा पहिले नै दर्ता भइसकेका फर्महरूको नवीकरण, संशोधन र खारेजीसम्बन्धी कार्य भने सम्बन्धित प्रदेशमा हस्तान्तरण नभएसम्म विभागमा हुनेछन् । यसबाट आगामी २०७८ असारमसान्तसम्म एक लाख व्यवसायीले लाभ लिने अनुमान गरिएको छ । प्रदेशहरूमा समेत प्रदेश कानुन तर्जुमा भएपश्चात निकासी पैठारी व्यापार बाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमको काम क्रमशः हस्तान्तरण गर्दै जाने विभागले जानकारी दिएको छ ।
बागमती प्रदेश अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालयहरूमा दर्ता भइ सञ्चालनमा रहेका वैदेशिक व्यापार मुलुक (निकासी पैठारी) फर्महरूको सक्कलै फाइल २०७८ असार मसान्तभित्र विभागमा हस्तान्तरण भई विभागबाटै नियमन हुनेछ । सरकारले यसअघि नै नवीकरण फेल भएका प्राइभेट फर्महरूलाई पुनः सञ्चालन हुन पाउने व्यवस्था गरेको छ ।