स्टक मार्केट इन्डेक्स : गणना र प्रयोग

इन्डेक्स गणनाका धेरै विधिहरू भए पनि प्रमुख रूपमा मूल्य र बजार पुँजीकरणका आधारमा यस्तो गणना गरिन्छ ।
स्टक मार्केट इन्डेक्सको उद्देश्य हिजोको तुलनामा आज समग्रमा मार्केट घट्यो कि बढ्यो भन्ने जानकारी दिनु हो । इन्डेक्सले मार्केट र अर्थतन्त्रप्रति लगानीकर्ताको मनोविज्ञान र आत्मविश्वासलाई पनि झल्काउँछ । मार्केटमा धितोपत्रको माग र आपूर्तिको अवस्था अर्थात् लगानीकर्ताको खरिद–बिक्री चाहना पनि इन्डेक्सले देखाउँछ ।
इन्डेक्स भन्नेबित्तिकै आमबुझाइ स्टक मार्केट इन्डेक्स भन्ने छ, तर अन्य क्षेत्रमा पनि इन्डेक्स हुन्छन् । बन्ड मार्केट मापन गर्ने बन्ड इन्डेक्स, ब्याजदर मापन गर्ने ब्याजदर इन्डेक्स, लगानीकर्ताको आत्मविश्वासलाई मापन गर्ने इन्भेस्टर कन्फिडेन्स इन्डेक्स, जोखिम मापन गर्ने भोल्याटिलिटी इन्डेक्स, क्रेताको आत्मविश्वासलाई मापन गर्ने कन्जुमर कन्फिडेन्स इन्डेक्स, घरजग्गाको मूल्य मापन गर्ने हाउजिङ इन्डेक्सजस्ता थुप्रै इन्डेक्स हुन्छन् ।
नेपालमा इन्डेक्सको प्रयोग कहिलेदेखि कुन क्षेत्रमा सुरुवात गरियो भन्ने आधिकारिक जानकारी नभए पनि स्टक मार्केटमा भने यसको अभ्यास २०५० देखि सुरु भएको हो । त्यसयता कारोबार हुँदा इन्डेक्सको दैनिक गणना र प्रकाशन हुँदै आएको छ । इन्डेक्स बढ्दा (घट्दा) धेरै फाइदा (नोक्सानी) हुने हुँदा यसको चर्चा व्यापक हुन्छ ।
इन्डेक्सबारेको चर्चा डाउजोन्स इन्डस्ट्रियल एभरेज (बोलीचालीमा डाउ वा डाउजोन्स) र स्ट्यान्डर्ड एन्ड पुअर्स ५०० को उल्लेखबिना सुरु नै हुँदैन । डाउजोन्स दुनियाँको दोस्रो इन्डेक्स हो भने पहिलो डाउजोन्स ट्रान्सपोर्टेसन एभरेज थियो । डाउजोन्सको गणना चाल्र्स डाउले वालस्ट्रिट जर्नलका लागि १८८६ मे २६ मा सुरु गरेका थिए । ३० इन्डस्ट्रियल स्टकको एभरेज मूल्य गणनामा तथ्यांकशास्त्री एडवार्ड जोन्स पनि सहभागी भएपछि यसको नाम ‘डाउजोन्स इन्डस्ट्रियल एभरेज’ रहन गएको हो ।
डाउजोन्समा ३० मात्र स्टक भएको हुनाले यसले बृहत् मार्केटलाई प्रतिनिधित्व गर्दैन । त्यसो त ४–५ हजार स्टक भएका इन्डेक्स पनि छन्, तर पर्याप्त कारोबार अभावले तिनमा लगानीकर्ताको मनोविज्ञानको सही प्रतिनिधित्व हुँदैन र तिनलाई पनि मार्केटका रूपमा प्रयोग गरिँदैन । डाउजोन्सको गणना विधिमा केही कमजोरी रहेकाले यसको विकल्पमा फरक गणना विधिका इन्डेक्सहरूको सुरु हुन गयो ।
स्ट्यान्डर्ड एन्ड पुअर्स ५०० दुनियाँको सबैभन्दा प्रख्यात इन्डेक्स हो । यसको सुरुवात स्ट्यान्डर्ड स्ट्याटिस्टिक्स कम्पनीले १९२३ मा २ सय ३३ स्टक लिएर गरेको थियो । १९४१ मा स्ट्यान्डर्ड स्ट्याटिस्टिक्स र पुअर्स पब्लिसिङ गाभिएर स्ट्यान्डर्ड एन्ड पुअर्स कम्पनी बन्यो, जसले १९५७ मे ४ मा ५ सय स्टक पु¥याएर यसलाई स्ट्यान्डर्ड एन्ड पुअर्स ५०० कम्पोजिट इन्डेक्स नामकरण गरी इन्डेक्स गणना र प्रकाशन गर्दै आएको छ ।
१ सय टेक्नोलोजी स्टक रहेको नास्डाक कम्पोजिट इन्डेक्स अर्को प्रचलित अमेरिकन इन्डेक्स हो । बेलायतको फुट्सी १००, फ्रान्सको क्याक ४०, जर्मनीको ड्याक्स, क्यानाडाको टिएसई २५०, अस्ट्रेलियाको एएसएक्स २००, जापानको निकाई २२५, कोरियाको कोप्सी, हङकङको हाङसेङ ५०, चाइनाको सांघाई १००, इन्डियाको बीएसआई ३० आदि अरू प्रख्यात इन्डेक्स हुन् । यी इन्डेक्स प्रख्यात हुनुमा यिनको गणना विधि र स्टक छनोटमा पारदर्शिता हो । इन्डेक्स गणनाका धेरै विधिहरू भए पनि प्रमुख रूपमा मूल्य र बजार पुँजीकरणका आधारमा यस्तो गणना गरिन्छ ।
(क) मूल्यका आधारमा इन्डेक्स गणना गर्दा इन्डेक्समा रहेका कम्पनीहरूको बजार मूल्यको औसतलाई आधार मानेर त्यसमा हुने घटबढलाई मापन गरिन्छ । औसत निकाल्न इन्डेक्समा भएका कम्पनीहरूको संख्याले ती कम्पनीको बजार मूल्यको योगलाई भाग गरिन्छ । यो विधि डाउजोन्सले सुरु गरेको हो । डाउजोन्समा सुरुदेखि ३० मात्र स्टक छन् र तिनको बजार मूल्यको योगलाई ३० ले भाग गरेर इन्डेक्स गणना सुरु गरिएको थियो । ३० लाई इन्डेक्सको भाषामा डिभाइजर भनिन्छ, जुन समायोजन हुँदै आएर अहिले ०.१५१९९ छ ।
(ख) बजार पुँजीकरणका आधारमा इन्डेक्स गणना गर्दा इन्डेक्समा छानिएका कम्पनीहरूको पब्लिक खरिद–बिक्रीका लागि योग्य र उपलब्ध सेयरको बजार पुँजीकरणलाई मात्र समावेश गरिन्छ । यस्तो बजार पुँजीकरणको भारित औसतका आधारमा इन्डेक्स गणना हुन्छ । यो विधिले कम्पनीको कुल बजार पुँजीकरणलाई भने समावेश गर्दैन ।
स्ट्यान्डर्ड एन्ड पुअर्स ५०० ले सुरुवात गरेको यो विधिलाई संसारका धेरै इन्डेक्सहरूले पछ्याएका छन् । अर्थतन्त्रका सबै क्षेत्रका स्टकहरूलाई समावेश गरेर यो इन्डेक्स गणना गरिने हुँदा यसलाई मार्केटका रूपमा व्यापक प्रयोग गरिन्छ ।
स्टक छनोट : इन्डेक्स गणनामा स्टकको छनोट कार्य महŒवपूर्ण हुन्छ र यसका केही सर्त तथा मापदण्ड हुन्छन् । हामीले पनि यी मापदण्ड लागू गर्नु जरुरी हुन्छ । जस्तै न्यूनतम बजार पुँजीकरण (मानौं १ अर्ब), किनबेचका लागि पब्लिकमा उपलब्ध सेयर संख्या (५० प्रतिशत फ्लोट), तरलता धेरै भएको (वबगत १२ महिनामा पब्लिकमा रहेको सेयर संख्या बराबर खरिद–बिक्री भएको), पछिल्लो त्रैमासिक वा १२ महिनामा मुनाफा गरेको, हरेक क्षेत्र-सेक्टरको प्रतिनिधित्व भएको, नेपाल स्टक एक्सचेन्जमा लिस्टिङ भएको, नेपाली पब्लिक कम्पनी भएको (विदेशी कम्पनी नहुने), कम्पनीको स्टक÷इक्विटी सेयर (र रिट्स) मात्र समावेश हुन सक्ने (बन्ड, अग्राधिकार सेयर, म्युचुअल फन्ड आदि समावेश नहुने) जस्ता मापदण्ड हुन जरुरी हुन्छ ।
इन्डेक्स व्यवस्थापन र समायोजन : इन्डेक्स व्यवस्थापन र समायोजनको कार्य चुनौतीपूर्ण हुन्छ, जसका लागि फाइनान्सियल एक्स्पर्टहरूको एक कमिटी आवश्यक हुन्छ । यो कमिटीले इन्डेक्समा परिमार्जन, समायोजनका साथै कम्पनीहरू थपघट गर्ने, थपिने सम्भावित कम्पनीहरू छनोटमा राख्ने निर्णय गर्छ । स्टक छनोट र गणना कार्यविधि (म्यानुयल) बनाउने र अन्तिम निर्णय यही कमिटीले गर्छ ।
इन्डेक्समा रहेका कम्पनीको सेयर संख्या र मूल्यमा परिवर्तन आउँदा इन्डेक्समा परिवर्तन आउछ र त्यसका लागि डिभाइजरलाई समायोजन गर्दै लानुपर्छ । मूल्यका आधारमा इन्डेक्स गणना गर्दा इन्डेक्समा रहेको कम्पनीको संख्या र बजार पुँजीकरणका आधारमा इन्डेक्स गणना गर्दा आधार पुँजीकरणलाई डिभाइजर मानिन्छ । इन्डेक्स गणना भनेको यही समायोजन हो र यो अत्यन्तै महŒवपूर्ण हुन्छ । खास गरी नगद लाभांश, बोनस सेयर, हकप्रद वा थप सेयर जारी गर्दा, सेयर टुक्रा पार्दा, सेयर पुनर्खरिद गर्दा, कर्मचारीको अप्सन्स प्रयोग हुँदा, मर्जर एन्ड एक्विजिसन गर्दा, कम्पनीको अंश बिक्री गर्दा (स्पिनअफ), इन्डेक्समा कम्पनी थपघट हुँदा जस्ता घटनामा डिभाइजर समायोजन हुनुपर्छ ।
इन्डेक्सको प्रयोग : इन्डेक्स मार्केटबारे जानकारी दिनमात्र होइन, यसलाई विभिन्न वित्तीय साधन बनाएर कारोबार गर्नसमेत प्रयोग गरिन्छ । इन्डेक्समा आधारित म्युचुअल फन्ड, एक्सचेन्ज ट्रेडेड फन्ड, इन्डेक्स फन्ड, अप्सन्स, फ्युचर्स, सीएफडी, इन्डेक्स (इक्विटी) लिंक्ड प्रडक्ट्स र थुप्रै स्ट्रक्चर्ड प्रडक्ट्स बनाउन सकिन्छ । तर, यसको पहिलो सर्त इन्डेक्सको गणना शुद्ध, निष्पक्ष र पारदर्शी हुनुपर्नेछ ।
इन्डेक्सलाई मार्केटको प्रतिनिधि मानिन्छ र लगानीमा इन्डेक्सले दिनेभन्दा ज्यादा प्रतिफल आर्जन गर्नु ज्यादै कठिन कार्य हो । तर, इन्डेक्सजस्तै गरेर म्युचुअल फन्ड, ईटीएफ वा इन्डेक्स फन्ड बनाउने हो भने यसले इन्डेक्सकै बराबर प्रतिफल दिन्छ र जोखिमको व्यवस्थापन पनि श्रेष्ठ हुन्छ ।
नेप्से इन्डेक्स : गत असार १५ मा ११५० को न्यूनतम बिन्दुमा रहेको नेप्से इन्डेक्स त्यसयता ११५ प्रतिशतले बढेर अहिले २४७५ मा छ । २०७३ मा १८८१ को उचाइ छोएपश्चात् २०७५ मा १०९९ को न्यूनतम बिन्दुमा पुगेको इन्डेक्सले हालै २५०० को ऐतिहसिक उचाइ नाघेको थियो ।
इन्डेक्स गणना हुन थालेको २७ वर्ष भइसकेको छ । यो अवधिमा इन्डेक्स वार्षिक १२.७८ प्रतिशत ले बढेको छ । तर, नेप्से कस्तो इन्डेक्स हो, यसको गणना कसरी हुन्छ, सुरुको र समायोजित डिभाइजर (आधार बजार पुँजीकरण) कति थियो-छ भन्नेबारे कुनै आधिकारिक जानकारी छैन । गणना विधि पारदर्शी नहुँदा इन्डेक्सबारे प्रश्न र संशय उठेको छ ।
नेप्से इन्डेक्स सबै कम्पनी समावेश भएको बजार पुँजीकरणको भारित औसतमा आधारित इन्डेक्स हो । यस्तो इन्डेक्स दुई कारणले बढ्छ : पहिलो, इन्डेक्समा रहेका कम्पनीको मूल्य बढ्दा र दोस्रो, इन्डेक्समा नयाँ कम्पनी थपिँदा । पहिलो कारण स्वाभाविक छ । तर दोस्रो कारण केही अस्वाभाविक छ । गणना विधि सही नभएका कारण इन्डेक्स यसरी बढ्छ । कुनै कम्पनी नेपाल स्टक एक्सचेन्जमा लिस्टिङ हुनेबित्तिकै इन्डेक्समा समावेश हुन्छ र सो कम्पनीको मूल्य धेरै बढ्छ भने इन्डेक्स धेरै बढ्छ ।
अर्को, नेपाल स्टक एक्सचेन्जले सुरुवाती कारोबारमा मूल्य सीमा तोकेका कारण पहिलो कारोबार थोरै मूल्यमा हुने र सोही अनुसार डिभाइजर समायोजन हुन्छ । केही दिनमै मूल्य बढेर माथि पुग्दा इन्डेक्स अस्वाभाविक बढ्न जान्छ । यदि पहिलो कारोबारमा स्टकको मूल्य स्वतन्त्र रूपमा निर्धारण हुन्थ्यो भने इन्डेक्स अस्वाभाविक बढ्दैनथ्यो । स्टकको मूल्य नियन्त्रण गरिएका कारण इन्डेक्स प्रभावित हुन गयो । हाल इन्डेक्समा आधारित वित्तीय साधन नभएको हुँदा यसले कसैलाई हानि–नोक्सानी गरेको छैन । हुन्थ्यो त यसले ठूलो जोखिम पैदा गरेको हुन्थ्यो ।
इन्डेक्समा सुधार : नेप्से इन्डेक्सलाई शुद्ध, निष्पक्ष र पारदर्शी बनाउने हो भने नेपाल स्टक एक्सचेन्जले यसमा व्यापक सुधार गर्न जरुरी छ । उसले काँटछाँट गरी १ सय कम्पनी मात्र राखेर नेप्से इन्डेक्सलाई निरन्तरता दिन सक्छ । या उसले ९० कम्पनी लिएर नयाँ इन्डेक्स ‘नेप्से नाइन्टी’ सुरु गर्न सक्छ । नयाँ इन्डेक्सको गणना सुरुदेखि गर्न सकिन्छ, तर यसका लागि सुरुदेखिको मार्केट र कर्पोरेट डाटा हुनुपर्छ । कुनै कर्पोरेट इभेन्टका कारण इन्डेक्समा रहेका कम्पनी, सेयर संख्या र मूल्यमा थपघट हुँदा इन्डेक्सको डिभाइजरलाई समायोजन गर्दै ल्याएर सही गणना गर्न सकिन्छ ।
स्टक एक्सचेन्जले विभिन्न सेक्टरका इन्डेक्सहरू पनि गणना गरिआएको छ, जुन आवश्यक छन् । सेन्सेटिभ, फ्लोट र म्युचुअल फन्ड इन्डेक्स गणनाको औचित्य देखिँदैन । इन्डेक्स गणना जोकोहीले गर्न सक्छ । इन्डेक्स एउटा होइन, धेरै हुन सक्छन् तर इन्डेक्सले अर्थपूर्ण रूपमा मार्केट वा इन्डस्ट्रीलाई प्रतिनिधित्व गरेको हुनुपर्छ । इन्डेक्स गणनाको विधि र तरिका सार्वजनिक हुनैपर्छ । तब मात्र इन्डेक्सले सही सूचना र जानकारी सम्प्रेषण गरी विश्वसनीयता र सर्वस्वीकार्यता आर्जन गर्छ ।