Logo

दाङमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

दाङमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । नागरिकलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न जिल्लामा स्वास्थ्य बिमा सुरु कार्यक्रम गरिएको हो । स्वास्थ्य बिमा लागू हुने दाङ जिल्ला लुम्बिनी प्रदेशको ११ र देशभरको ६७औं जिल्ला हो । स्वास्थ्य बिमा सरकारको वार्षिक कार्यक्रम हो । ३ हजार ५ सय रुपैयाँ तिरेर बिमा गरेपछि वर्ष भरमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार लिन सकिने व्यवस्था छ । स्वास्थ्य बिमाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुभाराम्भ गरेका हुन् । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले मुख्यमन्त्री पोख्रेललाई बिमा कार्ड उपलब्ध गराएर जिल्लामा बिमा शुभाराम्भ गरेका हुन् । त्यस अवसरमा मुख्यमन्त्री पोखरेलले जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपाली, ज्येष्ठ नागरिक विन्तिराम चौधरी, काली चौधरीलगायतलाई बिमा कार्ड प्रदान गरेका थिए ।
कार्यक्रमको शुभाराम्भ गर्दै मुख्यमन्त्री पोखरेलले आर्थिकको अभावमा रोग लुकाउने कार्यलाई अन्त्य गर्न बिमा कार्यक्रमले भूमिका खेल्ने विश्वास व्यक्त गरे । “पैसाको अभावमा अझै पनि धेरै मानिस रोग लुकाउन बाध्य छन्, अब यो कार्यक्रमले त्यसमा भूमिका खेल्ने छ”, मुख्यमन्त्री पोखरेलले भने । उनले बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाको सेवा सवलीकरण र सक्षम हुनुपर्ने बताए ।
बिमा कार्यक्रममा खट्ने स्वमसेवकको परिचालन, भूमिका र आत्मविश्वासमा कार्यक्रमको प्रभावकारिता भर पर्ने भन्दै त्यो अनुसार जनशक्तिको विकासमा ध्यान दिन मुख्यमन्त्री पोखरेलले सुझाव समेत दिए । कार्यक्रममा जनसंख्या तथा स्वास्थ्य राज्यमन्त्री नवराज राउतले स्वास्थ्य बिमा सरकारको मुख्य कार्यक्रम भएको भन्दै यसलाई सफल बनाउन सबैको भूमिका महत्वपूर्ण भएको बताए ।
“जिल्लावासीको लागि यो ऐतिहासिक दिन हो, यसलाई सफल बनाउन र स्थानीय सरकारको मुख्य जिम्मेवारी छ”, राज्य मन्त्री राउतले भने, “अब स्थानीय सरकारले नागरिकलाई बिमाको बारेमा जनचेतना जगाउनु पर्छ ।”
जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपाली र घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले स्वास्थ्य बिमालाई प्रभावकारी बनाएर लैजान सुझाव दिएका थिए ।
स्वास्थ्य बिमा कार्यक्रम कैलालीबाट सुरुवात गरिएको हो । अहिले दाङसहित ६७ जिल्लामा यो कार्यक्रम सुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस्