Logo

सफल पोखरा म्याराथनमा आर्मीको वर्चस्व

पोखरा-त्रिभुवन आर्मी क्लबका राजन रोकायाले एक महिनामै दुई वटा म्याराथन प्रतियोगिताको उपाधि जितेका छन् ।
तनहुँको ऋषिङ गाउँपालिकाले गत पुस २७ गते आयोजना गरेको प्रथम ऋषिङ म्याराथन २०७७ मा उपाधि जितेका आर्मीका रोकायाले शनिबार पोखरामा सम्पन्न १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि समेत जितेका हुन् ।
पोखरामा शनिबार भएको उक्त प्रतियोगितामा उनले २ सय ८ जना प्रतियोगिहरुलाई पछि पार्दै निर्धारित दुरी २ घण्टा २७ मिनेट १ सेकेण्डमा पार गरी उपाधि जितेका हुन् । यसअघि उनले वुटवल र काठमाडौं म्याराथनको समेत उपाधि आफ्नो पोल्टामा पारेका थिए । आर्मीकै ज्ञान प्रसाद भट्टराई दोश्रो भए भने आर्मीकै देवराज बस्नेत तेश्रो भए । भट्टराईले निर्धारित दुरी २ घण्टा ३३ मिनेट ४८ सकेण्डमा पार गर्दा बस्नेतले भने २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा उक्त दुरी पार गरेका हुन् ।
पाँचथरका प्लस टु का एक बिद्यार्थी प्रताप थामस्वाङ (लिम्वु) ले निर्धारित दुरी २ घण्टा ५४ मिनेट ८ सेकेण्डमा पार गरी सान्त्वना भए । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको उक्त प्रतियोगितामा २ सय ९ जना धावकहरु सहभागि भएको मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले बताए ।
त्यसैगरी महिलातर्फको २१ किलोमिटर अर्थात् हाफ म्याराथन प्रतियोगिताको उपाधि नेपाल पुलिसकी राजपुरा पछाईले जितेकी छन् । उनले २६ जना प्रतियोगिहरुलाई पछि पार्दै निर्धारित दुरी १ घण्टा २७ मिनेट १ सेकेण्डमा पार गरी उपाधि सहित नगद एक लाख हात पार्न सफल भइन् । आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता पछ्याईले केही समयअघि जापानमा भएको म्याराथनमा फास्टेसको रुपमा उपाधि हात पार्न सफल खेलाडी हुन् ।
जुम्लास्थित कर्णाली स्पोर्टस क्लवकी राममाया बुढा प्रतियोगितामा दोश्रो भईन् भने शसस्त्र प्रहरी वलको एपिएफकी विन्दा श्रेष्ठ तेश्रो भएकी छन् । प्रतियोगितामा बुढाले निर्धारित दुरी १ घण्टा ३० मिनेट ४४ सेकेण्डमा पार गरिन् भने श्रेष्ठले निर्धारित दुरी १ घण्टा ३१ मिनेट १३ सकेण्डमा पार गरेकी हुन् । पुलिसकी रेखा विष्टले निर्धारित दूरी १ घण्टा ३६ मिनेट १४ सेकेण्डमा पार गरी सान्त्वाना हुन सफल भईन् । प्रतियोगितामा २७ जना सहभागि भएको मञ्चका पूर्व अध्यक्ष खड्गबहादुर रानाभाटले बताए । विजयी खेलाडीहरुको टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव दीलेन्द्रराज श्रेष्ठ, सहारा यूकेका धनु थकाली, सहारा क्लवका बरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
यस वर्ष कोरोनाको कारणले गर्दा विदेशबाट व्यावसायिक धावकहरु उक्त प्रतियोगितामा सहभागिता नभएको मञ्चले जनाएको छ । यद्यपि विदेशी कूटनितीक नियोग तथा अन्य केही विदेशीहरु भने सहभागि भएका थिए ।
४२.१९५ किलोमिटर दौड (म्याराथन) का विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ, सान्त्वना हुनेले २५ हजार साथमा ट्रफी मेडल, प्रमाणपत्र प्राप्त प्रदान गरिएको छ । महिलातर्फको हाफ म्याराथनको विजेताले १ लाख, उपबिजेताले ७५ हजार, तेश्रो हुनेले ५० हजार र सान्त्वना हुनेले भने १५ हजार नगद प्राप्त गरेको मञ्चका प्रमुख कार्यकारी अधिकृत केशव पाठकले बताए ।
कोभिडले गर्दा यस वर्ष अन्य विभिन्न दौड प्रतियोगिता केही समय पछि हुने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ५० लाख ६० हजार खर्च लाग्ने मञ्चका अध्यक्ष गुरुङले जनाए । प्रतियोगितालाई सफल पार्न मुख्य प्रायोजक लक्ष्मी हाउसको उत्पादन सफल दूधले यस वर्ष ४ लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्