Logo

२ सय वटा पर्यटकीय गन्तव्य छनौटमा ७ अर्ब

ताप्लेजुङ-संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रर्वद्धनका लागि देशभरका २ सय पर्यटकीय गन्तव्य छनौट गरेको छ । ७ वटै प्रदेशका स्थानीय तहबाट प्रस्ताव आव्हान गरिएका मध्येबाट उक्त गन्तव्य छनौट गरेको हो । छनोट भएका गन्तव्यका लागि करिब ७ अर्ब रुपैयाँ स्वीकृत भएको सूची मन्त्रालयलले सार्वजनिक गरेको छ । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रबद्र्धन गर्ने उद्देश्यले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७ अनुसार लागत साझेदारीमा आधारित कार्यक्रम हो । अधिकांश आयोजना ३ वर्षभित्रमा सम्पन्न गर्नुपर्ने छ ।
छनौट भएका २ सय पर्यटकी गन्तव्यमध्ये ताप्लेजुङका ३ वटा छन् । फुङलिङ नगरपालिका–६ स्थित बहुसंस्कृतिक सङ्ग्राहलय, सिरीजंघा गाउँपालिका–८ याम्फुदिनस्थित कंञ्चनजंघा बेसक्याम्पको पैदलमार्ग र मैवाखोला गाउँपालिकाको गुराँस पार्क योजना छन् ।
संग्राहलयका लागि ४ करोड ५५ लाख रुपैयाँ स्वीकृत भएको छ । ७ करोड लागत स्टमेट भएकाले बाँकी २ करोड ४५ लाख फुङलिङ नगरपालिकाले उपलब्ध गराउनेछ । नगर प्रमुख छत्रपति प्याकुरेलका अनुसार चालु आर्थिक वर्षमा निर्माण प्रारम्भ हुने निश्चित भएको छ । नगर प्रमुख प्याकुरेलले भने, “यो महत्वपूर्ण उपलब्धि हो । पर्यटनका दृष्टिकोणले यो योजना नगरपालिकाको मेरुदण्ड हो ।”
उता सिरीजंघा गाउँपालिकास्थित याम्फुदिनदेखि कंञ्चनजंघा बेसक्याम्प पैदलमार्गका लागि ३ करोड ५० लाख विनियोजन भएको छ । याम्फुदिनको आम्जी खोलाबाट नयाँ झोरेनी–तुप्लुङ–दुन्दु डाँडा–नगर्चा–चैराम हुँदै बेसक्याम्प जाने पैदलमार्ग स्तरोन्नति हुने गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार उक्त योजनालाई साहसिक पैदलमार्ग मानिएको छ । गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ जुटाउने भएको छ ।
यसैगरी मैवाखोला गाउँपालिाको साँघुस्थित गुराँस पार्कका लागि २ करोड ८० लाख रुपैयाँ स्वीकृत भएको छ । १ करोड २० लाख गाउँपालिकाले जुटाउने छ । गाउँपालिका अध्यक्ष राजनकुमार थक्लुङ लिम्बुले गाउँपालिकाको योजनाले बल्ल सार्थकता पाएको प्रतिक्रिया दिए । अध्यक्ष लिम्बुले भने, “गुराँस राष्ट्रिय फूल पनि हो । पार्क निर्माणले यस महत्वसँग संरक्षण र संम्बद्र्धनमा योगदान मिल्नेछ ।”
यसैगरी पाँचथरमा ४ वटा योजना छन् । फिदिम नगरपालिकास्थित फाल्गुनन्द सर्र्किटका लागि ३ करोड १७ लाख रुपैयाँ छ । सर्किटअन्तर्गत शिवलाय देउराली सिडीमार्ग तथा सर्पे डाँडा महादेव पोखरी लब्रेकुटी सिलौटी साइकल ट्रयाक निर्माण हुने भएको छ । याङ्वरक गाउँपालिकाको निसान कालिका धाम तथा याङवरक पोखरी संरक्षणका लागि ३ करोड ५० लाख रुपैयाँ छ । गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँको सोझेदारी हुने उल्लेख छ । यस्तै कुम्मायक गाउँपालिकास्थित कुस्सायक क्षेत्र पर्यटन विकास आयोजनाका लागि २ करोड ३७ लाख रुपैयाँ छुट्याइएको छ । गाउँपालिकाले १ करोड ३ लाख रुपैयाँ थप गर्ने भएको छ ।
हिलिहाङ गाउँपालिकामा ३ करोड ५० लाख रुपैयाँ छ । थप १ करोड ५० लाख रुपैयाँ गाउँपालिकाको लागत हुने भएको छ । ५ करोड लागत साझेदारीमा हिलिहाङ दरबार (प्यागोडा शैली) निर्माण गरिने उल्लेख छ ।
यता तेह्रथुममा ४ वटा योजना छन् । मेन्छ्याम गाउँपालिकामा मेन्छ्याम पार्क निर्माणका लागि ३ करोड २२ लाख विनियोजन भएको उल्लेख छ । १ करोड ३८ लाख रुपैयाँ नगरपालिकाले जुटाउने छ । यसैगरी फेदाप गाउँपालिकास्थित ह्यात्रुङ झरना पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । बाँकी १ करोड ५० लाख रुपैयाँ गाउँपालिकाले जुटाउनेछ ।
छथर गाउँपालिकाको चाङलुङ गुफा व्यवस्थापन योजनामा २ करोड १० लाख रुपैयाँ स्वीकृत भएको छ । म्याङलुङ नगरपालिकामा ४ करोड ५५ लाख रुपैयाँ विनियोजन भएको छ । नगरपालिकामा शहीद नेत्र गुरागाँई पाथीभरा मन्दिर किराँतेश्वर गडियक पर्यटकीय क्षेत्र संरक्षण कार्यक्रमका लागि उक्त रकम विनियोजन गरिएको छ । नगरपालिकाले थप २ करोड ४५ लाख रुपैयाँ जुटाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्