बजेट अभावले ‘हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माण अलपत्र «

बजेट अभावले ‘हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माण अलपत्र

माटोेमात्रै सम्याएको हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको मैदान । तस्बिर – कारोबार

जुम्लाको पातारासी गाउँपालिकाको छुमचौरमा निर्माण हुने ‘हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर बजेट अभावले अलपत्र परेको छ । आर्थिक वर्ष ०७४-७५ मा करिब ३२ करोड ३ लाख लागतमा डीपीआर तयार गरिएको उक्त आयोजना बजेट अभावले निर्माण अलपत्र भएको हो ।
अहिलेसम्म करिब ५५ लाख बजेट खर्च गरेर गरेर फिल्डमात्रै समथर बनाउने काम भएको छ । सुविधा सम्पन्न भवन निर्माण हुने, खेलमैदान निर्माण हुने भए पनि अन्य संरचना अलपत्र छन् । बहुवर्षीय योजनाका रूपमा हेरिएको ‘हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरलाई तीन तहबाट आवश्यक बजेट नजुट्दा निर्माणकार्य अघि बढाउन मुस्किल परेको छ ।
अघिल्लो आर्थिक वर्षमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ७५ लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये २१ लाख खर्च भएको र ५४ लाख बजेट फ्रिज गरिएको जिल्ला खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख बरमबहादुर महतले बताए । उनले भने, “चालू आवमा कर्णालीको सामाजिक विकास मन्त्रालयबाट ५० लाख बजेट विनियोजन भएको छ । बजेट आए पनि चालू आवको दोस्रो चौमासिक बित्न लाग्दासम्म निर्माण कार्यले गति लिएको छैन । यो बजेट पनि फ्रिज जाने हो कि भनेर शंका लाग्न थालेको छ ।”
२ हजार ८ सय मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा हाइअल्टिच्युड ट्रेनिङ सेन्टर (खेल मैदान) निर्माण गर्नका लागि डीपीआर बनाएको होे । “विश्वको अल्लो स्थानमा धान फल्नेस्थान छुमचौरमा बन्ने खेलमैदानले पर्यटक पनि आकर्षण गर्ने र खेल क्षेत्रको विकासमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्ने आशा गरिएको थियो । नेपालकै गौरवको आयोजना हाइअल्टिच्युड खेल मैदान निर्माणका लागि डीपीआर तयार हुँदा पनि यहाँका स्थानीय तहले निर्माणका लागि कुनै चासो नदेखाएको पाइएको छ ।
नयाँ खेलाडी उत्पादन गर्न दैनिक अभ्यास गर्न मैदान अत्यावश्यक हुँदा कर्णाली सरकार स्थानीय सरकारले चासो नदिनु दुःखद पक्ष भएको नागरिक समाजका अगुवा राजबहादुर महतले बताए । हाइअल्टिच्युड टे«निङ सेन्टर निर्माणमा बजेट जुटाउन सबै सरोकारवाला जुट्नु पर्ने उनको जोड छ ।

निर्माण हुने संरचना
हाइअल्टिच्युडट्रेनिङ सेन्टरमा बलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केट बल, एथलेटिक्स लगायत दुई दर्जन बढीका खेल मैदान निर्माण गर्ने डीपीआरमा उल्लेख गरिएको छ । त्यसैगरी तातो चिसो पानी भएको स्विमिङ पुल, लैङ्गिकमैत्री छात्रावास, सुरक्षा गाड, पाहुना घर, टिकट काउन्टरलगायतका विभिन्न संरचना निर्माण हुने डीपीआरमा उल्लेख छ । तर डीपीआर बनेको ३ आर्थिक वर्ष बितिसक्दा पनि निर्माणकार्य शून्य अवस्थामै छ । बजेट व्यवस्थापनका लागि संघ प्रदेशसँंग पहल गरिरहेको कार्यालय प्रमुख महतले उल्लेख गरे ।
साथै, १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रयोगमा ल्याउने गरी कर्णाली प्रदेशको जुम्लामा बनिरहेको भलिबलको प्यारापिट पनि बजेट अभावले अलपत्र भएको छ । एक करोडको लागतमा डीपीआर भएको प्यारापिट निर्माणमा बजेट अभाव देखिएको हो । श्रमदानसहित २६ लाख बजेटमा निर्माणकार्य सुरु भएको थियो । थोरै बजेटले जगमात्रै बसाल्ने काम भएको छ । अन्य सबै काम अलपत्र छ ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलवीर सुनारका अनुसार विकासे बजेटको कटौतीको कुरा चलेको छ । यसअघि २५ लाख प्यारापिट र ५० लाख हाइअल्टिच्युड खेल मैदानका लागि बजेट विनियोजन भए पनि कार्यसञ्चालनमा अनुमति मागे पनि मन्त्रालयले स्वीकृत नदिँदा काम नभएको हो ।

प्रतिक्रिया दिनुहोस्