सामाजिक सुरक्षा कार्यक्रम थप सरल «

सामाजिक सुरक्षा कार्यक्रम थप सरल


सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि संशोधन गर्दै कार्यक्रमलाई थप सरल बनाएको छ । रोजगारदाता तथा श्रमिकहरूले उठाउँदै आएका मागलाई सम्बोधन गर्नका लागि कार्यविधिको दोस्रो संशोधन गरिएको हो । कोषले विभिन्न चार किसिमका सुविधा योजना सञ्चालनमा ल्याएको उपकार्यकारी निर्देशक एवं प्रवक्ता विवेक पन्थीले जानकारी दिए । जसमा औषधिउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि योग्य हुन जम्मा गर्नुपर्ने योगदान रकम निरन्तर तीन महिना हुनुपर्ने प्रावधानलाई थप स्पष्ट पारिएको छ । यस्तै, मातृत्व सुरक्षाअन्तर्गत योगदानकर्ताको पत्नी सुत्केरी भएपश्चात ६ हप्तासम्मको उपचार खर्च पाउनेगरी व्यवस्थित बनाइएको कोषले जानकारी दिएको छ ।
योजनाअन्तर्गत निवृत्तीभरण प्राप्त गरेका योगदानकर्ताले चाहेमा आफनो मासिक निवृत्तीभरणबाट निश्चित रकम कट्टा गरी औषधिउपचार सुविधालाई निरन्तरता दिनसक्ने व्यवस्था गरिएको छ । यस योजनाअन्तर्गत अशक्तता वृत्तिको अधिकतम सीमा हटाइएको कोषले जानकारी दिएको छ । आश्रित परिवार सुविधा योजना अन्तर्गत विदेशी नागरिकको मृत्यु भइ निजको हकवालाले पाउने रकम एकमुष्ट लिन चोहमा सात लाख रुपैयाँसम्म लिनसक्ने व्यवस्था गरिएको छ ।
यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रोजगारीजन्य दुर्घटनाको उपचारलाई पारदर्शी बनाउन कोषलाई जानकारी गराउने व्यवस्था गरिएको छ । कोषबाट सञ्चालनमा ल्याइएको वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २०.३३ प्रतिशत तथा निवृत्तीभरण योजनामा २० प्रतिशत र अवकास सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरिएको छ । निवृत्तीभरण योजनमा जम्मा भएको कूल रकमलाई १८० ले भाग गरी मासिक रुपमा निवृत्तीभरण दिने व्यवस्था भएकोमा यसलाई १६० कायम गरी मासिक निवृत्तीभरण रकम अधिक हुन सक्ने व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ । आगामी असार मसन्तभित्र योगदान सुरु गर्ने योगदानकर्ताहरूले चाहेमा निवृत्तीभरण अन्तर्गतको २० प्रतिशत रकम समेत अवकमास सुविधा योजनामा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।
अवकास सुविधा योजनाअन्तर्गत नियमित रूपमा ८.३३ प्रतिशत रकम जम्मा गर्ने व्यवस्था अतिरिक्त कुनै योगदानकर्ताले स्वेच्छिक रुपमा जम्मा गरेको रकम अन्य कोषबाट हस्तान्तरण भई आएको रकम योगदानकर्ताहरूले चाहेमा न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणाभन्दा बढी रकम र ६० वर्ष उमेर पूरा भएका योगदानकर्ताहरूको निवृत्तिभरण अन्तर्गतको कमसमेत अवकास सुविधा यस योजनामा जम्मा हुने व्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्